बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुँदै

आइतबार, ०७ मङ्सिर २०८२, १३ : ३७
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • जुम्लाका छ स्थानीय तहमा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सुरु हुने भएको छ।
  • यो कार्यक्रम सात वर्षसम्म चल्नेछ र यसबाट किसान, उद्यमी र उपभोक्तालाई फाइदा हुनेछ।
  • स्थानीय बालीको संरक्षण र किसानलाई कृषिमा आकर्षित गर्ने लक्ष्य राखिएको छ।

जुम्ला । जुम्लाको आठमध्ये ६ वटा स्थानीय तहमा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको चन्दननाथ नगरपालिकासहित पातारासी, तीला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा सात वर्षसम्म कृषि क्षेत्रमा काम गर्नेगरी सो कार्यक्रम सञ्चालन हुन लागेको कार्यालय प्रमुख सन्तोष भारतीले जानकारी दिए ।

उनका अनुसार विशेष परियोजनाका रुपमा सञ्चालन हुने सो कार्यक्रमबाट स्थानीय किसानदेखि कृषि उद्यमी र आमउपभोक्ता लाभान्वित हुनेछन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जुम्लाको खाद्यबाली, दलहन, तरकारी,फलफूल, पशुपालन, दुग्धजन्य पदार्थको विकास एवं विस्तारका क्षेत्रमा सहयोग र सहकार्यको अवधारणाबमोजिम किसान तथा कृषि उद्यमी र आमउपभोक्तालाई लाभान्वित तुल्याउँदै जुम्ली जनताको जीवनस्तर सुधारका पक्षमा परियोजना सञ्चालन गरी काम गर्न लागेको स्पष्ट पारेको छ ।

कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शर्माले बाँझिएका जग्गाको सदुपयोग, कृषि उत्पादकत्व वृद्धि, उत्पादित कृषिजन्य वस्तुको बजार व्यवस्थापन, स्याउलगायत स्थानीय फसलको संरक्षण र सम्वद्र्धनसहित आमकृषकलाई कृषि क्षेत्रमा आकर्षण गर्न उच्च मुल्य कृषि वस्तु उत्थानशील कार्यक्रम सफल हुने जानकारी दिए ।

यसै सन्दर्भमा जुम्लास्थित कृषकसम्बद्ध विभिन्न सङ्घ, सङ्गठन र अगुवा कृषकले परियोजना सञ्चालन हुन लागेकामा खुसी व्यक्त गर्दै समग्र कृषि क्षेत्रको विकासमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप