बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी र एकीकृत समाजवादीः पार्टी विलयको पटाक्षेप

शनिबार, १५ कात्तिक २०८२, १६ : २७
शनिबार, १५ कात्तिक २०८२

नेकपा माओवादी र नेकपा एसले पार्टी एकता गर्ने भनेर निर्णय गरिसकेको र एकताको खाका पनि बाहिर आइसकेको स्थितिमा कात्तिक मसान्तअगावै पार्टी एक गरेर, निर्वाचन आयोगमा दल दर्ता गर्ने यिनीहरूको सोच देखिन्छ ।

यहाँनेर मैले पार्टी विलय किन भनेको छु भने नीति, कार्यक्रम, सैद्धान्तिक आधार, आधारभूत मूल्य मान्यता र विचार सबै छोडेकाले माओवादीले आफूलाई अर्को पार्टीसँग विलय गराएको जस्तो देखिन्छ भने एमालेबाट चोइटिएर गएको समाजवादी आधाउधी भएर माओवादीसँग भित्रिने भनेको विलय नै हो । यस अर्थमा यहाँ विलय भनिएको हो ।

इतिहासलाई हेर्ने हो भने दुई पार्टीका ठुला नेता प्रचण्ड र माधव अस्थिर नेता हुन् । यिनीहरू अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने र आफ्नो अनुकूलताका लागि जे पनि गर्ने नेताका रूपमा पर्छन् । यिनीहरूको विगतलाई छुट्टाछुट्टै चर्चा गर्नुपर्ने हुन्छ ।

माओवादी र प्रचण्ड

२०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ झन्डै आधा सिट जितेको माओवादी टुटफुट र आन्तरिक किचलोका कारण २०७९ सम्म आइपुग्दा प्रत्यक्षतर्फ १८ जनामा खस्कियो, त्यो पनि गठबन्धन गरेर । 

खुला राजनीतिमा आएदेखि माओवादी कहिल्यै सग्लो र एकजुट हुन सकेन, त्यसको प्रमुख कारक भनेको नै प्रचण्ड हुन् । उहिले बाबुराम र वैद्यलाई पालैपालो खेलाउँथे र आफू टिकिराख्थे । बाबुराम र वैद्यले बुझ्दै गए, उनीहरूले पार्टी छोड्दै गए र अर्कै पार्टी गठन गरे । माओवादीले क्रान्तिकारीपन छोड्यो भनेर विप्लवले पार्टी छोडे र अर्कै पार्टी गठन गरे । माओवादी संशोधनवादी भयो भनेर आहुतिहरू, गोपाल किरातीहरूले पार्टी छोडेर अर्कै पार्टी गठन गरेका छन् । 

बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत दर्जनौँ नेता र हजारौँ कार्यकर्ता नेकपा एमालेमा छन् भने केही स्वाभिमानी माओवादी नेता कार्यकर्ताले राजनीति छोडेर स्वतन्त्र जीवन बिताइरहेका छन् । 
२०६३/६४ बाट २०८२ सम्म आइपुग्दा माओवादी पार्टीमा धेरै ठुलो उथलपुथल आइसकेको छ । भारतसँग बङ्कर युद्ध लडेको माओवादी भारतकै लागि नेपालको एक नम्बरको कम्फर्टेबल पार्टी बन्नु, अमेरिकी साम्राज्यवादविरुद्धको युद्ध भनेर अमेरिकी परियोजना पास गराउन मुख्य भूमिकामा रहनु, राजा र राजतन्त्रविरुद्धको युद्ध भनिएकोमा अन्य दलहरूभन्दा राजतन्त्र ठीक भन्नु, बेबी किङको कुरा गर्नु, दस्तावेजमा काङ्ग्रेसलाई प्रधानशत्रु मान्ने तर निर्वाचन र सत्तामा काङ्ग्रेससँग सहकार्य गर्नुले सयौँ नेताले पार्टी छोडे, लाखौँ कार्यकर्ता कति निष्क्रिय भए, कतिले अन्य पार्टी रोजे । 

यसको प्रमुख कारण प्रचण्डको अस्थिर राजनीति हो । प्रचण्डले आफू नेतृत्व र सत्तामा रहनका लागि जे पनि र जोसुकैसँग पनि सम्झौता गरे । यसले प्रचण्डसँग विचार, सिद्धान्त र मूल्य मान्यताको खडेरी देखियो र नेता कार्यकर्ताले छोड्दै गए र टुक्रिँदै गए । मूलतः प्रचण्ड आफ्ना कार्यकर्तामा खेलिरहने र आफू नेतृत्वमा बसिरहने पात्र र प्रवृत्ति हो । भनिन्छ, प्रचण्ड कतै खेल्न सकेनन् भने बुहारी र छोरीहरूमा खेलेर राजनीतिक अभीष्ट पूरा गर्छन् रे । अहिले जनार्दन शर्मा, सुदन किरातीहरूलाई पाखा लगाइँदै छ । यसो भनौँ, माओवादीमा प्रचण्डको स्तुति नगर्नेले कि त पार्टी छोड्नुपर्छ कि त पेलिएर बस्नुपर्छ ।

प्रचण्ड मात्र हैन, तल तलका कार्यकर्तामा पनि एउटा दम्भ छ, युद्ध लडेको । युद्ध नलडेका, पार्टीमा पछि आएकाहरूलाई पुरानाहरूले हेप्दा रहेछन् । तिमीहरूको योगदान छैन, तिमीहरू दोस्रो दर्जाका हौ भन्ने सम्म रहेछन् । यसका केही उदाहरण हाम्रो जिल्लातिर पनि छन् । प्रचण्डको जस्तै रापताप जिल्लातिर पनि देखिन्छ । एकाध नेता र नेतृत्वको चाकडी र स्तुति बिना राजनीतिमा कुनै अवसर नपाउने र उनीहरू इतरका नेताहरू पाखा लागेर बस्नुपर्ने अवस्था छ । यो अवस्था हरेक जिल्लामा छ ।

प्रचण्डले आफू नेतृत्व र सत्तामा रहनका लागि जे पनि र जोसुकैसँग पनि सम्झौता गरे । यसले प्रचण्डसँग विचार, सिद्धान्त र मूल्य मान्यताको खडेरी देखियो र नेता कार्यकर्ताले छोड्दै गए र टुक्रिँदै गए । मूलतः प्रचण्ड आफ्ना कार्यकर्तामा खेलिरहने र आफू नेतृत्वमा बसिरहने पात्र र प्रवृत्ति हो ।

समाजवादी र माधव नेपाल

माधव नेपाल राजनीतिमा यस्ता पात्र हुन् जो एमालेमा सबैभन्दा लामो समय नेतृत्वमा रहे र लोकप्रिय पार्टीलाई तेस्रो पार्टी बनाउने पात्र हुन् । उनकै पालामा एमालेलाई माओवादीहरूले तेस्रो लिङ्गी पार्टी सम्म भन्न भ्याए । नेकपा एमालेलाई पटक पटक विभाजन गराउने पात्र हुन् माधव नेपाल । 

२०५४ सालमा सालामा उनी पार्टीको नेतृत्वमा हुँदा सबै पक्षलाई मिलाउन नसकेर पार्टी फुट्यो भने २०७८ मा अरूको नेतृत्व स्वीकार गर्न नसकेर पार्टी फुटाउने काम गरे । हिजो एमालेको नेतृत्वमा हुँदा उनी इतरकाहरू सधैँ पेलानमा बस्नुपर्ने, पार्टी निर्माण र योगदानको कदर नहुने, उनका वरिपरिका र चाकडी गर्नेले मात्र अवसर पाउने गरेको कुरा पुराना नेताहरूबाट सुनिन्छ । 

प्रतिगमन आधा सच्चिएको नाममा प्रधानमन्त्री बन्न ज्ञानेन्द्रलाई बिन्तीपत्र चढाउने अवस्थादेखि ज्ञानेन्द्रलाई दाम चढाउने सम्मका काम माधव नेपालबाट भए । आफू सत्तामा पुग्न दाम चढाउने कुराले एमालेलाई ठुलै क्षति भयो । तत्कालीन ०६४ सालको निर्वाचनमा पार्टी सर्मनाक हिसाबले तेस्रो हुन पुग्यो ।

नेकपा एमाले विधि, पद्धति र नीतिमा चलेन भनेर एउटा टुकडी लिएर गएका माधव नेपालले तीन लाख पनि मतदाता नभएको पार्टी पनि सहमति र सहकार्यमा चलाउन सकेनन् । नेतृत्वमा बसेका माधवलाई त्यहाँ पनि गुट उपगुट चाहियो र कसैलाई काखा र कसैलाई पाखा गर्न थाले । 

आफू केन्द्रित गतिविधि र स्वेच्छाचारी निर्णयले झलनाथ, घनश्याम, रामकुमारीहरू माधवसँग टाढिए । जनसङ्गठनको नेतृत्व चुन्नेदेखि लिएर पार्टीको अधिवेशनमा कमिटी बनाउने कुरासम्म लोकतान्त्रिक विधिबाट हैन गोजीबाट निकाल्ने काम गरे । विधि, पद्धतिका कुरा गरेर पार्टी फुटाएकाले उल्टै विधि पद्धतिको धज्जी उडाए । उनको पार्टीको युवा सङ्घले त समानान्तर कमिटीसमेत बनायो ।

यसरी हेर्दा माधव प्रचण्ड एउटै प्रवृत्तिका पात्र हुन् । मूलतः एमालेको रिसले, आगामी निर्वाचनमा अन्य पार्टीको बैसाखी टेक्न नपाइने पक्का देखिएको र निर्वाचनमा पराजयको नमिठो झट्का व्यहोर्नुपर्ने अवस्थाले यो एकता हुन लागेको हो, त्यसैले मलाई यो एकता लामो समयसम्म जान्छ भन्ने लाग्दैन । 

नेतृत्व र सत्तामा बस्न जेसुकै गर्न तयार हुनेले एक अर्कालाई धोका दिँदैनन् भन्ने लाग्दैन । प्रचण्डका कारण माओवादीमा माओवादीकै साथीहरू बस्न नसकेको अवस्थामा भोलिका दिनमा समाजवादीबाट गएकाहरू बिचल्ली भएर फर्कनुपर्ने अवश्यम्भावी छ । त्यहाँ समाजवादीबाट गएका राम्रा र असल कार्यकर्ताको कुनै गुञ्जायस छैन । माधव नेपालले एमालेबाट समाजवादी बनाएर एकथरीलाई धोका दिइसकेका छन् भने अब अर्काथरीलाई माओवादीसँग विलय गराएर धोका दिँदैछन् । 

माओवादीका जनार्दन शर्मा पक्षधरले एकता प्रक्रियामा सामेल नहुने र झलनाथ/घनश्याम पक्षले पनि एकता प्रक्रियाबाट अलग हुने हुनाले यो एकताको खासै अर्थ नभएको विश्लेषकहरूको तर्क छ । यसकारण भोलि त्यहाँबाट फर्कनु नै छ, त्यसैले नेकपा एमालेका अध्यक्षले सार्वजनिक रूपमा पार्टीमा फर्कन आह्वान गरिसकेको अवस्थामा नेकपा एसमा रहेका असल कार्यकर्ताहरू एमालेमै फर्कनु र पार्टी काममा लाग्नु उत्तम देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धिरज सुवेदी
धिरज सुवेदी
लेखकबाट थप