शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

महाधिवेशन छाडेर ‘निर्वाचनमा जाने’ मात्रै निर्णय गर्न मानेनन् महामन्त्रीहरूले

आइतबार, १६ कात्तिक २०८२, १४ : ५१
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिकाबारे विवाद पछि टुङ्ग्याउने र तत्काल निर्वाचनमा जाने निर्णय गर्ने कार्यवाहक सभापतिको प्रस्ताव अस्वीकार गरेका छन् ।

आइतबार बिहान ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘पहिला निर्वाचनमा जाने विषयमा सबैको सहमति भएकाले केन्द्रीय समितिबाट निर्णय गरौँ’ भन्ने प्रस्तव राखेका थिए । उनको त्यो प्रस्तावमा संस्थापन पक्षका नेताहरूले समर्थन जनाए पनि महामन्त्रीद्वय थापा र शर्माले नमानेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

थापा र शर्माले महाधिवेशनको कार्यतालिका र निर्वाचनबारे एकैपटक निर्णय गर्नुपर्ने भन्दै एउटा मात्रै निर्णय गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए । त्यसपछि कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमितिको आइतबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक मंगलबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरेका छन् । 

सहमहामन्त्री महेन्द्र यादवले सबैको सहमति रहेको निर्वाचनमा जाने संस्थागत निर्णय केन्द्रीय कार्यसमितिबाट गरौँ भन्ने प्रस्ताव केही पदाधिकारीले नमानेकाले केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको जानकारी दिए । ‘हामीले त सबैको सहमति रहेको निर्वाचनमा जाने निर्णय केन्द्रीय समितिबाट गरेर अगाडि बढौँ भनेका थियौँ । त्यसला२ केही पदाधिकारीले मान्नुभएन । त्यसपछि बैठक स्थगित भयो,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने । 

निर्वाचनमा जाने निर्णय गर्न र महाधिवेशनको कार्यतालिकाबारे सहमति खोज्न इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री थापा लचक थिए । तर, महामन्त्री शर्माले ‘हुँदै हुन्न, सबै विषयमा एकै पटक निर्णय गर्नुपर्छ’ भन्ने अडान लिएपछि आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको नेताहरू बताउँछन् । 

कांग्रेसमा महाधिवेशनको मितिबारे विवाद छ । इतर समूह र महामन्त्री थापाले मङ्सिरभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।

‘डा. शेखर कोइरालालगायतका इतर समूहका नेताहरू र महामन्त्री थापा निर्वाचनमात्रैको निर्णय गरेर अगाडि बढ्न सकारात्मक हुनुहुन्थ्यो,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर महामन्त्री शर्मा भने हुँदै हुन्न भनेर अड्डी कस्नुभयो । त्यसपछि सहमति खोज्न भन्दै बैठक स्थगित गरियो ।’

महामन्त्रीद्वय पक्षका एक नेताले पनि आफूहरूले निर्वाचनसम्बन्धी मात्रै निर्णय गरेर अगाडि बढ्न अस्वीकार गरेको जानकारी दिए । 

कांग्रेसमा महाधिवेशनको मितिबारे विवाद छ । इतर समूह र महामन्त्री थापाले मङ्सिरभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् । महामन्त्री शर्माले वैकल्पिक प्रस्तावका रूपमा पुस १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव शनिबार बसेको पदाधिकारी बैठकमा राखेका थिए भने संस्थापनले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरिरहेको छ । 

अर्कोतर्फ विशेष महाधिवेशन माग्दै ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएका छन् । 

महामन्त्री थापाले बिहीबारको केन्द्रीय समिति बैठकमा आफूले तयार पारेको आगामी मङ्सिर २७ देखि २९ मङ्सिरसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्न नपाएपछि बैठक बहिस्कार गरेका थिए ।

मध्यमार्गी प्रस्ताव खोज्नका लागि अहिले पनि नेताहरू छलफलमा छन् । सहमहामन्त्री बद्री पाण्डेले महाधिवेशन सम्बन्धमा देखिएको विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव खोज्न नेताहरू छलफलमा रहेको जानकारी दिए । ‘महाधिवेशनको कार्यतालिका सम्बन्धमा रहको विवाद समाधान भएको छैन । हामी मध्यमार्गी प्रस्तावमा सहमति जुटाउने प्रयासमा छौँ,’ सहमहामन्त्री पाण्डेले रातोपाटीलाई बताए ।  

नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि पार्टीभित्र महाधिवेशनका सन्दर्भमा रहेको असमझदारीको हल खोज्न आफूहरू छलफलमै रहेको जानकारी दिए । 

महाधिवेशनको कार्यतालिकाबारे सहमति नजुट्दा शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आइतबारसम्म भएका पटक–पटकका छलफलमा पनि सहमति नजुटेपछि पुनः सूचना टाँसेर मंगलबारसम्मका लागि सारिएको छ । 

महामन्त्री थापाले बिहीबारको केन्द्रीय समिति बैठकमा आफूले तयार पारेको आगामी मङ्सिर २७ देखि २९ मङ्सिरसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्न नपाएपछि बैठक बहिस्कार गरेका थिए । शुक्रबार पनि थापाले बहिस्कार गर्ने चेतावनी दिएपछि सूचना टाँसेर स्थगित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप