बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘मधेसलाई पूर्ण स्वायत्तता घोषणा गरौँ’

प्रदेश प्रमुखको कदमपछि सीके राउतद्वारा सिंहदरबारविरुद्ध विद्रोहको आह्वान
सोमबार, २४ कात्तिक २०८२, १४ : १३
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशलाई पूर्ण स्वायत्तताको माग गरेका छन्।
  • उनले मधेस प्रदेश सभाबाट स्वायत्तता घोषणा गरी आफ्नै सरकार बनाउनुपर्ने बताए।
  • राउतले नेपाली शासकहरूले मधेसमाथि दमन गरेको आरोप लगाउँदै स्वायत्तताको आन्दोलन आवश्यक रहेको बताए।

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशलाई पूर्ण स्वायत्तता घोषणा गर्नुपर्ने माग राखेका छन्। उनले मधेस प्रदेश सभाको बैठकबाट स्वायत्तता घोषणा गरेर आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने बताएका हुन्।

फेसबुक पोस्टमार्फत राउतले 'संविधानलाई धज्जी उडाउँदै' नेपाली औपनिवेशिक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्ने अवस्था आएको आरोप लगाएका छन्। उनले मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर शपथग्रहण गराउने र मधेस पक्षधर नेता, कार्यकर्ता तथा समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम भएको उल्लेख गरेका छन्।

राउतले अब डराएर सदियौँदेखि नेपाली शासकको गुलामी गर्न नहुने भन्दै खुलेर बोल्न आह्वान गरेका छन्। उनले 'दमन' जारी रहे मधेस प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि दुई तिहाइ सांसदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्नुपर्ने तर्क गरेका छन्। उनले अहिलेको सङ्घीय सरकार नै आन्दोलनको माग बमोजिम बनेकोले मधेसले पनि जनताको चाहना अनुसार स्वायत्तता घोषणा गर्न मिल्ने दाबी गरेका छन्।

५४ प्रतिशत जनसङ्ख्या भएको मधेस मुठ्ठीभर नेपाली शासकको जागिर नभएको र उनीहरूले भीखजस्तो दिने कुरा आफूहरूले लिइराख्न नमिल्ने राउतको भनाइ छ। उनले सिंहदरबारबाट खटाइएका प्रदेश प्रमुख, सभामुख, प्रहरी र कर्मचारी लगाएर मधेसलाई सधैँ गुलाम बनाइराख्ने षड्यन्त्र विरुद्ध पूर्ण स्वायत्तताको आन्दोलन आवश्यक रहेको बताएका छन्। उनले 'नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो' भन्दै 'जय स्वराज'को उद्घोष गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप