क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न बजेट खोज्दै बनेपा नगरपालिका
सारांश
- काभ्रेपलान्चोकको बनेपा नगरपालिकाको क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि बजेट खोज्दै छ।
- भवनमा आन्दोलनका क्रममा करिब १० करोडको क्षति भएको र ८० करोडमा नयाँ भवन बन्ने अनुमान छ।
- प्रदेश सरकारले केही सहयोग गर्ने आश्वासन दिएको छ भने आन्दोलनमा संलग्नलाई कारबाहीको लागि जानकारी गराइएको छ।
काभ्रेपलान्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको बनेपा नगरपालिका क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि बजेट खोजिरहेको छ । करिब ४२ वर्ष पुरानो भवन भएकाले मर्मततर्फ ध्यान नदिई नयाँ भवन बनाउन बजेटको खोजी भइरहेको नगर कार्यालयले जनाएको छ ।
आन्दोलनका क्रममा कार्यालयमा करिब रु १० करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा जनाइएको छ । बजेट व्यवस्थापन गर्न सकिए यसअघि बनाइएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार क्षतिग्रस्त भवन भत्काएर आठतले सुविधायुक्त नयाँ भवन बनाइने नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।
उनका अनसार जसमध्ये दुई तला अन्डरग्राउन्ड पार्किङ रहनेछ । उक्त योजनाअनुसारको भवन निर्माण गर्न रु ८० करोड लाग्ने शाक्यले बताए । उनले भने, “भवन निर्माणका लागि बजेटको खोजी गरिरहेका छौँ, प्रदेश सरकारबाट केही बजेट उपलब्ध गराउने आश्वासन पाएका छौँ ।” बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यही कात्तिक दोस्रो साता क्षतिग्रस्त नगर भवनको अवलोकन गरी प्रदेश सरकारमार्फत केही सहयोग उपलब्ध गराउने आश्वासन दिएका थिए ।
त्यसबेला बानियाँले सङ्घीय सरकारसँग समन्वय गरी प्रदेशभित्रका क्षतिग्रस्त नगरपालिका तथा गाउँपालिका भवन निर्माणका लागि बजेट व्यवस्थापनमा पहल गर्ने बताउनुभएको थियो । हाल १० नं वडा कार्यालयबाट अस्थायी रूपमा नगर कार्यालय सञ्चालन गरिएको छ ।
प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्णरूपमा क्षति पुर्याइएको थियो । नगरको मूल्याङ्कनअनुसार तीन तले प्रशासनिक भवनको पहिलो तल्लामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्वपूर्ण अभिलेख तथा दस्ताबेज पूर्ण रूपमा नष्ट भएका छन् ।
विसं २०४० मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टिसहितको प्राविधिक मूल्याङ्कनमा रु पाँच करोड ४२ लाख ५४ हजार ४८७ क्षति भएको जनाइएको हो । यसैगरी दोस्रो तलामा रहेका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गोप्य कक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलाश कक्ष, कानुन, शिक्षा, लेखा शाखा र दुई शौचालय जलेर पूर्ण रूपमा नष्ट भएको प्राविधिक मूल्याङ्कनमा उल्लेख गरिएको छ ।
यस्तै तेस्रो तलामा रहेको आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्षसहित सबै सामग्री जलेर नष्ट भएको छ । योजना र प्राविधिक शाखा रहेको भवनका सबै शाखा तथा कार्यकक्ष र त्यहाँका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यसैगरी सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनभित्रका सबै शाखा पनि जलेर नष्ट भएको उल्लेख गरिएको छ ।
यस्तै मिनि ट्रक, तीन ट्र्याक्टर, एक टिपर, एक मोटरसाइकल, दुई कार, एक जिप, पाँच साइकल क्षति भएको छ । त्यस्तै डेक्सटप कम्प्युटर सेट ४४, ल्यापटप १६, ट्यावलेट १४, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल क्यामेरा तीन, भिडियो क्यामेरा एक, तीन टेलिभिजनलगायत ६१ प्रकारका सामानको मूल्य रु आठ करोड २२ लाख ४९ हजार ५३१ बराबरको क्षति भएको उल्लेख गरिएको छ ।
त्यस्तै खर्च भएर जाने १४९ प्रकारका जिन्सी सामान जलेकामा रु १४ लाख ६० हजार क्षति भएको जनाइएको छ । विपद्–प्रकोप व्यवस्थापनसम्बन्धी सम्पूर्ण सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री तथा पुरातात्त्विक सामानसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन् । पुरातात्त्विक सामान पित्तलको कोपडा, चार धलौटका घण्टी, सिला भएको सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, ढुङ्गाको मुखुन्डो, धलौटको सिनमुलगायतका सामग्री चोरी भएको उल्लेख गरिएको छ ।
नगर कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको पहिचान गरी कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।
प्रदर्शनका क्रममा काभ्रेपलान्चोकमा विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठुलो क्षति पुर्याइएको थियो । विशेष गरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पुर्याइएको हो ।‘जेनजी’ आन्दोलनका क्रममा यहाँका चार जनाले काठमाडौँमा ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण