बाबुरामको प्रस्ताव : पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हौँ
सारांश
- डा. बाबुराम भट्टराईको अग्रसरतामा नयाँ र वैकल्पिक शक्तिहरूले पुराना राजनीतिक दललाई निर्वाचनमा परास्त गर्ने छलफल गरे।
- छलफलमा सहभागीहरूले जनतामा बढ्दो निराशालाई चिर्न नसके देशमा ठूलो खतरा आउन सक्ने चिन्ता व्यक्त गरे।
- भट्टराईको प्रस्तावलाई सबैले सकारात्मक रूपमा लिए र आगामी दिनमा छलफललाई निरन्तरता दिने सहमति जनाए।
काठमाडौँ । पुराना राजनीतिक दलहरूलाई निर्वाचनबाट नै परास्त गर्ने गरी नयाँ र वैकल्पिक शक्तिहरूले छलफल प्रारम्भ गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियानका नेताहरूसँग भट्टराईले छलफल गरेका हुन् ।
बिहीबार बिहान नयाँ बानेश्वरमा भएको छलफलमा भट्टराईले जेनजी विद्रोहका कारण दुलामा लुकेका पुराना भ्रष्ट नेताहरूले फेरि टाउको उठाउने प्रयास गरेको भन्दै उनीहरूलाई निर्वाचनबाटै परास्त गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी भएका सुदन किरातीले जानकारी दिए ।
‘बाबुराम भट्टराईको अग्रसरतामा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भयो । जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्तिहरू रूपान्तरित हुनुभन्दा अझै हुँकार गर्न थालेका छन् । जेनजी विद्रोह सामान्यकरण हुँदै गयो । भ्रष्ट दलहरूलाई निर्वाचनबाट नै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो’, किरातीले भने ।
भट्टराईले जनतामा बढ्दै गएको निराशालाई चिर्न नसकिए देशमा झन् ठुलो खतरा बढ्न सक्नेतर्फ नेताहरूलाई सचेत गराएका थिए । उनले भने–‘झिना मसिना स्वार्थ छोडेर सम्पूर्ण नयाँ शक्ति एक ठाउँमा आएर निर्वाचनमा जानुपर्छ । जनतामा देखिएका व्याप्त निराशालाई अन्त्य गर्न नसकिए देश झन् ठुलो खतरामा पर्नसक्छ ।’
भट्टराईको प्रस्तावलाई सहभागी सबैले सकारात्मक रूपमा लिएको र आगामी दिनमा छलफललाई निरन्तरता दिनेगरी बिट मारेको किराँतीले बताए । छलफलमा भट्टराई सहित रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा, सुदन किराँती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायत नेताहरू सहभागी थिए ।
छलफल सकिएलगत्तै नेसपा नयाँ शक्तिले जेनजीका प्रतिनिधिहरूसँग समेत छलफल गरेकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण