बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले पार्टी त्यागेका भट्ट भन्छन्– नेतृत्वकाे अहङ्कारले गर्दा अब इमानदार कार्यकर्ता पार्टीमा बस्दैनन्

शनिबार, १५ कात्तिक २०८२, १० : १३
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले पार्टी परित्यागको घोषणा गरे।
  • भट्टले नेतृत्वमा अहङ्कार र सिद्धान्त छाडेको आरोप लगाउँदै आफू स्वतन्त्र नागरिकको भूमिकामा रहने बताए।
  • उनले पार्टी नेतृत्वको व्यवहार र जनेजी आन्दोलनमा भएको घटनाप्रति असन्तुष्टि जनाए।

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गोकर्ण भट्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका भट्टले नेतृत्वमा चरम अहङ्कार देखिएको र पार्टीले आफ्नो सिद्धान्त छाडेको भन्दै आफू अब स्वतन्त्र नागरिकको भूमिकामा रहने बताएका हुन्।

भट्टले आफूले ४५ वर्षदेखि नेपालको कम्युनिस्ट आन्दोलनलाई नजिकबाट हेरेको तर अहिलेका कुनै पनि कम्युनिस्ट पार्टीले अन्याय र शोषणमा परेका वर्गको मुक्तिका लागि काम नगरेको बताए।

‘जुन वर्गको मुक्तिका लागि हामी लागेका थियौँ, त्यो अहिलेको कम्युनिस्ट आन्दोलनमा देखिनँ, त्यसैले यो पार्टीमा रहिरहनु उचित लागेन,’उनले भने।

उनको असन्तुष्टिको मुख्य जड हालै घटेको जनेजी आन्दोलनमा भएको घटनामा पार्टी नेतृत्वले देखाएको व्यवहारप्रति उनी रुस्ट छन्। कलिला बालबालिकाको समेत ज्यान जाँदा नेतृत्वमा पश्चाताप हुनुको सट्टा उल्टै अहङ्कार देखिएको उनको आरोप छ।

‘यस्तो अहङ्कार कम्युनिस्ट पार्टीका नेताहरूमा हुन्छ भन्ने मैले ४५–४६ वर्षमा देखेको थिइनँ,’ उनले भने, ‘यो दम्भ र अहङ्कारले गर्दा अब इमानदार कार्यकर्ता पार्टीमा बस्दैनन्।

भट्टले राजनीति बुझेका र इमानदार कार्यकर्ताहरूले अब पार्टी छाड्ने लहर चल्ने दाबी गरे। उनका अनुसार पार्टीमा अब पद र अवसरका लागि राजनीति गर्नेहरू मात्र बाँकी रहनेछन्। उनले सम्पूर्ण इमानदार मानिसहरूलाई कुनै पार्टीमा नबसी स्वतन्त्र हुन आह्वान गरेका छन्।

आफ्नो भविष्यको बाटोबारे भट्टले भने,‘म अब स्वतन्त्र नागरिकको हैसियतमा समाजसँग जोडिनेछु।’ उनले समाजका प्रबुद्ध वर्गसँग सहकार्य गर्ने र सामाजिक काममा सक्रिय रहने बताएका छन्। आफ्नो निर्णय कसैसँग सल्लाह नगरी आफ्नै आत्माको आवाज सुनेर लिएको उनको भनाइ छ।

उनले अहिलेका प्रमुख दलहरूकै कारण देश गम्भीर मोडमा पुगेको बताए। यद्यपि, भविष्यमा नयाँ पुस्ताले जनताको सेवा गर्ने उद्देश्यले नयाँ पार्टी खोलेमा त्यसलाई आफ्नो पूर्ण समर्थन रहने उनले स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप