बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कूटनीति

यूएईले अझै किन खुलाएन नेपालीलाई भिसा ?

भागेका कैदीको अवस्थाबारे विश्वस्त हुन चाहन्छ यूएई सरकार
मङ्गलबार, ०२ मङ्सिर २०८२, १५ : २८
मङ्गलबार, ०२ मङ्सिर २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि श्रम तथा भिजिट भिसामा रोक लगायो । नेपाल सरकारबाट भिसा खुलाउन प्रयास भएपनि यूएईले मानेको छैन । 

भदौ २४ को प्रदर्शनका क्रममा जेलमा रहेका कैदीसमेत भागेका थिए । तीमध्ये थुप्रै कारागार फर्किएका छैन । जेलबाट भागेका कैदी कहाँ र कुन अवस्थामा छन् भन्नेमा विश्वस्त हुन नसक्दासम्म यूएईले श्रम तथा भिजिट भिसा नदिने जानकारहरु बताउँछन् ।  

भिसा रोकिएपछि दुबई जान तयार भएर बसेका सयौं नेपाली अलमलमा छन् । यूएईको मानव संशाधन तथा इमिराती मन्त्रालयले जारी गरेको कलिङ भिसा प्राप्त नेपाली श्रमिकहरु पनि जान पाएका छैनन् । कतिपय नेपालीको सबै प्रक्रिया पूरा भइसकेपनि दुबई उड्न पाएका छैनन् । 

नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवन सिंह गुरुङले कलिङ भिसा प्राप्त ४९५ जना नेपालीको नाम परराष्ट्र मन्त्रालयमार्फत यूएई सरकारलाई जानकारी गराइसकेको भएपनि उनीहरुलाई अनुमति नदिएको बताए । 

यूएईले श्रम तथा भिजिट भिसा रोकेको आधिकारिक जानकारी नेपाल सरकारलाई आएको छैन । विभिन्न माध्यमबाट आएको जानकारीका आधारमा त्यसलाई खुलाउन पहल थालेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव पिताम्बर घिमिरेले यूएई सरकारबाट भिसा रोकेको विषयमा कुनै आधिकारिक जानकारी नआएको बताए । यद्यपि सञ्चारमाध्यम लगायत अन्य संघ संस्थामार्फत पाएको जानकारीको आधारमा आफूहरुले पनि त्यसको बारेमा चासो लिन थालेको बताए । 

नेपाल वैदेशिक रोजगार व्यवसाय संघले लिखित रुपमै जानकारी गराएको छ । त्यसको आधारमा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको बताए । ‘परराष्ट्र मन्त्रालयलाई लिखित पत्र नै पठाउने तयारीमा छौं, त्यसअघि विभिन्न संवादहरु भइरहेको छ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालय र नेपालीस्थित यूएई दूतावाससँग कुराकानी भइरहेको छ, कुरा सकारात्मकतातिर गइरहेको छ ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पनि विभिन्न सरोकारवाला निकायसँग यस विषयमा कुराकानी भइरहेको बताए । यूएई दूतावाससँग कुराकानी भइरहेको र चाँडै निकास निस्किनेमा विश्वस्त रहेको उनले बताए । 

यूएईका सातवटा इमिरेट्स (प्रान्त) मध्ये दुबईमा सबैभन्दा बढी नेपाली श्रम र भ्रमणका लागि जाने गरेका छन् । शारजाह इमिरेट्सले आवश्यक कागजातसहित भिसा शुल्क बाहेक करिब ४० हजार नेपाली रुपैयाँ धितो राखेर भिसा दिनसक्ने व्यवस्था गरेको छ । ‘तर भिजिट भिसामा पुगेर कामदार भिसामा परिवर्तन गर्न मिल्दैन । यूएईका अन्य इमिरेट्सले भने भिजिट भिसालाई कडाइ कायमै राखेका छन्,’ एनआरएनए यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले भने । भिजिट भिसामा ठगिन सक्ने भन्दै दलालको प्रलोभनमा नपर्न उनको आग्रह छ ।

असोजको सुरुवातदेखि यूएईले भिसामा समस्या देखिन थालेको मल्लले बताए । अहिले श्रम भिसा ठप्पप्राय: छ भने भिजिट भिसा पनि शारजाहले नै पनि दिन्छ भन्ने निश्चित नरहेको उनको भनाइ छ । 

नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष गुरुङ यूएईको एउटै चिन्ता कारागारबाट भागेका कैदीबारे विश्वस्त हुनु रहेको बताउँछन् । ‘जेलबाट यति जना भागेका छन्, यति जना जेल फर्किसके बाँकी कति जना छन् भनेर उनीहरुको नाम पहिचान उपलब्ध गराएमा थोरै भएपनि विश्वस्त हुने अवस्था हुनसक्छ,’ उनले भने ।  

जेलबाट भागेकामध्ये कसैको पासपोर्ट भएमा रद्द गर्नुपर्ने र सरकारले आधिकारिक रुपमा त्यसलाई सार्वजनिक गर्नुपर्ने गुरुङले बताए । 

‘भागेकाहरुको नाम इन्टरपोललाई दिनुपर्‍यो । यति गरेपछि यूएई विश्वस्त हुनसक्छ,’ गुरुङले भने । श्रम स्वीकृति पाउने १५१ गन्तव्य देशमध्ये यूएई जाने नेपाली श्रमिकको संख्या सबैभन्दा बढी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप