कोशी प्रदेश खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु
सारांश
- विराटनगर महानगरपालिकाले गाईभैंसीमा खोरेतविरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ।
- यो अभियान कोशी प्रदेश सरकारको खोरेतमुक्त प्रदेश बनाउने लक्ष्यअनुरूप सञ्चालन गरिएको हो।
- पहिलो चरणमा १६ हजार ६ सय गाईभैंसीलाई खोप लगाइनेछ, र खोपको तथ्याङ्क डिजिटल प्रणालीमा राखिनेछ।
विराटनगर । कोशी प्रदेश सरकारको खोरेतमुक्त प्रदेश बनाउने दीर्घकालीन लक्ष्यअनुरूप विराटनगर महानगरपालिकाले गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ। विराटनगर महानगरपालिकाको आयोजना तथा प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा यो अभियान औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्मबाट सुरु गरिएको यो अभियानले विराटनगरलाई खोरेत रोगमुक्त पालिका बनाउने दाबी गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहका अनुसार विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६ सय गाई र भैंसी छन्। पहिलो चरणमा १६ हजार ६ सय गाई र भैंसीलाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइनेछ। खोपको तथ्याङ्क डिजिटल प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको छ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए। इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेतमुक्त बनाउने तयारी भइरहेको छ।
डा. अधिकारीले यो अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउनुका साथै कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउने विश्वास व्यक्त गरे। विराटनगरको १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिने महानगरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण