आज म तिम्रो प्रेम फिर्ता गर्न आएको छु
सारांश
- कविले प्रेममा धोका पाएको र प्रेम फिर्ता गर्न चाहेको कुरा व्यक्त गर्दछन्।
- कविले आफ्नो पुरानो प्रेम र त्यसका अनुभवहरूलाई सम्झन्छन्।
- कविले प्रेमको ऋण तिर्न र मुक्त हुन चाहेको कुरा बताउँछन्।
एकैछिन पर्ख न
केही फर्काउनु छ
केही सुनाउनु छ
केही सुन्नु पनि छ
पर्ख न एकैछिन,
त्यसदिन मुख फुलाएर
तिमी हिँडेपछि कस्तो कस्तो
नियाँस्रो जस्तो, खल्लो खल्लो,
निस्तो निस्तो लागिरह्यो ।
पैतालाले जमिनको भर छाड्यो
पाउ थरर काँपे
मुख पनि सुकेर अँगार जस्तै कोक्यायो
तिम्रो पार्थिव प्रेमको पोको मभरि झुन्डिएको हेर्दै
म थचक्क बसेँ,
पतझडका दिन बनेर तिमी त गइसकेकी थियौ ।
हिसाब किताब गर्दा तिन वर्ष सात महिना तेह्र दिन
तिमीले मलाई प्रेम गरिछ्यौ
यसमा तिमी त्यसदिन गमक्क परेर फर्किएपछिका दिनपनि
अटेका छन् ।
अब मलाई यो सबै चाहिएन
काँडामाझ फलेको ऐँसेलु जस्तो
कटुसको रुखमुनिको छहारी जस्तो
तिम्रो प्रेमको सङ्क्रमण मलाई चाहिएन ।
ती वर्ष महिना र दिन मलाई देऊ
उतिनै समयभित्र तिम्रो प्रेम चुक्ता गरेर फर्किने छु
आज म तिम्रो प्रेम फिर्ता गर्न आएको छु ।
अब मलाई चाहिएन
गुड्नै नपाई चेन खसिहाल्ने नयाँ साइकल जस्तो
लेख्दा लेख्दै गेडी खस्ने कलमको निभ जस्तो
लिप्दा लिप्दै उप्किने मझेरीको रातो माटो जस्तो
तिम्रो प्रेम मलाई चाहिएन ।
तीन वर्ष सात महिना र तेह्र दिन मलाई देऊ
सावाँ र ब्याज सहित तिम्रो प्रेम चुक्ता गरेर फर्किने छु
आज म तिम्रो प्रेम फिर्ता गर्न आएको छु ।
एकैछिन पर्ख न
तिम्रो प्रेमको ऋणले
म थिचिएको छु
म घर न घाटको भएको छु
न जोगी बन्न सक्छु, न त गृहस्थी गर्न सक्छु
ठन्डी शीतलहरमा
काँपेका बालखका ओठ जस्तो
तिम्रो प्रेम चुक्ता गर्न आएको छु
आज म तिम्रो प्रेम फिर्ता गर्न आएको छु ।
तिमी जानु भन्दा पहिलै निकै टाढा पुगिसकेकी थियौ
हाम्रो सम्बन्ध चिसिनु भन्दा पहिलै प्रशस्त सेलाइसकेको थियो
एकपलमा सकिने– प्रेम हृदयाघात जस्तो हुँदैन
तिम्रो प्रेमको मृत्यु भन्दा निकै पहिला दाहसंस्कार भइसकेको थियो
आज म तिम्रो प्रेमको अस्तु लिएर आएको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण