बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भिडियो अन्तर्वार्ता

'एन्फाले खेलाडीलाई सडकमा पुर्‍यायो'

आइतबार, २३ कात्तिक २०८२, १६ : २५
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा नेतृत्वको आलोचना गर्दै नेपाली फुटबलको अवस्थाप्रति असन्तुष्टि जनाए।
  • उनले 'ए' डिभिजन लिग नहुँदा खेलाडीको करिअरमा असर परेको र आर्थिक संकट निम्तिएको बताए, साथै एन्फाको व्यवस्थापनमाथि प्रश्न उठाए।
  • लामाले एन्फाले मोफसलका प्रतियोगितालाई प्राथमिकता दिएको तर 'ए' डिभिजन लिगलाई बेवास्ता गरेको आरोप लगाए, र खेलाडी संघ आन्दोलनको तयारीमा रहेको जानकारी दिए।

नेपाली फुटबलको वर्तमान अवस्थाप्रति म (विक्रम लामा), नेपाल खेलाडी संघको अध्यक्ष तथा पूर्वराष्ट्रिय फुटबल खेलाडीका रूपमा, गम्भीर असन्तुष्टि व्यक्त गर्दछु । नेपाली फुटबल अहिले राम्रो गतिशील अवस्थामा छैन र यसको मुख्य कारण एन्फा नेतृत्वको अदूरदर्शिता हो भन्ने मेरो स्पष्ट आरोप छ । एन्फाको अदूरदर्शी नेतृत्वका कारण नेपाली फुटबल ओरालो लागिरहेको छ । 

तीन वर्षसम्म पनि ‘ए’ डिभिजन लिग नहुँदा नेपालको घरेलु फुटबल कस्तो अवस्थामा चलायमान होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । हामी खेलाडीहरूको लागि लिगविहीन अवस्था भनेको करिअरको महत्त्वपूर्ण समय खेर जानु हो । लिग नै खेलाडीको आर्थिक उपार्जनको मुख्य माध्यम हो र यो नहुँदा हामीले ठुलो अवसर गुमाउनुपरेको छ । यसले धेरै खेलाडीलाई आर्थिक संकटमा पारेको छ, र कतिपय साथीहरू त सीमापारि गएर खेल्न बाध्य भएका छन् । मैले आफैँ २१ वर्ष घरेलु फुटबल खेल्दा जम्मा नौ वटा मात्र लिग खेल्न पाएको छु । मेरो ११–१२ वर्ष लिगविहीन अवस्थामै खेर गयो । एउटा राम्रो खेलाडीको पिक फर्म हुने समय तीनदेखि छ वर्ष हुन्छ, तर तीन वर्षसम्म लिग नहुँदा खेलाडीको त्यो महत्त्वपूर्ण करिअर नै सकिन्छ । 

हालको फुटबल माहोल हेर्दा कोही पनि खुसी हुन सक्दैन । फुटबलप्रतिको हाम्रो योगदानमा दुईमत छैन, हामीले हाम्रो प्यासन पूरा गर्दै फुटबल र राष्ट्रको प्रतिनिधित्व गर्ने अवसर पाउनु सौभाग्यको कुरा हो र त्योप्रति सधैँ हामी गर्व गर्छौं । तर एन्फामा आज मात्रै होइन, धेरै अगाडिदेखिको जुन बेथिति छ, त्यसलाई सकारात्मक सोच राखेर परिवर्तन हुन्छ भन्ने आशा गर्थेँ । त्यो आशा सायद मेरो भूल हो कि जस्तो लाग्छ । व्यवस्थापकीय कमजोरीका कारण नैराश्यता आएको कुरा म स्वीकार गर्छु । 

एन्फा नेतृत्वले मोफसलका प्रतियोगिता देखाएर आफू चोखिन खोजिरहेको छ भन्ने मेरो भनाइ छ । मोफसलका प्रतियोगिताहरू जुन किसिमको संरचनामा भइरहेका छन्, त्यसले न खेलाडीलाई, न फुटबललाई कुनै हिसाबले उपलब्धिमूलक हुन्छजस्तो लाग्दैन । मोफसलका प्रतियोगिताले राष्ट्रिय टिम बनाउँदैन । नेपालको फुटबल विकासका लागि ‘ए’ डिभिजन लिग अपरिहार्य छ । वर्षमा १२ महिनामध्ये तीन महिना मात्र फुटबल खेलेर देशको फुटबल विकास गरिरहेको छु भन्नु हास्यास्पद कुरा हो । मोफसलका प्रतियोगिता एन्फाले सुरु गरेको नभई स्थानीय आयोजकहरूको लगन र मिहिनेतको प्रतिफल मात्र हो । 

दोषी क्लब पनि होलान्, एन्फा पनि होला वा सम्पूर्ण स्टेकहोल्डर होलान् । तर प्रमुख अभिभावकको नाताले एन्फाले त्यो कुरालाई व्यवस्थित गर्न सक्नुपर्छ । एन्फाले राम्रो र व्यवस्थित कार्यक्रम दिन नसकेमा वा स्टेकहोल्डरले त्यसलाई अस्वीकार गरेमा कारबाही गर्न सक्नुपर्छ । कुनै पनि देशको घरेलु फुटबलको मेरुदण्ड ‘टप टायर’को लिग हो । नेपालमा ए, बी, सी डिभिजन लिगमा वार्षिक करिब ९ सयदेखि १२०० खेलाडीहरू सहभागी हुन्छन् र यहीबाट राष्ट्रिय टिमका लागि खेलाडी उत्पादन हुन्छन् । घरेलु फुटबलमा कम्पिटिटिभ वातावरणमा खेलाडीले खेल्न पाएनन् भने राष्ट्रिय टिममा कसरी राम्रो नतिजा दिन्छन् ? यी १२ सय खेलाडीको आर्थिक उपार्जनको प्रमुख पाटो नै घरेलु फुटबल हो, तर १२ महिनामा तीन महिना मात्र खेलेर बाँकी नौ महिना उनीहरूले कसरी गुजारा चलाउँछन् भनेर एन्फाले कहिले लेखाजोखा गरेन ।

युवा परियोजनाको कुरा गर्दा पनि फुटबल बाँडेर मात्र पुग्दैन । युवा खेलाडीलाई एउटा सुनिश्चित भविष्यको सपना देखाउन सक्नुपर्छ, एउटा सपना त देखाउनुपर्‍यो नि कि म यो टप लेभलमा खेल्छु भन्ने । जीवनमा कहिले पनि सडकमा उत्रिनुपर्ला भन्ने मैले सोचेको थिइनँ । नेपाली फुटबललाई नबुझ्ने र खेलाडीको पीडा महसुस नगर्ने व्यक्तिहरूको कारण हामी सडकमा आउन बाध्य भएका छौँ । 

हाम्रा अग्रज दाइहरूले आवाज उठाइदिएको भए राम्रो हुन्थ्यो होला भनेर गुनासो गर्ने ठाउँ त छैन, तर आउँदै गरेका पुस्ताले चाहिँ हाम्रो दाइहरूले किन वातावरण बनाइदिएन भनेर नभनोस् भन्ने हिसाबमा हामी लागि परेका छौँ । आन्दोलनको दिनमा एन्फा गेटमा मैले आफ्नो रगत पसिनाका मेडल झुन्ड्याएको थिएँ । ती मेडल सम्मानका लागि नभई एन्फा नेतृत्वलाई खेलाडीको त्याग र सङ्घर्ष बुझाउनका लागि राखिएका थिए । त्यो हाम्रो रगत पसिनाको मेहेनतको फल हो । खेलाडीले जित्नका लागि मैदानमा कति सङ्घर्ष गर्नुपर्छ, कति बोझ बोक्नुपर्छ भन्ने कुरा एन्फाले बुझोस् भन्ने हिसाबमा हामीले त्यहाँ राखिदिएका हौँ ।

सात दिनको अल्टिमेटम दिएको चार दिन बितिसक्दा पनि एन्फाबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । आन्दोलनको दिन बेलुका एन्फाका पदाधिकारीबाट फोन आए पनि त्यसबाहेक कुनै सम्पर्क भएन । एन्फाबाट प्रतिक्रिया नआउनु हाम्रा लागि घाटाको कुरा होइन, खेलाडी सङ्घ आफ्नो तयारीमा पूर्ण रुपमा रहेको छ भन्ने मेरो बुझाइ छ । म आशावादी भने अवश्य छु ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप