शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस बैठक : धारणा राख्ने क्रम सहमहामन्त्रीसम्म पुग्यो

बैठक बुधबार सक्ने तयारी
मङ्गलबार, २५ कात्तिक २०८२, १७ : ४०
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार सक्ने तयारी छ, जसमा महाधिवेशनबारे छलफल भइरहेको छ।
  • बैठकमा महाधिवेशनका लागि विभिन्न कार्यतालिका प्रस्तुत गरिएका छन्, तर सहमति जुट्न सकेको छैन।
  • २,४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापतिलाई पत्र बुझाएका छन्।

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार सक्ने तयारी गरिएको छ । मंगलबारसम्म सहमहामन्त्री तहसम्म धारणा राख्ने क्रम सकिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनले बुधबार बैठक सक्ने तयारी रहे पनि ठ्याक्कै भन्न भने नसकिने बताए ।

‘आजको बैठकमा धारणा राख्ने क्रम सहमहामन्त्री तहसम्म पुगेको छ । सहमहामन्त्री केही बाँकी हुनुहुन्छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘भोलि सकिने अनुमान लगाउन सकिन्छ । ठ्याक्कै भन्न सकिन्न ।’

आजको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवविक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक आरम्भ गर्दै सभापति शेरबहादुर देउवाले लिखित धारणा राखेका थिए । धारणा राख्ने क्रमको अन्तिममा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको बताएका थिए । त्यसपछि खड्काको सभापतित्वमा बैठक बसिरहेको छ ।

बैठकमा पार्टीको १५ औ महाधिवेशनका सन्दर्भमा ४ कार्यतालिका प्रस्तुत भएका छन् । असोज १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका प्रस्तुत गरे । उनलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरे ।

त्यस्तै केन्द्रीय सदस्य मधु आचार्यले मङ्सिर २४ गते विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । अर्का केन्द्रीय सदस्य किरणराज पौडेलले वैशाख ६ गते नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

महाधिवेशनको विषयमा कुरा मिलिरहेको छैन । अर्कोतर्फ २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई पत्र बुझाएका छन् । बैठकमा महामन्त्री थापा र सहमहामन्त्री यादवको तालिकामा पक्ष विपक्षमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप