माधव नेपालको यात्रा : एमालेसँग विद्रोह, माओवादीमा विसर्जन
सारांश
- नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयलाई चुनौती दिँदै असन्तुष्ट पक्षले नेकपा एकीकृत समाजवादी पुनर्गठन गर्ने बताए।
- पार्टी एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट पारित भएको थियो, तर झलनाथ खनालले विरोध जनाए।
- खनालले माधव नेपालमाथि पार्टीलाई दक्षिणपन्थी बाटोमा हिँडाएको र माओवादीमा विसर्जन गरेको आरोप लगाए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णयलाई चुनौती दिँदै सो पार्टीका असन्तुष्ट पक्षले नेकपा एकीकृत समाजवादी नै पुनर्गठन गर्ने भएका छन् ।
शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव बहुतले पारित गरेको थियो ।
उक्त निर्णयको विपक्षमा रहेका सम्मानित नेता झलनाथ खनालसहितका केही नेताले तत्कालै भेला बोलाएर पार्टी पुनर्गठन गर्ने बताएका हुन् ।
माधव नेपालले २०७८ साल भदौमा एमालेसँग विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । क्रान्तिकारी पार्टी बनाउने उद्घोष गरेका नेपालले अन्ततः पार्टी माओवादीमा विसर्जन गरेको असन्तुष्ट नेताहरूको भनाइ छ । एमाले पार्टी निर्माणमा योगदान गरेका नेपाल जीवनको उत्तरार्धमा अलग पार्टीमार्फत राजनीतिलाई निरन्तरता दिन लागेका हुन् ।
‘हामी अब नेकपा एकीकृत समाजवादी पुनर्गठन गर्छौ’, नेता खनालले बैठकपछि रातोपाटीसँग भने, ‘यही पार्टीका साथीभाइ भेला भएर पुनर्गठन गर्छौ ।’
नामका सवालमा कानुनी अड्चन आए नयाँ नाम समेत राखेर जाने तयारी भएको खनालको भनाइ छ । उनले केन्द्रीय कमिटी बैठक समापनमा आफू बोल्न लाग्दा माइक काटिएको भन्दै अध्यक्ष नेपालले तानाशाही प्रवृत्ति देखाउँदै गोलमटोल निर्णय सुनाएको गुनासो गरे ।
‘म बोल्छु भन्दाभन्दै माइक काटिदिए । माइक काट्नु भनेको तानासाही ढङ्गले मान्छेलाई गोलमटोल गर्ने काम भयो’, उनले भने, ‘यो कुनै प्रजातान्त्रिक शैली होइन तानासाही र जबर्जस्त प्रवृत्ति हो ।’
नेता खनालले चार वर्षअघि बनाएको पार्टीलाई माधव नेपालले क्रान्तिकारी कार्यदिशाको आधारमा अघि बढाउन नसकेको भन्दै सधैँ दक्षिणपन्थी अवसरवादी बाटोमा हिँडाएको आरोप लगाए ।
‘सधैँ दक्षिणपन्थी अवसरवादी बाटोमा हिँडाउनुभयो । सधैँ कांग्रेसको पुच्छर बनाउनुभयो माधवजीले । जब पार्टी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि अहिले लगेर माओवादीमा विसर्जन गर्नुभयो । यसले विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो ।’
तर एकताको पक्षमा रहेका नेताहरूले भने माओवादीसहितका कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियाको प्रस्ताव सर्वसम्मत निर्णय भएको दाबी गरेका छन् । उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी एकताको प्रस्ताव सर्वसम्मत अनुमोदन भएको बताए ।
उनले अबको केही दिनभित्र एकीकृत पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता गरिने बताए । माओवादी, नेसपा, विप्लव नेतृत्वको नेकपाको एक समूह, तथा एमालेका केही नेतासहित निर्वाचन आयोगमा दर्ता भएका साना कम्युनिस्ट पार्टी पनि एकता प्रक्रियामा आउने खतिवडाको दाबी छ ।
‘एकता गरेर र समाजवादी मोर्चामा जोडेर हामी सबैलाई एक ठाउँमा ल्याउँछौ’, खतिवडाले भने, ‘अबको एक साता असाध्यै महत्त्वपूर्ण बन्ने छ ।’
निर्वाचन आयोगको दल दर्ताको समयावधिमा नेकपा समाजवादी दर्ता भइसक्ने खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण