बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज फुलबारी लीला

शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : ४३
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • जनकपुरधाममा रामजानकी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फुलबारी लीला मनाइयो।
  • फुलबारीमा राम र सीताको स्वरूप बनाई बालबालिकाहरूलाई घुमाउने चलन रहेको छ, जहाँ उनीहरूको पहिलो भेट भएको थियो।
  • यो महोत्सव नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धको रूपमा मनाइन्छ, जसमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ।

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन आज शुक्रबार फुलबारी लीला मनाइँदैछ । जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डपमा रहेको फुलबारीमा भगवान राम र सीताको स्वरूप बनाई बालबालिकाहरूलाई उक्त फुलबारीमा घुमाउने चलन रहेको छ ।

रामायणमा फुलबारीमै राम र सीताबिच पहिलो भेट भएको उल्लेख छ । साथै फुलबारीमै राम र सीता एक अर्काप्रति आकर्षित भएको र जानकीले आफूलाई रामजस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ ।

यसअघि मङ्गलवार नगर दर्शन कार्यक्रम सम्पन्न भएको थियो । त्रेता युगमै भारत अयोध्याका राजा दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबिच वैवाहिक सम्बन्धमा बाँधिएको सम्झनामा प्रत्येक वर्ष मङ्सिर शुल्क पञ्चमीमा जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाइन्छ । महोत्सवलाई नेपाल–भारतबिचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।

महोत्सवको तेस्रो दिन शनिबार धनुष यज्ञ, चौथो दिन आइतबार तिलकोत्सव, पाँचौँ दिन सोमबार मटकोर र मङ्सिर ९ विवाहपञ्चमीको आकर्षण मानिएको दिउँसो रामसिता स्वयंवर तथा राति विवाह कार्यक्रम हुनेछ ।

त्यसैगरी मङ्सिर १० गते अर्थात् महोत्सवको अन्तिम दिन अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तहरुलाई सामूहिक रूपमा भोजन गराई बिदाइ गर्ने कार्यक्रम रहेको छ । त्यसलाई रामकलेवा भनिन्छ । रामकलेवा पश्चात् महोत्सव विधिवत् रूपमा सम्पन्न हुने गरेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप