शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
झण्डै एक महिनाको गलफती

कांग्रेस बैठकमा महाधिवेशनका छुट्टाछुट्टै चार मिति प्रस्ताव

शुक्रबार, २१ कात्तिक २०८२, १६ : ५८
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनका लागि विभिन्न मिति प्रस्ताव गरिएको छ।
  • महाधिवेशनका लागि महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्मको कार्यतालिका पेश गरेका छन्।
  • केन्द्रीय सदस्यहरूले नेपाल विद्यार्थी संघको स्थापना दिवस र मंगलादेवीको जन्म जयन्तीको अवसर पारेर महाधिवेशनको मिति प्रस्ताव गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै चार मिति प्रस्ताव भएका छन् ।

गत मंगलबारको बैठकमा दुई वटा मिति प्रस्ताव भएका थिए । शुक्रबारको बैठकमा फेरि दुई मिति प्रस्ताव भएका हुन् । प्रस्ताव भएका तीन मिति नियमित महाधिवेशनका लागि हुन् भने एउटा मिति विशेष महाधिवेशनका लागि हो । 

मंगलबारको बैठकमा महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने छुट्टाछुट्टै कार्यतालिका पेस गरेका थिए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य किरण राज शर्मा पौड्यालले वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर पार्टीको महाधिवेशन उद्घाटन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

 शुक्रबारकै बैठकमा अर्का केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गते मंगलादेवीको जन्म जयन्तीको अवसर पारेर विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

महामन्त्री थापाले पेस गरेको महाधिवेशन सम्बन्धी कार्यतालिकामा क्रियाशील सदस्यता वितरण र नयाँ सदस्यता वितरण आगामी मङ्सिर १० गतेसम्म गर्ने, मङ्सिर १० देखि २० गतेसम्म क्रियाशील सदस्यता छानबिन गर्ने उल्लेख छ । त्यस्तै त्यो क्रियाशील सदस्यताको विवरण मङ्सिर २४ गते पार्टीको निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मङ्सिर २७ गते वडा अधिवेशन गर्ने उल्लेख छ । पुस ५ गते क्षेत्रीय अधिवेशन गर्ने र पुसको १६ देखि १९ गतेसम्म १५ औ केन्द्रीय महाधिवेशन गर्ने थापाको कार्यतालिकामा उल्लेख छ ।

सहमहामन्त्री यादवको कार्यतालिकामा मङ्सिर २० गतेसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण गर्ने उल्लेख छ । पुस २० गतेसम्म क्रियाशील सदस्यता छानबिन सम्पन्न गरी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने यादवको कार्यतालिकामा उल्लेख छ ।

चैत्र १ गते वडा अधिवेशन गर्ने, चैत्र ५ गते पालिका अधिवेशन गर्ने, चैत्र १२ गते  प्रदेश क्षेत्रीय अधिवेशन गर्ने, चैत्र २० गते संघीय क्षेत्रीय अधिवेशन गर्ने, चैत्र ३० गते जिल्ला अधिवेशन गर्ने र वैशाख १५ गते सात प्रदेशको अधिवेशन गर्ने उल्लेख छ । वैशाख  २७–३० गते १५ औ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ ।

केन्द्रीय सदस्य पौडेलले १५औं महाधिवेशन आगामी २०८३ वैशाख ६ गतेबाट सुरु गर्न प्रस्ताव गरेका छन् ।

पौडेलले मंसिर १ देखि पुस १५ सम्म क्रियाशील सदस्य वितरण, पौष १५ देखि फागुन २१ सम्म प्रतिनिधिसभा निर्वाचनमा जुट्ने, चैत्र महिनाभर वार्डदेखि प्रदेशसम्मका अधिवेशन सम्पन्न गर्ने र नेविसंघ स्थापना दिवस अर्थात् वैशाख ६ गते कांग्रेसको १५औं महाधिवेशन उद्घाटन गर्ने प्रस्ताव गरेका हुन् । 

अर्का केन्द्रीय सदस्य मधु आचार्यले मंगलादेवी सिंहको जन्म जयन्तीको दिन मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । ‘नेपाली कांग्रेसको विधान मा व्यवस्था भएको धारा १७ (२) अनुसार मंगलादेवी सिंहको जन्म जयन्तीका दिन मंसिर २४ गते बाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौं,’ आचार्यले बैठकमा भने ।

गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशनको मितिको प्रस्ताव आचार्यले बैठकमा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप