बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विप्लव अलग भएसँगै समाजवादी मोर्चा विघटन

बुधबार, २६ कात्तिक २०८२, ११ : १४
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • चार दलीय समाजवादी मोर्चा २८ महिनामा विघटन भयो, जसले समाजवादी क्रान्तिको आधार तयार पार्ने लक्ष्य लिएको थियो।
  • मोर्चाका संयोजक विप्लवले विज्ञप्ति जारी गर्दै जेनजी विद्रोहपछिको राजनीतिक परिवर्तन र पार्टीहरूको नयाँ गठबन्धनलाई कारण देखाए।
  • मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी लगायतका दलहरू सामेल थिए र पछि विभिन्न समयमा यसबाट बाहिरिए।

काठमाडौँ । चार दलीय समाजवादी मोर्चा २८ महिनामा विघटन भएको छ । समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारण बनाउने र भविष्यमा पार्टी एकता गर्ने गरी बनेको मोर्चा विघटन भएको हो ।

मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधवार विज्ञप्ति जारी गरी अलग भएको घोषणा गरेका छन् । जेनजी विद्रोहपछि राजनीतिक परिवेश र धारणाहरू व्यापक फेरबदल भएको, सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता तथा मोर्चाबन्दीमा सहभागी भएकाले मोर्चाको औचित्य समाप्त भएको विप्लवले निष्कर्ष निकालेका  छन् ।

‘जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरू आवश्यक बनेका छन् र बढी पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् ।

यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

कात्तिक १९ गते मोर्चामा आबद्ध दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीबिच एकता भएको थियो । २०८० साल असार ४ गते पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरेका थिए ।

जसपा विभाजन भएपछि २०८१ सालमा साउन १ गते मोर्चाबाट बाहिरिएको थियो । सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा जोडिएको थियो । यसले ५५ जिल्ला, दुई सय पालिकामा सङ्गठन विस्तार गरेको थियो । काठमाडौँमा दुई पटक ठुला विरोध सभा आयोजना गर्नुको साथै सातै प्रदेशमा सन्देश सभा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप