सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन योजनाबद्ध आक्रमण थियो : एमाले नेता  आचार्य

आइतबार, ३० कात्तिक २०८२, ०९ : ४०
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • एमाले नेता नीरज आचार्यले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई योजनाबद्ध हिंसात्मक आक्रमणको रूपमा चित्रण गरे।
  • आचार्यले जेनजी आन्दोलनले नेपाली राजनीतिक संरचनामा गम्भीर असर पारेको र बाह्य शक्तिहरूको संलग्नता रहेको आरोप लगाए।
  • उनले काठमाडौंमा भएको आगजनी र तोडफोडलाई विशेष तयारी र भूराजनीतिक संलग्नताको परिणामका रूपमा व्याख्या गरे।

जाजरकोट । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख नीरज आचार्यले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई ‘स्वतःस्फूर्त युवाको अभिव्यक्ति’ नभइ, योजनाबद्ध रूपमा हाइज्याक गरिएको हिंसात्मक आक्रमणका रूपमा चित्रण गरेका छन् । 

खोटाङको सदरमुकाम खलङ्गामा शनिबार आयोजित बृहत् जनसभामा  उनले एमालेले अघि सारेको वर्तमान जनप्रदर्शनलाई प्रतिगामी षड्यन्त्रविरुद्ध संविधान, लोकतन्त्र र जनताको पक्षमा पुनः उभिन खोजिएको अभियानका रूपमा परिभाषित गर्दै देश अस्थिर बनाउन खोज्ने शक्तिहरू सक्रिय रहेको आरोप लगाए।

आचार्यका अनुसार  जेनजी आन्दोलनले नेपाली राजनीतिक संरचना, सामाजिक सम्बन्ध र शासन प्रणालीमै गम्भीर प्रभाव पारेको छ। पश्चिमी मुलुकबाट थोपारिएको ‘ जेनजी’ शब्द नै नेपाली समाजको उमेर–वर्गीकरणसँग मेल नखाने अवधारणा भएको उल्लेख गर्दै उनले सो नामले युवालाई अलग मानसिक वर्गको रूपमा उभ्याइ मनोवैज्ञानिक दूरी बढाउने काम भएको दाबी गरे। 

आन्दोलनका क्रममा फैलिएका एआई–निर्मित भिडियो, फेक अकाउन्ट, डिजिटल अपरेसन र गलत सूचनाहरू धेरैजसो बाह्य स्रोतबाट निर्मित भएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको भन्दै ती गतिविधिले आन्दोलनलाई हिंसामा धकेलेको उनको आरोप थियो।

काठमाडौँमा भएको आगजनी, तोडफोड र सरकारी–निजी सम्पत्तिमाथि भएको आक्रमण साधारण असन्तुष्ट युवाको कदम नभई ‘विशेष तयारी, रणनीति, रासायनिक प्रयोग र भूराजनीतिक संलग्नता’को परिणाम भएको आचार्यको तर्क छ। युवाको जायज माग सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जाल स्वतन्त्रता एमालेले सम्मान गर्ने स्पष्ट पार्दै उनले त्यही मागलाई दुरुपयोग गर्दै स्वार्थी तत्त्व र बाह्य प्रभावले आन्दोलनलाई हिंसात्मक मोड दिएको आरोप लगाए।

प्रतिनिधि सभा विघटन, सरकार निर्माण र वर्तमान राजनीतिक गतिरोधबारे टिप्पणी गर्दै आचार्यले अहिलेको सत्ता संरचनालाई संविधानले नचिनेको दाबी गरे। पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्नु नै संविधानको मर्म विपरीत भएको उल्लेख गर्दै दलहरूबिच सहमति बिना गरिएको प्रतिनिधि सभा विघटन लोकतान्त्रिक संरचना कमजोर पार्ने प्रयास भएको बताए। विगतमा एमाले नेतृत्वमा गरिएको विघटन अहिलेको घटनासँग तुलना गर्नै नहुने बताउँदै उनले त्यतिबेला सर्वोच्च अदालतको आदेशलाई आदरपूर्वक स्वीकार गरिएको तर अहिलेको विघटन कानुनी ढाँचाबाहिरबाट गरिएको आरोप लगाए।

चुनावको प्रसंगमा उनले एमाले डराएर भाग्ने होइन, निर्वाचन नै हुन नदिने षड्यन्त्रविरुद्ध लडिरहेको बताए। संसद् पुनर्स्थापना लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम भएको जिकिर गर्दै उनले जनतासँग मिलेर वर्तमान राजनीतिक संकट अन्त्य गर्न एमाले प्रतिबद्ध रहेको बताए।  काठमाडौँमा मंसिर ६ गते तय गरिएको विशाल जनसभाले नागरिकको खस्किएको मनोबल पुनः उठाउने विश्वास उनले व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप