बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड अनुगमन

बिहीबार, २७ कात्तिक २०८२, १६ : १३
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • कञ्चनपुरको गड्डाचौकीदेखि अत्तरियासम्मको ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउन अनुगमन सुरु भएको छ।
  • सडक विभाग र विश्व बैंकको संयुक्त टोलीले स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको छ, र डीपीआर बनाउने तयारी छ।
  • उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार एडीबी र विश्व बैंकको सहयोगमा सडक स्तरोन्नती गर्ने योजना छ।

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नती गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।

यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको जानकारी दिदैं त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी दिए ।

 ‘पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरीयासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधीसहितको टोली यहाँ आएको हो ।’ 

डिभिजन प्रमुख यादवले भने– ‘अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउँछ, यसका दातृ निकाय सकरात्मक छन् ।’ उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए ।

‘यसअघि पनि दुर्घटना न्युनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतीको काम गरिरहेको थियो’ यादवले भने– ‘हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नती भयो ।’

त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नती गर्न बाँकी रहेको बताए  ।

‘भविष्यको योजनाको तयारी छ । त्यसका लागि अनुगमनका क्रममा छौँ’ उनले भने– ‘यो बाँकी सडक एडीबी र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नती गर्ने योजना छ । दुवैको सल्लाह र सहमती अनुसार डिजाइन तथा अध्ययन गर्छौ ।’ उनले तत्काल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अढाइने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप