शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश सरकार

मधेसका ११ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीकै काँधमा, कसरी चल्दैछन् मन्त्रालय ?

आइतबार, १६ कात्तिक २०८२, १८ : ००
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • मधेस प्रदेश सरकारले मन्त्रालयको जिम्मेवारी तोक्न नसक्दा कामकाज प्रभावित भएको छ।
  • मुख्यमन्त्रीले नै सबै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्, जसले गर्दा नीतिगत निर्णयहरूमा ढिलाइ भएको छ।
  • विनाविभागीय मन्त्रीहरूले मन्त्रालय नपाउँदा कामविहीन हुनुपरेको गुनासो गरेका छन्।

जनकपुरधाम । मधेस प्रदेश सरकारले पूर्णता पाउन नसक्दा विभिन्न मन्त्रालयका कामकाज प्रभावित भएका छन् । मुख्यमन्त्री जितेन्द्र सोनलले हाल ११ मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

तीन सदस्यीय मन्त्रिपरिषदमा महेश प्रसाद यादव र कनिश पटेल विनाविभागीय मन्त्री छन् । मन्त्रिपरिषद् विस्तारपछि मात्र सबै मन्त्रीको जिम्मेवारी एकसाथ तोक्ने मुख्यमन्त्री सोनलको तयारी छ ।

हाल सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हालेका कारण नीतिगत निर्णय तत्काल लिनुपर्ने कतिपय काम प्रभावित भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रविण प्रताप अधिकारीका अनुसार मन्त्री नहुँदा केही नीतिगत निर्णयमा समस्या हुने गरेको छ । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले सम्हालेको भए पनि विभागीय मन्त्री हुँदा र नहुँदा स्वाभाविक रूपमा फरक पर्ने उनको भनाइ छ ।

‘मुख्यमन्त्रीले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ,’ उनले भने, ‘एक जनाले एउटा मन्त्रालय हेर्ने गरी जिम्मेवारी तोकिने ठाउँमा एकै जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्न गाह्रो त भइहाल्छ ।’ यद्यपि अत्यावश्यक काम पर्दा मुख्यमन्त्रीलाई भेटेर बाधा फुकाउने गरिएको उनको भनाइ छ ।

हालै चाडपर्वका कारण केही दिन बिदा भएकाले पनि खासै प्रभाव नपरेको प्रवक्ता अधिकारीले बताए । अब केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने भएकाले मन्त्रालयका कामकाजमा खासै प्रभाव नपर्ने उनको भनाइ छ । अघिल्ला निर्देशनअनुसारका काम विभिन्न जिल्लामा भइरहेको जानकारी दिँदै उनले नयाँ योजना र नीतिगत निर्णयका सम्बन्धमा केही अलमल भएको प्रस्ट पारे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. सरोज चौधरीले नयाँ सरकार गठनपछि केही नियमित प्रशासनिक कार्य चलिरहे पनि मन्त्रीविहीन अवस्थाले नीतिगत काम अघि बढाउन कठिनाइ भएको बताए । उनले भने, ‘मन्त्री नहुँदा किसानसँग सम्बन्धित आकस्मिक समस्या समाधानका विषयमा सचिवस्तरमा काम भइरहेको छ, तर नयाँ योजना र कार्यक्रमहरू मन्त्री आएपछि मात्रै अगाडि बढाइनेछ ।’

दुई मन्त्री कामविहीन

जनमत पार्टीबाट विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका महेश प्रसाद यादवले मन्त्रालयको टुङ्गो नलागेकाले आफू कामविहीन भएको बताए ।

क्याबिनेट बैठक बस्नुपर्दा सहभागी हुन बाहेक अन्य कुनै औपचारिक काम गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘पर्वको समय भएकाले पनि खास काम गर्न सकिएन । अहिले मन्त्रिपरिषद् विस्तारको कुरा चलिरहेको छ । मन्त्रालयको टुङ्गो लागेपछि मात्रै नयाँ काम सुरु गर्नेछौँ ।’

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कनिश पटेलले पनि अहिले कामविहीन अवस्थामै बस्नुपरेको बताए । उनका अनुसार क्याबिनेट बैठक दुई पटक बस्यो ।

क्याबिनेट बैठकमा सहभागी हुन बाहेक अरु काम आफूले गर्न नपाएको उनको भनाइ छ । मन्त्रालयको जिम्मेवारी नतोकिएका कारण आफूले अहिले कुनै काम नपाएको उनले प्रस्ट पारे ।

उनले भने, ‘अहिले पर्वको माहोल पनि छ । त्यसैले भेटघाट र औपचारिक कार्यक्रममै समय बितिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप