बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बेथिति

बञ्चरेडाँडामा लिच्चडको समस्या ज्यूँका त्यूँ

बुधबार, १० मङ्सिर २०८२, १७ : ५४
बुधबार, १० मङ्सिर २०८२

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लिच्चड (फोहोरबाट निस्कने विषाक्त तरल पदार्थ) को समस्या अझै समाधान हुन सकेको छैन । फोहोर व्यवस्थापन र प्रभावित क्षेत्रका माग सम्बोधन गर्न सरकारी पक्ष र स्थानीयबिच सहमति भए पनि लिच्चडको व्यवस्थापन भने अझै हुन नसकेको हो ।

रातोपाटीसँगको कुराकानीमा स्थानीय प्रतिनिधिले दिएको जानकारी अनुसार बञ्चरेडाँडामा लिच्चड निरन्तर बगिरहेको छ । यसको व्यवस्थापन राम्ररी हुन सकेको छैन । 

‘सहमति कागजमा मात्रै, काम भएन’

स्थानीयबासीको आन्दोलनपछि मंसिर ४ गते लिच्चड व्यवस्थापन र स्थानीयका मागका विषयमा सरकारसँग सम्झौता भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ । स्थानीय प्रतिनिधिका अनुसार हालै एक प्राविधिक टोलीले अनौपचारिक रूपमा साइटको निरीक्षण गरेको थियो । उक्त टोलीले सरकारले स्रोत साधन उपलब्ध गराए काम गर्न सकिने बताएपनि आधिकारिक रूपमा काम अघि बढेको छैन ।

‘फोहोर व्यवस्थापन र लिच्चड नियन्त्रण गर्ने भनिएपनि ती कुरा कागजमा मात्र सीमित भए’ स्थानीय विश्वास ढुंगानाले भने, ‘अहिले पनि लिच्चड बगिरहेकै छ, सम्झौता अनुसार काम सुरु भएकै छैन ।’

काठमाडौं महानगरपालिकाले यो विषयमा सहरी विकास मन्त्रालयसँग मिलेर काम गर्नुपर्ने बताएको छ । ‘आजको भोलि नै लिच्चडको ठाउँमा सफा पानी त बग्दैन, यसका लागि ठुलो खर्च र समय पनि लाग्छ । त्यसका लागि काम भइरहेकै पनि छ,’ महानगरकी वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ।

कार्यदल र प्रतिवेदनको तयारी

सहरी विकास मन्त्रालयका एक कर्मचारीका अनुसार सम्झौता कार्यान्वयनको अवस्था र अबको बाटो तय गर्न विज्ञहरूसहितको एक कार्यदल (समिति) बनाउने तयारी गरिएको छ । उक्त कार्यदलले विगतका सम्झौताहरू समेतलाई समेटेर स्थानीय एउटा विस्तृत प्रतिवेदन तयार पार्नेछ ।

उक्त प्रतिवेदनले फोहोर व्यवस्थापनका विषयमा मन्त्रीस्तरबाट निर्णय गर्ने कि मन्त्रिपरिषद्बाटै टुंगो लगाउने भन्ने निर्क्योल गर्ने हुन्छ । यसका लागि मन्त्रालयले महानगरलाई र महानगरपालिकाले स्थानीय प्रतिनिधिलाई पत्र पठाएको छ । अब छिट्टै बैठक बसेर प्रतिवेदन तयार पारिने स्थानीय विश्वास ढुंगानाले बताए ।
 
ढुंगानाले सम्झौता अनुसार एक महिना  भित्र जग्गा नापजाँच, बालीनालीको क्षतिपूर्ति लगायतका विषय टुंगो लगाउनुपर्ने भनिए पनि अहिलेसम्म प्रक्रिया सुरु नभएकोमा स्थानीयले आशंका व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप