एम्बुलेन्समा कपडा, अँध्यारो कुनामा ‘सेटिङ’
सारांश
- विराटनगर भन्सारमा राजस्व छलीमा संलग्नताको आरोपमा एक भन्सार एजेन्ट र अन्य व्यक्ति पक्राउ परेका छन्।
- भन्सार एजेन्टले सीसीटीभी नभएका ठाउँको प्रयोग गरी ट्याक्टरमा कपडा र कपुर जस्ता सामान लुकाएर राजस्व छली गर्दै आएका थिए।
- राजस्व अनुसन्धान कार्यालयले ढुवानी सेवा र अन्य व्यक्तिलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।
विराटनगर । विराटनगर भन्सार कार्यालयमा राखिएको सीसीटीभीले नदेख्ने ठाउँलाई प्रयोग गरेर एक भन्सार एजेन्टकै संलग्नतामा राजस्व छली हुने गरेको खुलेको छ । विराटनगर भन्सारमा एजेन्टका प्रतिनिधिको मिलेमतोमा चलेको यस्तो धन्दा मंगलबार सार्वजनिक भएको हो ।
भन्सार कार्यालयको मुख्य भवनको पछाडिपट्टी मुद्दा चल्दै गरेको अवस्थामा मे१च २६१८ नम्बरको एम्बुलेन्स राखिएको थियो । उक्त एम्बुलेन्समा गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । एम्बुलेन्सको ढोका सहजै खुल्थ्यो । त्यहाँ सीसीटीभीले नभेट्ने अवस्था थियो ।
भन्सार एजेन्ट सौगात पोखरेलका मुख्य सहयोगी मानिने कुन्दन मण्डललाई भन्सार चेकजाँचका लागि ल्याएको सामान चोरेर त्यही एम्बुलेन्समा लुकाउँदै गरेको अवस्थामा मंगलबार भन्सार कार्यालयले रङ्गेहात पक्राउ गरेको थियो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले को१त ९७१७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रज्ञापनपत्रमा थोरै देखाइए पनि ट्याक्टरमा ठुलो परिमाणमा कपडा र कपुरजस्ता सामान थिए । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘मण्डलले सामान जाँचपासका लागि सीसीटीभी नभएको स्थान प्रयोग गर्थे । त्यहीँ ट्याक्टर लगेर जाँच गरेजस्तो गरी घोषणाभन्दा बढी सामान पास गराउँथे । त्यसरी छली गरेको सामान बाहिर निकाल्न उनले एम्बुलेन्सभित्र लुकाएको पाइएको छ ।’
_zC32nSLh8I.jpg)
यस्तो सामान लोड गरिरहेकै अवस्थामा मण्डलसहित तीन जना पक्राउ परेका छन् । मण्डल राजस्व छलीका लागि अनेक जुक्ति लगाउन माहिर मानिन्छन् र पटक–पटक विवादमा आइसकेका व्यक्ति हुन् ।
यसैबिच, मण्डलले नै सहजीकरण गरेको को१त २०४१ नम्बरको अर्को ट्याक्टरलाई पनि राजस्व अनुसन्धान कार्यालय, इटहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मण्डलले भन्सारका केही कर्मचारीसँगको मिलेमतोमा लामो समयदेखि न्यून बिजकीकरण र घोषणा नगरी सामान पास गराउँदै आएको हुनसक्ने भन्दै भन्सारले अनुसन्धान थालेको हो ।
विराटनगर भन्सार नाका भारतसँगको खुला सिमानाका कारण राजस्व छलीका लागि संवेदनशील मानिन्छ । यहाँ व्यापारी, भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा हुने अवैध कारोबारले राज्यलाई ठुलो परिमाणमा राजस्व घाटा हुने गरेको छ । भन्सार अधिकृत तुलसी रेग्मीको नेतृत्वमा रहेको टोलीले पक्राउ परेकाहरूको बयानका आधारमा यो सञ्जालमा जोडिएका अन्य कर्मचारी र व्यापारीको खोजी गरिरहेको छ ।
यसैबिच विराटनगर–६, सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट राजस्व अनुसन्धान कार्यालय इटहरीले राजस्व छलीका ३४ पोका कपडा नियन्त्रणमा लिएको छ । भन्सार परिसरबाटै सामान चोरी गरेर विभिन्न स्थानमा पठाउने गरेको फेला परेलगत्तै राजस्व अनुसन्धानले उक्त ढुवानी सेवामा छापा मारेको थियो ।

बरामद कपडाको नक्कली बिल र प्रज्ञानपत्रसमेत बनेको हुनसक्ने राजस्व अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ । अनुसन्धानका क्रममा ढुवानी सेवा सञ्चालक धिरज मण्डललाई समेत नियन्त्रणमा लिइएको छ । ढुवानी सेवा कुन्दन मण्डलको परिवारकै संलग्नतामा सञ्चालन हुँदै आएको पाइएको छ । बुद्धपूजा ढुवानी सेवाले दुहबी, इटहरी, धरान, विराटचौक, लेटाङ, उर्लाबारी, पथरी, दमक, इनरुवा, झुम्का, भण्टाबारी र कोशी ब्यारेजसम्म सामान पठाउने गरेको छ । सो ढुवानीबाट तस्करीका लागि सेटिङ मिलाउने कार्य हुँदै आएको अनुसन्धानले देखाएको छ ।
मण्डलले भन्सारमा सौगात पोखरेलको क्लियरिङ नम्बर प्रयोग गरी जाँचपास गर्दै आएका थिए । उनले प्रज्ञानपत्रभन्दा बाहेकका सामान पनि सवारीमार्फत भित्र्याउने गरेको प्रमाण भेटिएको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार गाडी नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय रानीका निरीक्षक कविन राईले भन्सार कार्यालयको अनुरोधमा मण्डललाई हिरासतमा राखिएको पुष्टि गरेका छन् । राजस्व अनुसन्धान कार्यालयले यस घटनालाई ठुलो तस्करी धन्दाको रूपमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
‘मण्डलले गोदामको त्यस्तो कुनामा ट्याक्टर लगेर सामान अनलोड गर्थे र जाँच गरेजस्तो गरेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा धेरैसामान पास गराउँथे,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘त्यसरी छली गरेको सामान बाहिर निकाल्न एम्बुलेन्ससमेत दुरुपयोग गरेको घटना मंगलबार पुष्टि भइसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण