प्रदेशका अधिकांश जिल्लामा पुगेर के बुझ्दैछन् सुदूरपश्चिमका मुख्यमन्त्री शाह ?
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह जिल्ला भ्रमणमा छन्, जसको उद्देश्य अन्तरक्रिया र समस्या पहिचान गर्नु हो।
- मुख्यमन्त्री शाहले जेनजी आन्दोलनपछिको सुरक्षाकर्मीको मनोबल बढाउन र कर्मचारीलाई सहज बनाउन खाका बनाउने बताए।
- भ्रमणमा उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयको अभाव र विकास निर्माणमा देखिएका समस्याबारे कुरा गरे।
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह विभिन्न जिल्ला भ्रमणमा छन् । प्रदेशका सबैजसो जिल्लाको सदरमुकाम पुगेर स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरू लगायतसँग छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले कात्तिक २१ गते धनगढीबाट निस्किएका उनी बुधबार अछाम पुगेका छन् ।
यसबिचमा मुख्यमन्त्री शाहले डडेल्धुरा, बैतडी, दार्चुला र डोटी जिल्लाको भ्रमण पूरा गरिसकेका छन् । बझाङ र बाजुरासमेत पुग्ने योजना रहे पनि अहिले समय अभावका कारण सम्भव नहुने देखिएको मुख्यमन्त्री शाहले बताए । ती जिल्लामा पनि चाँडै पुगेर अन्तरक्रिया गर्ने उनको भनाइ छ ।
भ्रमणको उद्देश्य के ?
झन्डै एक साता लामो भ्रमणमा रहेका मुख्यमन्त्री शाह मुख्यतया चार उद्देश्यले आफू विभिन्न जिल्लामा पुगेको बताउँछन् ।
अन्तरतह कार्यालयबिचको सम्बन्ध र सहकार्यको अवस्था, ऐन कानुनमा देखिएका समस्या, योजना कार्यान्वयनको अवस्था र शान्ति सुरक्षाको अवस्था बुझ्ने उद्देश्यले आफू जिल्ला भ्रमणमा निस्किएको उनले प्रस्ट पारे ।
‘जेनजी आन्दोलनपछि संविधान, संघीय संरचनामाथि प्रश्न उठाउन थालिएको छ । यस्ता प्रश्नले ती निकायमा कन्फ्युजनको अवस्था पनि छ,’ मुख्यमन्त्री शाहले रातोपाटीसँग भने, ‘यस्तो अवस्थामा स्थानीय तहका जनप्रतिनिधिहरू, जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरू तथा अन्य कर्मचारी, जनता लगायत सबैको धारणा सुन्ने, आफ्ना कुरा राख्ने यो भ्रमणको उद्देश्य हो ।’

जेनजी आन्दोलनपछि सुरक्षाकर्मी, सरकारी कर्मचारी लगायतको मनोबल खस्किएको मुख्यमन्त्री शाहले बताए । ‘सुरक्षा अवस्था कसरी सुदृढ बनाउने, खासगरी जेनजी आन्दोलनपछि सुरक्षाकर्मीको खस्किएको मनोबललाई कसरी बढाउने र विभिन्न कारणले अन्योलमा रहेका कर्मचारीहरूलाई सहज रूपमा काम गर्ने वातावरण कसरी बनाउने भन्ने एउटा खाका तयार पार्न पनि म विभिन्न जिल्ला भ्रमणमा निस्किएको हुँ,’ उनले भने ।
भ्रमणका क्रममा विभिन्न जिल्लामा गरेका अन्तरक्रियाबाट आएका सुझाव समेटेर विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले निर्वाह गर्ने भूमिकाको खाका तयार गर्ने र कार्यान्वयनमा लैजाने मुख्यमन्त्री शाहले प्रस्ट पारे ।

भ्रमणका क्रममा आफूले संघ, प्रदेश र स्थानीय तहका बिचमा समन्वयको अभाव देखेको उनले बताए । ‘संघका कार्यालय हुन् वा जनप्रतिनिधिले आफू नै मुख्य भएको ठान्ने, प्रदेशकाले पनि प्रदेशमा हामी पो ठुला हौँ त भन्ने ठान्ने र स्थानीय तहले आफ्नो क्षेत्रमा आफू पो मुख्य हुँ भन्ने ठान्नेजस्तो अवस्था छ,’ उनले भने, ‘स्थानीय तहले स्वाभाविक रूपमा प्रदेशप्रति गुनासो गर्छन् नै । योजना छनोट, कार्यान्वयनमा आफ्नो भूमिका हुनुपर्छ भनेर स्थानीय तहले गुनासो गरेका छन् ।’

मुख्यमन्त्री शाहका अनुसार पछिल्लो समय संघीय अर्थ मन्त्रालयले दिएको निर्देशनले पनि केही आशंका, असहजताको अवस्था सिर्जना गरेको गुनासो आएको छ । अनुदान कटौतीदेखि लिएर योजना कटौतीसम्मका कुराले स्थानीय जनप्रतिनिधि र कार्यालयहरूले यसमा घोर असन्तुष्टि जनाएको उनले जानकारी दिए । उनले शान्ति सुरक्षाको अवस्थामा अझै सुधार आउन नसकेको बताए । उनले भने, ‘सुरक्षाको स्थिति अझै पनि जेनजी आन्दोलन अघिको अवस्थामा पुग्न सकेको छैन ।’
जनप्रतिनिधि, कर्मचारी र कार्यकर्तासमेतलाई ढाडस दिँदै
मुख्यमन्त्री शाहले जिल्ला भ्रमणका क्रममा जनप्रतिनिधि, कर्मचारी, पार्टीका कार्यकर्तालाई समेत ढाडस दिएका छन् । सबैलाई इमानदार भएर काम गर्न निर्देशन दिँदै उनले देश र जनताको पक्षमा इमानदार भएर काम गरेका कसैले कोहीसँग डराउन नपर्ने प्रस्ट पारे ।
मुख्यमन्त्री शाहले जेनजी आन्दोलनबाट नेपाली राजनीतिमा ल्याएको तरङ्ग, विकास निर्माणमा देखिएको जनगुनासो र आफ्नै पार्टी नेपाली कांग्रेसभित्र चुलिएको अन्तरविरोधलाई सम्बोधन गर्ने एक अर्थपूर्ण संवादको प्रयासका रूपमा यो भ्रमणलाई उपयोग गरेका छन् । उनले आफ्ना हरेक सम्बोधनमा जेनजी आन्दोलन ‘अकल्पनीय’ भएको स्वीकार गर्दै यसले दिएको सन्देशलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
‘जेनजी आन्दोलनपछि यो मुलुकमा संविधान, सरकार र व्यवस्था रहँदैन कि भन्ने जुन दुविधा थियो, त्यो दुविधा चिर्नका लागि म सम्पूर्ण क्षेत्रमा उपस्थित भएको हुँ,’ उनले दार्चुला पुगेर भनेका थिए ।
यस्तै डडेल्धुरामा उनले भनेका थिए, ‘जेनजी आन्दोलन अकल्पनीय थियो । हामी सबै आ–आफ्नो ठाउँबाट सच्चिन जरुरी छ ।’ उनले आफ्नो भ्रमणलाई ‘टुर’का रूपमा मात्र नभई ‘अर्थपूर्ण संवादको सुरुवात’ भनेर व्याख्या गरेका थिए ।

मुख्यमन्त्री शाहले जिल्ला भ्रमणका क्रममा विकास निर्माण र सुशासनका विषयमा कडा निर्देशनसमेत दिँदै आएका छन् । विशेषगरी बैतडीमा उनले योजना कार्यान्वयनमा देखिएको बेथितिलाई लिएर मातहतका निकायलाई स्पष्ट कार्यतालिका बनाएर काम गर्न निर्देशन दिए ।
‘आवश्यकता नभएको ठाउँमा बजेट विनियोजित भएको र काम सम्पन्न भइसकेका योजनामा समेत काम गरेको व्यापक जनगुनासो आएको छ,’ उनले चेतावनी दिँदै भने, ‘यदि यस्तो भएको छ भने त्यस्तो बजेट कार्यान्वयन हुने छैन ।’

मुख्यमन्त्री शाहले विकास निर्माणमा देखिएको भ्रष्टाचारको जड मानिने उपभोक्ता समितिको अवधारणालाई निरुत्साहित गर्ने नीति अघि सारे । उनले उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न निर्देशन दिँदै ठेक्का सम्झौता मार्फत विकास निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
राजनीतिक र प्रशासनिक नेतृत्वबिच समन्वय र हातेमालो भए मात्र पारदर्शिता, सुशासन र विकास सम्भव हुने मुख्यमन्त्री शाहले प्रस्ट पारे ।

डडेल्धुरामा पुगेर मुख्यमन्त्री शाह केही भावुकसमेत भए । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला पुगेर उनले डडेल्धुरालाई ‘पवित्र भूमि’ को संज्ञा दिए । ‘यो जिल्लाले देशलाई पाँच पटक नेतृत्व गर्ने व्यक्ति जन्माएको छ,’ उनले भने ।
देउवाले जनताको अधिकारका लागि सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गरेको र ज्यानमाथि खतरा आउँदा पनि कहिल्यै विचलित नभएको भन्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिममात्र नभएर सिंगो देशकै लागि देउवाबाट भएका योगदानको स्मरण गराए ।
‘सभापति देउवा र कांग्रेस नेतृ आरजु राणा देउवालाई सिद्ध्याउँछु भन्नु दिवा सपना हो,’ मुख्यमन्त्री शाहले डडेल्धुरामा कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘पञ्चहरूले पञ्चायतकालमा सिद्ध्याउन सकेनन्, माओवादीले गोली प्रहार गरेर पनि सकेनन्, जेनजी आन्दोलनका क्रममा उहाँमाथि सांघातिक आक्रमण भयो, त्यसबाट पनि उहाँ कतै विचलित हुनुभएन ।’

आफ्नो पार्टीभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेबारे बहस भइरहेको समयमा मुख्यमन्त्री शाहले फरक अडान लिए । डोटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अविलम्ब कांग्रेसको महासमिति बैठक बोलाउनुपर्नेमा जोड दिए । पार्टीभित्र उत्पन्न अन्तरविरोधको समाधान संवादबाटै खोज्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री शाहले डडेल्धुरामा आयोजित कार्यक्रममा भने, ‘सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्षमा छन्, यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा पुर्याउँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण