शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
साहित्य

खुकुरी

शनिबार, २९ कात्तिक २०८२, १७ : ५५
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • संबितले मृतकको दुनियाँमा के भइरहेको छ पत्ता लगाउन खोज्छन्, जहाँ अभिकेसर र मिसिरीको भेट हुन्छ।
  • मिसिरीले आफूलाई अभिकेसरले सताएको र बाल्यकालमै मृत्यु भएको बताउँछिन्, उनलाई सती जान बाध्य पारिएको थियो।
  • अभिकेसरले कोतपर्वको घटना र जर्नेल अभिमानसिंहको हत्याको बारेमा बताउँछन्, साथै वर्तमान समयको बारेमा आफ्नो धारणा राख्छन्।

संबितको ध्यान चौरभन्दा माथि डिलको एउटा दृश्यले खिच्छ । दुई मृतक आपसमा बोलिरहेका छन् । एउटी पछ्यौरी ओढेकी बालिकाजस्ती देखिन्छे । अर्को निकै अग्लो, पाको दौरा लगाएको मान्छे देखिन्छ । झट्ट हेर्दा बाबुछोरीजस्ता । फेरि गहिरिएर हेर्दा बूढोले किशोरीलाई सताइरहेको जस्तो । किशोरी टाउको फन्काएर अघि जान्छे र एउटा बेन्चमा बस्छे । बूढो पनि पछ्याएर बेन्चमा जान्छ । किशोरी बेन्चबाट उठेर धुपीको बोटमा छेल पर्छे, तुरन्तै बूढो उसको हात समाउन पुग्छ । किशोरी औंला ठड्याएर धम्की दिन्छे र फन्किएर डिलतिर लाग्छे । बूढो लत्रिएर पछिपछि लाग्छ । 

अचम्ममा पर्छ संबित । के भइरहेछ मृतकको दुनियाँमा ? ऊ पत्ता लगाइछाड्ने निर्क्योल गर्छ र कान्ला उक्लेर डिलमा पुग्छ । 

बूढोले फेरि किशोरीको हात समात्नै लागेको बेला संबित रोक्छ ।

संबित: पख्नुस् ! के गर्न खोज्दै हुनुहुन्छ ? 

बूढो एक चोटि तर्सिन्छ र ङिच्च हाँस्छ ।

संबित: के हुँदै छ यहाँ ?

बूढो: मेरी जहान हो ।

संबित अविश्वासपूर्वक किशोरीलाई हेर्छ । ऊ मुन्टो तलमाथि हल्लाएर स्विकार्छे । संबित किशोरीतिर माइक तेर्स्याउँछ । बूढो छेउमा उभिएर वाल्ल परेर हेरिरहन्छ । 

संबित: तपाईंको नाम ?

किशोरी: मिसिरी ।

संबित: कति वर्षको उमेरमा तपाईंको मृत्यु भयो ?

मिसिरी: पन्ध्र ।

संबित: कसरी ?

मिसिरी (बूढोतिर देखाएर): यिनले गर्दा ।

संबित बूढोतिर फर्किन्छ ।

संबित: तपाईं चैं ? 

बूढो: अभिकेसर । जम्दार अभिकेसर ।

संबित: के गर्नुभयो तपाईंले ?

अभिकेसर: केही गरिनँ हजुर । म मरेँ,  मारिएँ ।

मिसिरी: मैले पइल्यै भन्या होइन ? असती बूढा !

अभिकेसर: त्यसो नभन् न मिसिरी । म रहरले मरें हुँला त ।

मिसिरी: आफ्नो वचन नाघ्ने मान्छेसँग म बोल्दिनँ ।

संबित: एक छिन, एक छिन । तपाईंको मृत्युको कारण वहाँ ?

मिसिरी: अनि के त ?

संबित: अनि, तपाईं उहाँको जहान ।

मिसिरी: अनि के त ?

संबित छक्क पर्दै अभिकेसरतिर फर्किन्छ । 

अभिकेसर: होइन, होइन, मेरो केही दोष छैन ।

संबित (मिसिरीसँग): कुरा के हो, अलि क्लियर पार्नुस् न !

मिसिरी: के पार्नु ?

संबित: प्रस्ट पार्नुस् ।

मिसिरी: प्रस्टै छ त । मैले एउटा खुट्टा चितामा टेकिसकेको यो बूढो मान्छेसँग ब्या गर्दिनँ भनेर कति रोइकराइ गरें । झन् सरखारी नुन खाकोसँग त गर्दैगर्दिनँ भनें । तर, धर पाइनँ । तँलाई माया गर्छु, सौताको छाया पर्न दिन्नँ, छिट्टै सुब्दार्नी हुन्छेस् भने । मेरा गरिब बाउआमालाई फकाए र जबर्जस्ती ब्या गरे ।

संबित (अभिकेसरसँग): हो ?

अभिकेसर: हो नै भन्नुपरो हजुर ।

संबित (मिसिरीसँग): अनि के भो ?

मिसिरी: मलाई घर भित्र्याएसि वर्षदिन नभई फ्याट्ट मरे । 

संबित: अनि ?

मिसिरी: मैले ब्याअघि नै भनेको थें । तिमी मर्‍यौ भने पनि म सती जान्नँ है भनेर ।

अभिकेसर: मैले पनि भनेकै हो । केही गरी मेरो ज्यान तलमाथि भएमा यो बालखालाई सती जान नदिनू भनेर । तर, पापीहर्ले किन सुन्थे !

मिसिरी: तिम्रो जेठी बूढीको करामत नि ! म त भुँडी बोकेकी छु भनेर आफू पन्छिई र मलाई पोलेर खाई, पिशाचिनीले । 

संबित: सती पठाए ?

मिसिरी: केको सती ! रहरले, भक्तिले जाने पो सती ! जबर्जस्ती ङ्याकेर, घिसारेर आगोमा हाले । म निस्केर भाग्दा पनि कुटीकुटी मारे, अनि एउटै चितामा जलाए । मैले त तिमीलाई सराप दिएँ । 

अभिकेसर: के गर्नु, तेरो कर्मै टुन्टे !

मिसिरी: अझ मेरो कर्मलाई दोष देऊ । तिमीलाई त नर्कमा डुबाउनुपर्ने !   

मिसिरी घोप्टो परेर घुँक्कघुँक्क गर्छे । अभिकेसर निधार समातेर भुइँमा बस्छ । संबित केही बेर पर्खिन्छ र ऊसँग कुरा गर्न अघि बढ्छ ।

संबित: तपाईंको चैं मृत्यु कसरी भयो ?

अभिकेसर: पर्वमा हजुर, पर्वमा ।

संबित: कुन पर्व ?

अभिकेसर: कोतपर्वमा ।

संबित: होइन होला । 

अभिकेसर: म मरेको मान्छे, झुट किन बोल्छु हजुर !

संबित: मरेका एकतीस जनामा अभिकेसर भन्ने नाम थिएन त ?

अभिकेसर: कति जना ? 

संबित: एक बीस र एघार जना ।

अभिकेसर: अनि, किन हुन्थ्यो त हाम्रो नाम । आठ बीस, नौ बीस मान्छे मरेको ठाममा ।

संबित: खास के भएको थियो त्यो दिन ?

अभिकेसर: अब दुखौटो रोएर के गर्नु हजुर ! हुने हुनामी !

संबित: कमसे कम के भयो, मान्छेले थाहा पाऊन् न । होइन ?

अभिकेसर: खै के जान्नु हजुर हामीजस्ताले ।

संबित: ल भन्नुस् त, तपाईं कसरी र किन मारिनुभयो ?

अभिकेसर: हाम्रो खान्दानै जङ्गी पेसामा, हजुर । मेरा बाजे र बा दुवैले फिरङ्गीविरुद्ध लडेको । म पनि यै पेसामा लागें । मालिक रिझाएर जम्दार भएँ । त्यति बेला म जर्नेल अभिमानसिंहको अर्दली थिएँ । वहाँको निगाह थियो ममाथि । चित्त लगाएर वहाँको सेवा गरिरहेको थिएँ । तँलाई चाँडै सुबेदार बनाउँला भन्नुभाको थियो । 

एक छिन विश्राम लिएर ऊ शान्त स्वरमा बोल्न थाल्छ । तर, बोल्दै जाँदा उसको स्वरमा कम्पन र आरोह–अवरोह बढ्दै जान्छ । 

अभिकेसर: त्यो राति वहाँ सुत्ने तर्खर गर्दै हुनुहुन्थ्यो । वहाँ निदाएपछि बल्ल म छुट्टी पाउँथें । अचानक जर्नेल गगनसिंहको हत्या भएको खबर आयो । वहाँ उठेर फेरि लुगा लगाउन थाल्नुभो । नभन्दै डबल बिगुल बजिगो । गारतलाई कोतमा आउन आदेश गरेर वहाँ कोततर्फ लाग्नुभो । म पनि पछिपछि लाग्नैपर्‍यो । कोतमा सबै रैछन् । राजारानी, चौतारियाहरु, जङ्गेका खलक । तैनाथजति जम्मै जङ्गेका भाइबन्धु देखेर मलाई शङ्का त लागिसकेको थियो । तर, बोल्नु भएन;  सानो मुख, ठूलो कुरा । मलाई वरै पख् भनेर जर्साब सिसमहलतर्फ जानुभयो । एकै छिनमा हल्ला सुनियो । दौडेर जाँदा वीरकेशर पाँडेलाई पक्रेर लडाइएको रहेछ । मास्तिरबाट रानी कराइन्, अभिमान ! त्यो पाँडेलाई काटिदे ! वहाँले सबैको मुख हेर्नुभयो । सबै चुप लागे, निहुरमुन्टी लाए । राजाले हुँदैन भनेर इसारा गरे । जर्नेलले भनेको नमानेको देखेर रानी रिसाइन् । बरबराउँदै माथि उक्लिन् । 

एक छिनमा चौतारियाहरु आए । त्यसपछि हामी साना ओहोदाका मान्छेलाई पर जाने हुकुम भयो । हामी हुकुम मानेर कुरा नसुनिने गरी वर बस्यौं । अलि बेरमा जर्साब निस्किनुभयो र हुकुम भयो, अभिकेसर, गारत आइपुग्यो, पुगेन हेर् हेर् ! म दौडेर ढोकामा पुगें । तर, त्यहाँको गार्डले ढिम्किनै दिएन । म लुतेकान लगाएर फर्किएँ र बेलीविस्तार गराएँ । जर्साब तँ यीँ पख् भनेर झ्वाँक्किएर ढोकातिर दौडिनुभयो । एकै छिनमा उहाँको चीत्कार सुनियो । म दौडिएँ । ढोका नपुग्दै देखें, जर्साब रगतको आहाल डुब्नुभएको थियो । मैले कम्मरबाट खुकुरी थुतें र गार्डलाई छप्काउन अगाडि लम्किएँ । तर, दुई पाइलो सार्न नपाई कसैले मेरो पिठ्युँमा खुकुरी बजार्‍यो । शिरपुछार चिसो झट्का लाग्यो । म काटेको मुलाजसरी उत्तानो परेर भुइँमा पछारिएँ । कसैले मेरो खुट्टा समातेर ढोकाबाट नदेखिने गरी भित्रसम्म घिसार्‍यो । मेरो सास गइहालेको थिएन । घिटीघिटी हुँदै मैले सबैथोक देखें । हल्लाखल्ला, काटाकाट, रगतको खोलो बग्यो । निकै बेरपछि शान्त भयो । मेरो मनमा चैं यही मिसिरी आएर बसी । हे भगवान्, यसको बिजोग नपारिदेऊ भनें । तर, भगवान् बहिरो रछन् । किन सुन्थे । कति बेरमा सास गयो, कि बेहोसीमै मलाई मिल्काइदिए, केही थाहा पाइनँ । 

मिसिरी घुँडा टेकेर अभिकेसरको अघिल्तिर बसी ।

संबित: अत्याचार होगि ?

अभिकेस : भनी के साध्य !

संबित: कति पापी रछ त त्यो जङ्गे ! 

अभिकेसर: खै, पापी पनि के भन्नु हजुर । त्यति त जङ्गे नभए नि अर्कोले गर्थ्यो । गर्नैपर्ने भइसकेको थियो । 

संबित: लौ किन नि ?

अभिकेसर: सबथोक भाँडिएको थियो । दरबारदेखि घरबारसम्म । राजा, रानी, राजकुमार कसैको मति सद्दे थिएन । आज को काटिन्छ, भोलि को मारिन्छ, टुङ्गो थिएन । भारदारहरु जो बलियो देखिन्छ, उसैको पछि लाग्थे । आज यसका पछि लागेको मान्छे, भोलि उसका पछि लाग्थ्यो । सबै लोभी । कसरी आफ्नो खान्की, जागिर बढाउने, सप्पैको ध्याउन्न त्यही मात्तै । कति दिन चल्नु त्यसरी ? मान्छे आजित भइसकेका थिए । सबथोक पानी थियो, जङ्गेले ढिक बनाइदियो । उसको ठाउँमा अरु कोही भैदिए नि त्यही हुन्थ्यो । 

संबित: जङ्गेको ठाउँमा अलि असल मान्छे परेको भए त्यत्रा मान्छेले दुःख नपाउँदा हुन् । 

अभिकेसर: असल मान्छे कसरी पुग्छ दरबार ? सन्की मात्रै भाको ठाउँमा । तिनको आँखामा असल मान्छे कसरी पर्नु ? आजभोलि ताजाताजा मर्नेहरुको गफ सुन्छु क्या म । यो देश बिग्रियो, खाली भ्रष्ट मात्तै सत्तामा पुगे भन्छन् । क्या हाँस उठ्छ भने । कत्ति न नयाँ बेथा लागे जस्तो । उति बेलै त्यही त थियो । 

संबित: जङ्गेले असल गर्‍यो भन्ने तपाईंको कुरा ? 

अभिकेसर: बुद्धिले भ्याएसम्म असलै गरो नि । अलि बढी बुद्धि भाको भए राजखलकै मास्दो हो । टन्टै साफ हुन्थ्यो । तर, उसले तिनलाई जोगाइदियो । बरु, जङ्गेको खलक पैले मासियो । 

संबित: भन्न खोजेको राजखलक पहिल्यै मासिनपर्थ्यो ?

अभिकेसर: मासिनु त पर्ने रछ नि आखिर ! होइन ? जङ्गे नै राजा भाको भए के हुन्थ्यो होला ! 

संबित: खै, त्यो त कसरी जान्नु ! अनि, आजभोलिको दुनियाँ कस्तो लाग्छ तपाईंलाई ? 

अभिकेसर: आ... कस्तै पनि लाग्दैन । हामी मरेका मान्छेलाई के !

संबित (मिसिरीतिर फर्किंदै): तपाईंलाई चैं कस्तो लाग्छ ? 

मिसिरी: मलाई त राम्रो लाग्छ । कति आनन्द हुन्थ्यो होला होगि, हामी पनि यो जमानामा बाँच्न पाको भए ! 

संबित: हो नि ! 

मिसिरी: बालखैमा यस्ता बूढासँग बिहे गर्नु परोस् न बच्चा जन्माउन नसकेर मर्नु परोस्, न सती जानु परोस् । हाम्रो पालामा मान्छे दुई बीस नपुगी जिब्रो टोक्थे । लामो आयु बाँचिन्थ्यो होला । पप गीत कि क्या अरे, गाइँथ्यो होला । हामी पनि पयँट लाउँथ्यौं होला ! 

मिसिरी खित्तित्त हाँस्छे । 

अभिकेसर: आ, मान्छेको ज्यान त झन् सस्तो भाको छ है अहिले । उति बेला मान्छे मार्न सेरको तरबार उचाल्नुपर्थ्यो, अहिले तोलाको गोलीले फ्याट्टफ्याट्ट ! 

मिसिरी: अँ, तिमीलाई त पुरानै जमाना ठीक लागिहाल्छ नि ! असती ! अहिले भए तिमी झ्यालखान जान्थ्यौ ।

अभिकेसर: धेर जान्ने नहो तँ, सुहाउँदैन क्या ! 

मिसिरी: ठूलो स्वर नगर है, अब तिम्रो कयसमा छैन म ।

मिसिरी र अभिकेसर गलफती गरिरहँदा संबित उठेर हिँड्छ । 

(खगेन्द्र गिरीको भर्खरै प्रकाशित भग्न प्रेमशाला कथा संग्रहमा रहेको 'खुकुरी' कथाको अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र गिरी
खगेन्द्र गिरी
लेखकबाट थप