शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

आइतबार, ३० कात्तिक २०८२, १६ : ३७
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • प्रहरीले काठमाडौँ, सल्यान र कैलाली लगायतका जिल्लाहरूबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।
  • काठमाडौँमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्, जसमा एक जनालाई २७२ ग्राम लागूऔषधसहित पक्राउ गरिएको थियो।
  • सल्यान, कैलाली र झापामा ब्राउन सुगरसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्, र उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, सल्यान, कैलाली लगायतका जिल्लाबाट ८ जना पक्राउ परेका हुन् । 

काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्‍तरी राजविराज नगरपालिका–६ घर भएका ३९ वर्षीय रवि आनन्द देव, भारत साउथ महेश्‍वरी हरीपुर अरारी–१८ घर भएका २३ वर्षीय राजाकुमार, भारत स्वस्तिक नगर जोगबनी अरार ७ घर भएका २१ वर्षीय देवेन्द्रकुमार साह र मोरङ पथरी शनिश्चरे नगरपालिका–८ घर भएका २९ वर्षीय पुष्‍प मगर रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले रविलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७२ ग्राम सहित काठमाडौँ महानगरपालिका(१३ पनेरू गाउँबाट बुधबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका राजाकुमार र देवेन्द्र कुमारलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ ५ सय ९२ ग्रामसहित चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गे अड्डाबाट पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेको बिआर ०७ बिई ९९७३ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले पुष्पलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्‍वरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९३ ग्राम सहित बिहीबार पक्राउ गरेको हो ।

त्यस्तै सल्यानको शारदा नगरपालिका–१ भगवती खोला बस्ने २१ वर्षीय अर्जुन बुढाथोकीलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितल पाटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

उता कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय लोकेन्द्र रावल र २७ वर्षीय दीपेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले भे.७ प ७११३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ देवी बस्तीबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्रामसहित सोही नगरपालिका–७ अन्जलीमोड बस्ने ३७ वर्षीय तरुण राजवंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप