‘त्यसदिन आईजीपी खापुङले नै दिएका थिए बानेश्वरमा गोली चलाउने आदेश’
सारांश
- जेनजी प्रदर्शनका क्रममा काठमाडौं र इटहरीमा २२ जनाको मृत्यु भयो, र पछि देशभर ३९ जनाको मृत्यु भएको थियो।
- प्रहरी महानिरीक्षकको आदेशमा गोली चलाइएको र ७६ जनाको मृत्यु भएको घटनाबारे छानबिन सुरु भएको छ।
- पोष्टमार्टम रिपोर्ट अनुसार, मारिएका सबैलाई कम्मरमाथि गोली लागेको र 'हाई भेलोसिटी फायर आर्म' को गोली प्रयोग भएको पाइएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा गरी २२ जनाले ज्यान गुमाए । आन्दोलनमा ठुलो मानवीय क्षति भएपछि जेनजी पुस्तामात्र नभएर देशव्यापी आक्रोश बढ्यो र भदौ २४ गतेको आन्दोलन उग्र बन्यो ।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
ठुलो मानवीय क्षति हुने गरी प्रहरीद्वारा बल प्रयोग गरिएको घटनाबारे विभिन्न कोणबाट व्याख्या भइरहेको समयमा तत्कालीन समयमा फिल्डमा रहेका अधिकृतहरू प्रहरी महानिरीक्षककै निर्देशनअनुसार घातक बल प्रयोग गर्नु परेको बताउँछन् । लेथल हतियार प्रयोग गरेर अधिक बल प्रयोग गर्ने आदेश प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दिएको फिल्डमा खटिएका अधिकृतहरूको भनाइ छ ।
फिल्डमा खटिएका एक अधिकृतका अनुसार भदौ २३ गते करिब १ बजेतिर आईजीपी खापुङले प्रहरी सञ्चारसेट (वाकीटकी)बाट गोली चलाउन आदेश गरेका हुन् । प्रदर्शनकारी संसद् भवनमा केन्द्रित भएपछि खापुङले गोली चलाउन आदेश दिएको फिल्डमा खटिएका अधिकृतको भनाइ छ । भदौ २३ मा खापुङले सञ्चार सेटबाट दिएको निर्देशन उद्धृत गर्दै ती अधिकृतले भने, ‘संसद् भवन घेरिसकेका छन्, के हेरेको ? गोली चलाऊ ।’
आईजीपीको आदेशपछि संसद् भवनको सुरक्षामा खटिएको केन्द्रीय विशेष कार्यदल (एसटीएफ)का सुरक्षाकर्मीले ननस्टप गोली चलाएको अधिकृतहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयको मातहत रहेर संसद् भवनको सुरक्षामा परिचालित एसटीएफको कमाण्ड इन्स्पेक्टर सामन्त अधिकारीले गरेका थिए ।
संसद् भवन परिसरमा प्रहरी वरिष्ठ उपरीक्षकद्व सोमेन्द्र सिंह राठौर र दिप शमशेर जबरा पनि खटिएका थिए । जबरा उपत्यका प्रहरी कार्यालयको अप्रेसन कमाण्डर हुन् ।
जेनजी आन्दोलन सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले फिल्ड कमाण्डरहरूसँग बयान लिन थालेको छ । आयोगका सदस्य विज्ञानराज शर्माले बिहीबारदेखि प्रहरीहरूको बयान सुरु भएको जानकारी दिए । उनले भने, ‘फिल्डमा खटिएका अधिकृतहरूसँग बयान लिने काम सुरु भएको छ ।’
दङ्गा नियन्त्रण, आतङ्कवाद, अपहरण एवं प्रकोपमा परिचालित हुनेगरी गठन गरिएको कार्यदलका सुरक्षाकर्मीले उच्च क्षमताको तालिम लिएका हुन्छन् । सो फौज आधुनिक हातहतियार र फौजी संरचनामा परिचालित हुन्छ ।
जेनजी प्रदर्शनको सुरुको दिनमा कर्फ्यु आदेश जारी हुनु अघिसम्म लाठीचार्ज, अश्रुग्याँस, पानीको फोहरा, डमी राउण्ड र रबर बुलेटमात्र प्रहार गरिएको फिल्डमा खटिएका अधिकृतहरूले दाबी गरेका छन् । एक जना अधिकृतले भने, ‘आईजीपीको आदेशपछि सयौँ राउण्ड गोली प्रहार गरिएको हो ।’
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले त्यसदिन साढे १२ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेका थिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम प्रजिअले कर्फ्यु आदेश जारी गर्ने कानुनी व्यवस्था छ ।
नयाँ बानेश्वरमा अत्यधिक बल प्रयोग कसरी भयो भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ बालुवाटारमा प्रश्न गरेका थिए । सो कुरा ओलीले सार्वजनिक रूपमै भनिसकेका छन् । त्यसपछि भोलिपल्ट आईजीपी खापुङले गोली प्रहार नगर्न आदेश गरेको स्रोत बताउँछ ।
त्रिवि शिक्षण अस्पतालको पोष्मार्टम रिपोर्ट अनुसार गोलीबाट मारिएकाहरू सबैको कम्मरमाथि गोली लागेको भेटिएको छ । काठमाडौँमा मृत्यु भएकाहरूमध्ये ११ जनाको टाउकोमा, १६ जनाको छातीमा, ४ जनाको पेटमा र ३ जनाको घाँटीमा गोली लागेको भेटिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले रातोपाटीलाई बताए ।
पोष्टमार्टम रिपोर्ट अनुसार प्रदर्शनमा मृत्यु भएकाहरू सबैलाई ‘हाई भेलोसिटी फायर आर्म’ को गोली लागेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण