'प्रहरीको मनोबल उठाउँदै छौँ, निर्वाचनको ६० प्रतिशत तयारी पूरा भयो'
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग छलफल गर्दै वर्तमान अवस्था, सरकारको उद्देश्य र भावी योजनाबारे प्रस्ट पारेकी छिन्।
- उनले निर्वाचन गराउन आएको र नयाँ पुस्तालाई देश सुम्पिन चाहेको बताइन्, साथै निष्पक्ष निर्वाचनको प्रतिबद्धता व्यक्त गरिन्।
- कार्कीले भ्रष्टाचार, निराशा र जनआक्रोशका कारण ठुलो घटना भएको स्वीकार गर्दै निर्वाचनपछि मात्र धन्यवाद दिन आग्रह गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँगको छलफलमा देशको वर्तमान अवस्था, सरकारको उद्देश्य र भावी योजनाबारे स्पष्ट पारेकी छन् ।
१२५ मध्ये ११० भन्दा बढी दलको उपस्थिति रहेको भेलामा उनले विगतको निराशा, भ्रष्टाचार र जनआक्रोशका कारण ठुलो घटना भएको स्विकारिन् । 'जेनजीहरू एकदमै उग्र र आक्रोशित थिए। आक्रोश सुन्ने र मत्थर पार्ने नै हाम्रो पहिलो प्राथमिकता रह्यो, जसले सडकमा जानबाट रोक्यौँ,' उनले भनिन् ।
कार्कीले आफूहरू कुनै राजनीतिक अनुभव भएका व्यक्ति नभई न्यायाधीश र वकिलको पेसागत पृष्ठभूमिका भए पनि देशको यो दुर्गति भएका बेला राष्ट्र र निर्दोष बालबालिकाको मायाले आएको बताइन् । 'हामी निर्वाचन गराउनै आएका हौँ । नयाँ पुस्ताको हातमा जाओस् यो देश,' उनले भनिन्। उनले कुलमान घिसिङ र महावीर पुनजस्ता व्यक्तिलाई सरकारमा ल्याएको उदाहरण दिँदै प्रहरीको मनोबल उठाउन काम भइरहेको र हिजो नेताका घरमा भाँडा माझ्न राखिएका प्रहरी फिर्ता गरिएको जानकारी दिइन् ।
निर्वाचन आयोगले ६० प्रतिशत तयारी पूरा गरिसकेको बताउँदै उनले निष्पक्ष र न्यूनतम खर्चमा चुनाव गराउने सरकारको प्रतिबद्धता व्यक्त गरिन् । 'लुटिएका ८२१ हतियार फिर्ता भइसकेका छन् भने ७ हजार कैदीबन्दी नियन्त्रणमा आइसकेका छन्,' कार्कीले भनिन् ।
उनले अख्तियार र सीआईबीले अनुसन्धान तीव्र बनाएको तर प्रक्रियागत चरणहरू पार गर्न समय लाग्ने पनि उल्लेख गरिन् । उनले आफूलाई अहिले प्रशंसा नचाहिने र निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि मात्र धन्यवाद दिन आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक समापनमा दिएको समापन मन्तव्य
हामीले दललाई बोलाएका थियौँ। यहाँहरू आइदिनुभयो। पुनः धन्यवाद दिन चाहन्छु। यहाँहरूले नै पनि एकापसमा चिन्ने चिनिने मौका पाउनुभयो भन्ने पनि लागेको छ।
१२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थिति यहाँ छ। अहिलेसम्म ५६ जनाले बोल्नुभयो। सबैको कुरा मैले भ्याएसम्म टिपेकी छु। यस्तो भेला पहिला नै पनि गरौँ भन्ने लागेको थियो। तर अन्य कार्यव्यस्तता र वातावरण मिलाउँदा आजको दिन जुर्यो।
सुरुमा त दलहरूलाई भेट्ने अवस्था नै थिएन। जेनजीहरू एकदमै उग्र र आक्रोशित थिए। आक्रोश हुनु स्वाभाविक पनि थियो। आन्दोलनकारी, घाइते र सहिद परिवारका कुरा सुन्यौँ। उहाँहरूको आक्रोश सुन्ने र मत्थर पार्ने नै हाम्रो पहिलो प्राथमिकता रह्यो। त्यो आक्रोश सुन्नका निम्ति हामीले पर्याप्त समय नदिएको भए फेरि सडकमा पोखिन सक्थ्यो। सडकमा जानबाट रोक्यौँ।
हामी राजनीतिक अनुभव भएका कोही थिनौँ। कोही न्यायाधीश कोही वकिल । आआफ्नो पेसागत क्षेत्रको मात्र अनुभव हामीसँग थियो। हठात् रुपमा यहाँ आयौँ । हाम्रा बालबालिका यसरी मारिए, जुन अहिले सम्झिँदा पनि मन थाम्न गाह्रो हुन्छ। भर्खरको पढिरहेको बच्चाको टाउकोमा, छातीमा गोली लागेको छ। परिवारको सहारा गुमेको छ। घरको दियो निभेको छ। भर्खर २० वर्षकी दुलहीले श्रीमान् गुमाएकी छन्। दुई वर्षकी छोरीले बाबु खोजिरहेको छन्। यस्तो अवस्था आउला भन्ने कसले कहिले सोचेको थियो ररु कहिल्यै नहुने काम भयो। अब कहिल्यै नहोस् पनि। यस्तो हृदयविदारक घटना पुनः नघटोस्।
यति ठूलो घटना किन भयो तरु यहाँ उकुसमुकुस थियो। भ्रष्टाचार थियो। निराशा थियो। आक्रोश थियो। त्यो विष्फोट भयो। छताछुल्ल भयो।
अब यसलाई सम्हाल्नुपर्छ। सम्हालिनुपर्छ।
हामी पनि सम्हाल्न भनेरै आएका हौँ। राष्ट्र सम्झेर आएका हौँ। देशको अवस्था देखेर आएका हौँ। ती निर्दोष बच्चाको माया लागेर आएका हौँ। हामी लागेर देश जोगाउन सक्छौँ कि भनेर यो अफ्ठ्यारो परिस्थितिमा आएका हौँ। हामी गाडी चढ्ने रहरले वा कुनै सुविधा पाउने लोभले आएका होइनौँ। खासमा भन्दा म प्रधानमन्त्री हुँ भन्ने अनुभूति पनि छैन। गौरव पनि छैन। देशको यो दुर्गति भएका बेला मुलुक, धर्म र इमान सम्झेर केही बचाउन सकिन्छ कि भनेर आएका हौँ। यो समाज बिथोलिएको अवस्थामा केही जोड्न सकिन्छ कि भनेर आएका हौँ।
हामीले सरकारमा कस्ता व्यक्ति ल्यायौँ त्यो पनि हेर्नुहोस्। जो जिन्दगीभर अपहेलित भए हिजो। कुलमान घिसिङ काम गर्दागर्दै अपहेलिन हुनुभयो। महावीर पुन पुस्तक बेच्दाबेच्दै आउनुभयो। मैले ८ र अरु मन्त्रीजीहरूले पनि तीन(चार मन्त्रालय बोकेर हिँडेका छौँ। राति १ बजेसम्म पनि काम गरेर पनि बसेका छौँ।
हामी निर्वाचन गराउनै आएका हौँ। हामी चाहन्छौँ नयाँ पुस्ताको हातमा जाओस् यो देश। केही भिजन भएको मान्छेले सम्हालिदेओस् यो देश। हिजोका सबै भ्रष्टाचारी फटाहा भन्न खोजेको होइन। तर अब निष्पक्ष निर्वाचनमार्फत बिनापैसा, न्यूनतम खर्चमा, उम्मेदवार चयन हुन सकोस्। कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ।
मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु। म चुनाव लड्दिनँ। चुनाव लड्न आएको पनि होइन। हामी गाडी चढ्न र रमाइलो गर्न पनि आएका होइनौँ। महात्मा गान्धीले सादा वेशमै सडकमा निस्केर बाटो देखाउनुभयो। नेल्सन मन्डेलाले पनि देश सम्झेर गरेको त्याग विश्वले देखेको छ। हामी त्यो तहमा नहौँला तर हामीमा देशप्रति एउटा भावनामा छ, माया छ, चिन्ता पनि छ। त्यसैले हामीलाई केही नगरी बस्न दिएको छैन।
निर्वाचनको ६० प्रतिशत तयारी पूरा भइसक्यो भनेर निर्वाचन आयोगले नै भनिसकेको छ। हामी यहाँ आएको ३ दिनपछि नै निर्वाचनको काम सुरु गरिसकेका हौँ। आयोगसँग सम्पूर्ण साधन छन्। हामीले कुनै कमी हुन दिएका छैनौँ। चुनाव हुन्छ भन्नेमा हामी ढुक्क छौँ।
लुटिएका ८२१ हतियार फिर्ता भइसके। ७ हजार कैदीबन्दी नियन्त्रणमा आइसके।
प्रहरीमा नयाँ नेतृत्व आइसकेको छ र एक्सनमा जाने अवस्था छ। प्रहरीको मनोबल हामीले २ महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरु बन्दोबस्तीका सामान हामीले नदिएका हैनौँ। गृह र अर्थ मन्त्रालयमा फाइल हामीले अड्काएका होइनौँ। बरु हामीले फटाफट काम अघि बढाएका छौँ।
नेता र तिनका आफन्त नातेदारहरूका घरमा घरमा भाँडा माझ्न पनि प्रहरी राखिएका थिए हिजो। तिनलाई फिर्ता गरेका छौँ। अब भन्नुहोस् मनोबल कसले घटायो र बढायो ?
३५ वर्षमा घटाइएको मनोबल एकपछि अर्को गरी उठाउँदै छौँ हामी। सम्पूर्ण साधन पनि जुटाउँदै छौँ। प्रत्येक प्रहरी कर्मचारीको शिर उठाउने र तिनले गर्व गर्न सक्ने संगठन होस् भनेर हामी निर्णयहरू गर्दै छौँ।
हामीलाई प्रशंसा चाहिएको छैन। अहिले धन्यवाद पनि चाहिएको छैन। हाम्रा राम्रा कुरा लेखिदिएनन् भनेर पत्रिकाहरूसँग गुनासो पनि छैन। भर्खरै कान्तिपुरले वायु सेवा निगममा बिनाप्रतिस्पर्धा अध्यक्ष नियुक्त गर्यो भनेर झुट लेख्यो। हामीले त्यहाँ नियुक्ति नै गरेका छैनौँ। भइरहेकै सञ्चालक समितिबाट चलाउन खोज्यौँ। आलोचना नगरी पत्रिका बिक्दैन। त्यसमा मेरो भन्नु केही छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग हामी सम्पर्कमै छौँ। प्रत्येक दिन कति प्रगति भयो भनेर सोधिरहेको छु। सीआईबी र अन्य निकायले पनि अनुसन्धान तीव्र रुपमा अघि बढाएका छन्। तर यी गम्भीर अपराधको अनुसन्धानमा समय लाग्छ। नतिजामा पुग्नुअघि थुप्रै प्रक्रियागत चरण गुजार्नुपर्ने हुन्छ।
निर्वाचन आयोगमा पनि तीनजना आयुक्त हुनुहुन्छ। उहाँहरू पनि रातिदिन खटिरहनुभएको छ।
मैले सरकारी काम कारबाही प्रायः सिंहदरबारमै गर्छु। निर्णयहरू सिंहदरबारमै हुन्छ। विदेशीसँग भेटघाट पनि सिंहदरबारमै परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा मात्र गरेकी छु। बालुवाटार वा अन्यत्र गोप्य रुपमा विदेशीसँग भेटघाट भएको छैन। त्यो मेरो नेचर पनि होइन।
काम गर्दा नियम कानुन मिचिन्छ कि भनी पाइला(पाइलामा हामी सतर्क हुन्छौँ। नभएका आरोप लगाएर दोष दिँदा आनन्द त आउला तर यो समयमा त्यस्ता कार्यको असर के हुन्छ भनेर हेर्नुपर्ला।
हामीलाई अहिले धन्यवाद दिनुपर्दैन। जुन दिन निर्वाचन होला, त्यसैको भोलिपल्ट धन्यवाद दिनुहोला।
योभन्दा बढी के बोल्नु ?
सेवारो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण