बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुरमा गाईभैँसीमा खोरेत रोगविरुद्ध एक महिने खोप अभियान सुरु

मङ्गलबार, २५ कात्तिक २०८२, १३ : २५
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • भोजपुर जिल्लामा गाईभैँसीमा खोरेत रोग उन्मूलन गर्न खोप अभियान सुरु भएको छ।
  • यो अभियानले किसानलाई आर्थिक लाभ पुर्‍याउने र पशुजन्य उत्पादन बढाउने लक्ष्य लिएको छ।
  • अभियान कात्तिक २३ देखि मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ, जसमा खोप घरमै पुगेर लगाइनेछ।

भोजपुर । भोजपुर जिल्लामा गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ एक महिना लामो खोप अभियान सुरु भएको छ। जिल्लाभरका किसानका पशुहरूमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ।

सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा कात्तिक २३ गतेदेखि मङ्सिर २३ गतेसम्म यो अभियान चल्नेछ। प्रमुख दाहालले भने, "जिल्लामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेका छौँ। यो अभियानका लागि हामीलाई ६७ हजार खोप प्राप्त भएको छ। किसानकै गोठमा पुगेर खोपकर्तामार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ।"

रोग नियन्त्रणसँगै पशुजन्य उत्पादनमा वृद्धि गरी पशुपालक किसानलाई आर्थिक लाभ पुर्‍याउने लक्ष्यका साथ कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्‍याई किसानलाई आर्थिक रूपले समृद्ध बनाऔँ’ भन्ने नाराका साथ यो अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत प्रत्येक बस्तीमा खोपकर्ताले घरमै पुगेर खोप लगाउने छन्, जसले ग्रामीण क्षेत्रका किसानहरूलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ। पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिने र खोप लगाइएका पशुहरूमा रोगको अवस्थाबारे अनुगमन गरिने पनि कार्यालयले जनाएको छ।

अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारको जानकारी नहुँदा समस्या भोग्दै आएकाले रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै भइरहेको प्रमुख दाहालले बताए। यो खोप अभियानले किसानलाई आर्थिक रूपमा सबल बनाउन र रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप