जेनजी फ्रन्टलाई प्रश्न : कोशी प्रदेशको नाम किन अस्वीकार गरेको ?
सारांश
- जेनजी आन्दोलनपछि 'नेपाल जेनजी फ्रन्ट' गठन गरी सातवटै प्रदेश संयोजक तोकिएका छन्।
- कोशी प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै जेनजी फ्रन्टले स्थानीय जनताको भावनाअनुसार नाम हुनुपर्ने बताएको छ।
- फ्रन्टले स्थानीय जनताको माग र आन्दोलनरत पक्षको भावनालाई सम्बोधन गरी नामकरण गर्नुपर्नेमा जोड दिएको छ।
काठमाडौँ । जेनजी आन्दोलनपछि सक्रिय रूपमा जेनजी अगुवाहरूको अनुहार समेटेर ‘नेपाल जेनजी फ्रन्ट’ गठन भएपछि सातवटै प्रदेश संयोजकहरू तोकिएका छन् ।
अभियन्ता रक्षा बमको संयोजकत्वमा गठन भएको नेपाल जेनजी फ्रन्टले शनिबार प्रदेश संयोजकहरू तोक्दा ६ वटा प्रदेशको नाम लिए पनि कोशी प्रदेशको नाम भने उल्लेख भएन । बरु प्रदेश स्थापना गर्दा राखिएको प्रदेश नम्बर १ भनेर तोकिएको छ ।
प्रदेश सभाले कोशी नामकरण गरेता पनि एक समूहले किराँतको पहिचान झल्कने गरी प्रदेशको नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ । यस्तो अवस्थामा नेपाल जेनजी फ्रन्टले कोशी प्रदेशको नाम अस्वीकार गरेको हो ।
फ्रन्टकी संयोजक रक्षा बमले स्थानीय जनताको माग र आन्दोलनरत पक्षको भावनालाई सम्बोधन नगरी गरिएको नामकरण स्वीकार्य नहुने बताइन् । कोशी प्रदेश नामकरणको विषयमा अहिले पनि विवाद चलिरहेको भन्दै बमले जेनजी फ्रन्ट यस विषयमा स्थानीय जनताको पक्षमा रहेको स्पष्ट पारिन् । उनले स्थानीयस्तरमा नामकरणप्रति व्यापक असन्तुष्टि रहेको उल्लेख गरिन् ।
संयोजक बमले स्थानीय बासिन्दाहरूले स्वीकार गरेको नामकै पक्षमा आफूहरू उभिने बताइन् । उनले भनिन्, ‘प्रदेशको नामकरण गर्दा त्यहाँका जनताले अपनत्व महसुस गर्नुपर्छ । यदि जनताले नै अपनत्व महसुस नगर्ने नामकरण गरिए त्यसको कुनै अर्थ हुँदैन ।’
नामकरणसम्बन्धी निर्णय गर्दा स्थानीय सरोकारवाला र आन्दोलनरत पक्षहरूसँगको छलफल महत्त्वपूर्ण हुने जेनजी फ्रन्टको भनाइ छ । अहिलेको अवस्थामा ‘ठोस’ नाम तोक्नुभन्दा विवाद समाधानका लागि सबै पक्षसँग वार्ता र सहमति आवश्यक रहेको बमले उल्लेख गरिन् । भविष्यमा आउने जुनसुकै निर्णय पनि स्थानीय बासिन्दाहरूको मागलाई सम्बोधन गरेर आउनुपर्ने र सोही निर्णयलाई आफूहरूले स्वीकार गर्ने उनले बताइन् ।
‘जेनजी फ्रन्टले कोशी प्रदेशको नामकरणलाई स्थानीय जनताको भावना र अपनत्वको कसीमा हेरेको छ । स्थानीय जनताले जुन नाम मन पराउँछन्, हाम्रो पनि त्यही नाम हुन्छ,’ उनले भनिन् । उनले अहिले यो विषयमा वादविवाद गर्ने बेला पनि नभएको धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण