ललितपुर ‘संगीतको सिर्जनात्मक सहर’
काठमाडौँ । युनेस्कोले सन् २०२५ अक्टोबर ३१ मा ‘विश्व सहर दिवस’को अवसर पारेर ललितपुर महानगरपालिकालाई ‘संगीतको सिर्जनात्मक सहर’को रूपमा घोषणा गरेको छ । ललितपुरको हजारौं वर्ष पुरानो समृद्ध सांस्कृतिक विरासत र यसको जीवन्त संगीत परम्परालाई विश्वव्यापी मञ्चमा स्थापित गरेको भन्दै महानगरले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
सन् २००४ देखि ‘युनेस्को सिर्जनात्मक सहरहरुको सञ्जाल’मार्फत संस्कृति र सिर्जनशीलतालाई दिगो विकासको वाहकका रूपमा अङ्गीकार गर्दै स्थानीय दक्षताको मूल्याङ्कन, रोजगारी सिर्जना, आर्थिकस्तर उकास्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्य बोकेको युनेस्कोले विश्वभरका १०० भन्दा बढी मुलुकका ४०८ सहरलाई यस सञ्जालमा जोडेको छ । यसमध्ये ललितपुरले अब संगीत विधामा आफ्नो छुट्टै पहिचान बनाएको महानगरले दाबी गरेको छ ।
२ हजार वर्ष पुरानो इतिहास
करिब २ हजार वर्ष पुरानो इतिहास बोकेको ललितपुर, मौर्य सम्राट अशोककालीन बौद्ध स्तुपाहरूदेखि मल्लकालसम्मका अनेकौं भौतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । जसले गर्दा पाटन दरबार स्क्वायरसहितको यो क्षेत्र विश्वसम्पदा संरक्षित स्मारक क्षेत्रका रूपमा परिचित छ ।
ललितपुरवासीको दैनिकीमा संगीतको अन्योन्याश्रित सम्बन्ध रहेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।
‘मन्दिरहरूमा गरिने पूजा अर्चना र भजन कीर्तनबाट दिनको सुरुवात हुने यहाँ विभिन्न अवसरहरूमा परम्परागत तथा लोकबाजाहरू बजाइन्छन्, जसले एकातिर प्रसिद्धि पाइरहेको छ भने अर्कोतिर संगीत तथा नृत्यले रोजगारीका नयाँ अवसर समेत सिर्जना गरिरहेका छन्,’ पत्रकार सम्मेलनमा महर्जनले भने, ‘परम्परागत कला, सीप, हस्तकला तथा साना घरेलु उद्योगलाई पेसा बनाएका नगरवासीका लागि संगीत केवल मनोरञ्जनको साधन नभई जीवनको अभिन्न अंग र आर्थिक उपार्जनको स्रोत पनि हो ।
महानगरपालिकाले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीका अवसर सिर्जना गर्न, परम्परागत संगीतको संरक्षण गर्दै समकालीन संगीतलाई समेत प्रवर्द्धन गर्न र युनेस्कोले पहिचान गरेका अन्य सिर्जनात्मक विधाहरूलाई एकीकृत रूपमा अगाडि बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ उनले दाबी गरे ।
चारवर्षे कार्ययोजना
युनेस्कोबाट सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरपालिकाले संगीत क्षेत्रको विकासका लागि आगामी चार वर्षका लागि विस्तृत कार्ययोजना तयार पारेको छ । यस योजना अन्तर्गत अनुसन्धान तथा शैक्षिक कार्यक्रम मार्फत संगीतको माध्यमबाट आर्थिक उपार्जनका नयाँ बाटोहरू पहिल्याइनेछ । स्थानीय परम्परागत र समकालीन संगीत सीपलाई विद्यालय तहसम्म पुर्याउन विद्यालयमा संगीत शिक्षकको व्यवस्था, तालिम र विद्यार्थीका लागि छात्रवृत्तिको प्रबन्ध गरिने उल्लेख छ ।
स्थानीय संगीत परम्परा र बाजाहरूको अभिलेखीकरण गरी स्रोत केन्द्र सञ्चालन गरिनुका साथै परम्परागत बाजा बनाउने र बजाउने सीपको जगेर्नाका लागि तालिमको व्यवस्था गरी यसलाई मर्यादित पेसाका रूपमा स्थापित गरिनेछ । जसबाट परम्परागत वाद्यगुरुहरूलाई रोजगारीको अवसर सिर्जना हुनेछ ।
नीति निर्माण तथा पहलकदमी अन्तर्गत संगीतलाई उद्योगका रूपमा स्थापित गर्न पहल गरिनेछ र जेष्ठ पूर्णिमालाई राष्ट्रिय संगीत दिवसका रूपमा घोषणाका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि कार्ययोजनामा उल्लेख छ । यस्तै स्थानीय सार्वजनिक स्थलहरूलाई सवारी रहित बनाई खुल्ला सांगीतिक कार्यक्रमहरू आयोजना गर्न पूर्वाधार तयार पारिने महानगरले जनाएको छ ।
परम्परागत वाद्यवादनमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र नयाँपुस्ताको उल्लेख्य सहभागिताका लागि नीति बनाई कार्य गरिनेछ र विद्यालयको पाठ्यक्रममा संगीतलाई समावेश गराइनेछ । स्रोत तथा साधनको विकासका लागि ‘ललितपुर सिर्जनात्मक कला केन्द्र’को स्थापना गरिनेछ । जुन संगीत सम्बन्धी अनुसन्धान केन्द्र, अभिलेखालय, तालिम केन्द्र तथा संगीतकर्मीहरूको सामूहिक जमघटको थलोका रूपमा रहनेछ । यस केन्द्रको संयोजन र रेखदेख ललितपुर महानगरपालिकाका प्रमुखको अध्यक्षतामा गठित १५ सदस्यीय सञ्चालक समितिले गर्ने मेयर महर्जनले बताए ।
युनेस्कोका अन्य संगीत सहरहरूसँगको सहकार्यमा वार्षिक रूपमा संगीत महोत्सवको आयोजना गरिनुका साथै परम्परागत तथा समकालीन संगीतमा युवाहरूलाई संलग्न गराउन प्रत्येक वडामा युवा केन्द्रको स्थापना गरिनेछ, संगीतको अनुसन्धानका लागि विज्ञहरूको टोली गठन गरिनेछ । परम्परागत डबली तथा सार्वजनिक प्रदर्शन स्थलहरूको स्तरोन्नति गरिनेछ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले युनेस्कोको यो घोषणाले ललितपुर महानगरपालिका गौरवान्वित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण