अध्ययन प्रतिवेदन प्रत्यायोजित समितिलाई बुझाइयो
सारांश
- अध्यागमन क्षेत्रमा विवेकाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम रहेको निष्कर्ष सहितको प्रतिवेदन बुझाइयो।
- डा. खिमलाल देवकोटाले अध्यागमन ऐन, नियमावली र भिजिट भिसा सम्बन्धी समस्या समेटिएको प्रतिवेदन बुझाए।
- प्रतिवेदनले ऐनले नदिएको अधिकार नियमावलीले विस्तार गरेको र कार्यपालिकाको विवेकमा छाडिएको कुरा औंल्याएको छ।
काठमाडौँ । अध्यागमन क्षेत्रमा अत्यधिक विवेकाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम उच्च रहेको निष्कर्षसहितको प्रतिवेदन राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिलाई बुझाइएको छ ।
संविधानसभा सदस्य डा खिमलाल देवकोटाले अध्यागन ऐन–नियमावलीदेखि भिजिट भिसासम्मका समस्या समेटिएको ७५ पृष्ठको उक्त प्रतिवेदन आज समितिको सभापति मायाप्रसाद शर्मालाई हस्तान्तरण गरे ।
नौ अध्यायमा विभाजित ‘अध्यागन ऐन, २०४९ अध्ययन प्रतिवेदन’ले अध्यागमन ऐन २०४९, नियमावली २०५१, विभिन्न कार्यविधि–निर्देशिका र भिजिट भिसा विवादसम्बन्धी विषयको विस्तृत अध्ययन गरेको छ ।
प्रतिवेदनले अध्यागमन क्षेत्रमा अत्यधिक विवेकाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा ऐनले नदिएको अधिकार नियमावलीले विस्तार गरेको र संवेदनशील विषय कार्यपालिकाको विवेकमा छाडिएको उल्लेख छ । जसले गर्दा मनोमानी, असमानता र दुरुपयोगको सम्भावना बढाएको निष्कर्षमा भनिएको छ ।
भिजिट भिसा विवादमा पनि संरचनात्मक कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ । अचानक नीतिगत परिवर्तन, अध्यागमन अधिकृतको अत्यधिक विवेकाधिकार, पुरानो प्रविधि र दलाल नेटवर्कको प्रभावले समस्या बढाएको निष्कर्ष छ । यसले अन्तरराष्ट्रिय छवि, श्रम बजार, मानव तस्करी रोकथाम र नागरिक अधिकारमा नकारात्मक असर परेको छ ।
प्रतिवेदनले कार्यविधि, निर्देशिका र परिपत्रहरू कानुनी सीमाभन्दा बाहिर गएको भन्दै ऐन नियमावलीबीचको भिन्नता मिलाउन विधायन ऐनअनुसार आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिइएको छ ।
“भिसा वर्गीकरण, सर्त थप्ने, शुल्क निर्धारण गर्नेजस्ता प्रावधान समावेश गरिएको पाइएको छ । जुन ऐनले दिएको अधिकारभन्दा बाहिरको हो”, प्रतिवेदनको निष्कर्ष सुनाउँदै डा देवकोटाले भने, “अध्यागमन अधिकृतलाई कार्यविधि निर्देशिकाले शङ्का लागेमा सोधपुछ गर्नसक्ने भनेर त्यो विवेक प्रयोग गर्ने अधिकार दिएको छ । त्यसको दुरुपयोग भएको छ ।”
कार्यपालिकालाई दिइएको उच्च विवेकाधिकार कमजोर संसदीय निगरानी, सार्वजनिक परामर्शको अभाव, आधुनिक प्रविधि र अन्तरराष्ट्रिय मापदण्डको पालनामा सक्षमताको अभावले व्यवहारमा मनोमानी असमानता र दुरुपयोगको जोखिम बढेको अध्ययनले देखाएको हो ।
अध्यागमन ऐन र प्रत्यायोजित विधानको विश्लेषणको उदेश्यसहित तयार गरिएको प्रतिवेदन तयार गरिएको हो । सभापतिका सचिव सञ्जय दाहालले प्रतिवेदनमाथि समितिमा दफावार छलफलपछि मात्र सरकारलाई हस्तान्तरण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण