कामविहीन शिक्षक !
सारांश
- दोलखाको भीमेश्वर नगरपालिकाका केही विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षकको संख्या बढी हुँदा शिक्षकहरू कामविहीन भएका छन्।
- विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्न नसक्दा शिक्षकहरू हाजिर गरेर दिन कटाउन बाध्य छन्।
- नगरपालिकाले शिक्षक दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा सरोकारवालासँग छलफल गरी ठोस निर्णय लिने जनाएको छ।
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।
विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको विद्यालयमा गाभ्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसक्दा नगरपालिकाभित्रकै केही विद्यालयमा समस्या देखिएको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष माधव थामीले बताए ।
विद्यार्थीको अभावमा विद्यालय ‘मर्ज’ गर्ने नीति कार्यान्वयन गर्न नसक्दा बिसुनटोल आधारभूत विद्यालय, लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविका शिक्षक हाजिर गरेर दिन कटाउन विवश छन् ।
तीन शिक्षक कार्यरत रहेको भुमरेडाँडा प्राविमा अहिले दुई विद्यार्थी मात्र अध्ययनरत छन् । जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरू कामविहीन हुन पुगेको स्थानीय समाजसेवीको भनाइ छ ।
सो नगरपालिकाको पृथ्वीनारायण आधारभूत विद्यालय र महाङ्काल आधारभूत विद्यालयमा पनि विद्यार्थीको अनुपातमा शिक्षक बढी देखिन्छ ।
त्यस्तै महेन्द्रोदय माविमा पनि विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक बढी भएकाले पढाउन पाउने अधिकारबाट शिक्षकहरू वञ्चित हुन पुगेका छन् ।
क्रमशः विद्यार्थी घट्दै जाँदा सो विद्यालयमा अहिले २६ शिक्षक र ५० को हाराहारीमा विद्यार्थी रहेको देखिन्छ । यसैगरी सबै माविमा पनि पढ्नेभन्दा पढाउनेको सङ्ख्या धेरै हुँदा शिक्षक कामविहीन हुन पुगेका छन् ।
यसै सन्दर्भमा भीमेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले विद्यार्थी सङ्ख्या ‘नील’ भए मात्र विद्यालय गाभ्ने व्यवस्था रहेको र नियमित रूपमा विद्यालय नआए पनि अति कम विद्यार्थी भएका विद्यालयको अभिलेखमा भने विद्यार्थी सङ्ख्या उल्लेख्य देखिने गरेकाले सोचेअनुसार समस्या सम्बोधन गर्न कठिन भएको बताए ।
उनले न्यून विद्यार्थी भएका तथा शिक्षक विद्यार्थी अनुपात नमिलेका विद्यालयको सन्दर्भमा प्राप्त गुनासाहरू सम्बोधन गर्न नगरपालिकाले यथाशक्य छिटो सरोकारवाला सम्मिलित बैठक राखी ठोस निर्णय गर्न लागेको जानकारी दिए ।
शाखा प्रमुख कार्कीका अनुसार पालिकाको एकीकृत विद्यालय सूचना प्रणाली (इएमआइएस)मा विद्यार्थी देखिए पनि ‘फिल्ड’मा त्यस्तो नभएको भन्ने सन्दर्भमा स्थलगत अनुगमनसहित वास्तविकता यकिन गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ पालिकाभित्रका कम विद्यार्थी रहेका विद्यालय एकापसमा गाभ्ने र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नेलगायतका विषय टुङ्ग्याउने पक्षमा पालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण