बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
एनआरएनए

सिंहदरबारमा एनआरएनएको एकता घोषणा, बालुवाटारमा दुई कुर्सी !

शुक्रबार, १२ मङ्सिर २०८२, १२ : ११
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ४ वर्षको आन्तरिक विवादपछि एकजुट हुने भएको छ।
  • एनआरएनएका बद्री केसी र महेश श्रेष्ठ समूहबीचको सहमति आइतबार प्रधानमन्त्रीको रोहबरमा घोषणा हुनेछ।
  • दुवै पक्षले एकअर्काको अस्तित्व स्वीकार्दै आगामी फागुन मसान्तभित्र निर्वाचन गर्ने सहमति भएको छ।

काठमाडौँ । ४ वर्षदेखि आन्तरिक विवाद र विभाजनमा रुमल्लिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः एकजुट हुने भएको छ । एनआरएनएको बद्री केसी र  महेश श्रेष्ठ समूहसहित अन्य सरोकारवालाहरूको लामो बैठकपछि एकता गर्ने सहमति जुटेको हो । 

सहमति जुटेसँगै आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एकता घोषणा गर्ने तयारी भएको एनआरएनएका नेताहरूले बताएका छन् । जसका लागि सिंहदरबारमा आइतबार विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

सहमति अनुसार दुवै पक्षले एक–अर्काको अस्तित्व स्वीकार गर्ने भएका छन्। यसअघि सम्पन्न ११औँ महाधिवेशन (बद्री केसी पक्ष) र मे ३–४ मा भएको विशेष महाधिवेशन (महेश श्रेष्ठ पक्ष) दुवैको अपनत्व ग्रहण गर्दै अब हुने १२औँ महाधिवेशन संयुक्त रूपमा गर्ने सहमति भएको केसी पक्षका उपाध्यक्ष रामशरण सिम्खडाले रातोपाटीलाई बताए । 

उनका अनुसार महाधिवेशन गर्न ११ सदस्यीय उच्चस्तरीय ‘स्टेयरिङ कमिटी’ गठन गरिने भएको छ। यो समिति नै संघको सर्वोच्च निकाय हुनेछ। यसले दुवै पक्षका पूर्ववत कार्यसमितिहरूको कानुनी अड्चनलाई हल गर्दै कार्यसम्पादन गर्नेछ। सो कमिटीले प्रतिनिधि छनोट, निर्वाचन अनुगमन, सुपरिवेक्षण र विधान व्याख्या लगायतका विषयमा उप–समितिहरू गठन गर्नेछ।

दुई संयोजक रहने

संघको नेतृत्वका लागि दुईजना संयोजक रहने व्यवस्था गरिएको छ। जसअनुसार केसी र श्रेष्ठ दुबै महाधिवेशनसम्म संयोजक रहनेछन् । एनआरएनएको बालुवाटारस्थित सचिवालयमा दुवै संयोजकका लागि एउटै कोठामा दुईवटा कुर्सी राखेर कार्य सञ्चालन गर्ने तयारी भइरहेको एनआरएनएका अर्का एक् नेताले बताए । 

फागुन मसान्तभित्र निर्वाचन

सहमति अनुसार आगामी फेब्रुअरी (फागुन) को अन्तिमसम्ममा निर्वाचन सम्पन्न गरिसक्ने समयसीमा तोकिएको छ। विदेशका एनसीसीहरुमा पनि एकताको प्रयास गरिने र केन्द्रमा सदस्यता विवरण एकीकरण गरिनेछ। विभिन्न देशका एनसीसीहरूले केन्द्रमा पठाएको शुल्कको अनुपातमा महाधिवेशन प्रतिनिधि छनोट गरिने सहमति भएको छ।

सिंहदरबारमा औपचारिक घोषणा

सबै सहमतिलाई औपचारिकता दिन प्रधानमन्त्रीको रोहवरमा सिंहदरबारमा एक विशेष कार्यक्रम आयोजना गरी हस्ताक्षर तथा घोषणा गर्ने तयारी भइरहेको श्रेष्ठ पक्षका उपाध्यक्ष लोक दाहालले बताए । 

 यससँगै अदालतमा विचाराधीन मुद्दाहरू पनि सहमतिका आधारमा फिर्ता लिइने जनाइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप