बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग

आइतबार, १६ कात्तिक २०८२, १६ : १६
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • युक्रेनमा युद्धबन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न आग्रह गरे।
  • दुई सैनिकले वृत्तचित्रका लागि अन्तर्वार्ता दिँदै दक्षिण कोरिया लैजान अनुरोध गरेका थिए।
  • दक्षिण कोरियाली गुप्तचरका अनुसार युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिए।

सियोल । युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न पाउन आग्रह गरेको दक्षिण कोरियास्थित मानव अधिकार सङ्गठनले जनाएको छ । उक्त निवेदन उनीहरूले एउटा वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा गरेका हुन् ।

अन्तर्वार्ता ग्योर–इओल नेसन युनाइटेड नामक सङ्गठनको सहयोगमा सम्पन्न भएको बताइन्छ ।  उक्त सङ्गठनका प्रमुख र उत्तर कोरियाबाट दलबदल गरेका जाङ से–युलका अनुसार सन् २०२४ मा रुसको पक्षमा लड्न करिब १० हजार उत्तर कोरियाली सैनिक युक्रेन पठाइएका थिए भन्ने दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायहरूको मूल्याङ्कन रहेको छ ।

जाङका अनुसार दुई जना युद्धबन्दीले अन्तर्वार्ताको अन्त्यमा वृत्तचित्रका निर्मातालाई आफूहरूलाई दक्षिण कोरियामा लैजान अनुरोध गरेका थिए । उक्त अन्तर्वार्ता अक्टोबर २८ मा किएभस्थित एक गोप्य स्थानमा गरिएको थियो, जहाँ उनीहरूलाई युक्रेनी सेनाले कब्जा गरेपछि राखिएको हो ।

जाङले भने-‘उनीहरूले अन्तर्वार्ताकारकर्तासँग दक्षिणमा लैजाने वाचा गर्न विनम्र अनुरोध गरेका थिए ।’ दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियाका नागरिकहरूलाई समेत कोरियाली नागरिकका रूपमा मानिन्छ । त्यसैले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकहरूमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ ।

जाङका अनुसार उक्त अन्तर्वार्ताको भिडियो अहिले सार्वजनिक गरिएको छैन, तर आगामी हप्ताहरूमा प्रकाशन गरिने तयारी भइरहेको छ । उनले भने– ‘हामीले युद्धबन्दीहरूलाई आशा र हौसला दिन दक्षिणमा बसिरहेका दलबदलकारीहरूको भिडियो सन्देश र पत्रहरू देखाएका थियौँ ।’

ग्योर–इओल नेसन युनाइटेडद्वारा उपलब्ध तस्बिरहरूमा एक युद्धबन्दीले दक्षिण कोरियामा आश्रय पाएका दलबदलकारीहरूका पत्रहरू पढिरहेको देखिन्छ । यसअघि, फेब्रुअरीमा युक्रेन भ्रमणमा गएका दक्षिण कोरियाली सांसद यु योङ–विनले पनि एक युद्धबन्दीले आफूलाई दक्षिण कोरियामा बस्न दिन अनुरोध गरेको बताएका थिए । सांसद युले गुप्तचर सेवाको हवाला दिँदै भने, ‘उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न आदेश दिइएको छ ।’

उनका अनुसार कैदीहरूले आफ्ना घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेका थिए । सांसद युले भने- ‘यदि ती सैनिकहरूलाई उत्तर कोरियामा फिर्ता पठाइयो भने उनीहरूको मृत्यु निश्चित हुनेछ ।’

प्योङयाङले यस वर्ष अप्रिलमा मात्र रुसको युद्धमा आफ्ना सेना पठाएको स्वीकार गरेको थियो र केही सैनिक मारिएको पनि पुष्टि गरेको थियो । उत्तर कोरियाका नेता किम जोङ उनले युद्धमा ज्यान गुमाएका सैनिकका परिवारसँग भेट गरी ‘उनीहरूको असहनीय पीडा’ का लागि समवेदना प्रकट गरेका थिए ।

यसैबिच सियोलस्थित गुप्तचर एजेन्सीले सेप्टेम्बरमा दिएको विवरण अनुसार युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप