जंगी अड्डामा प्रधानमन्त्री : दललाई बिना अवरोध गतिविधि गर्ने वातावरण बनाउन निर्देशन
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले जंगी अड्डाको निरीक्षण गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएकी छिन्।
- निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनालाई प्रधानमन्त्रीले निर्देशन दिएकी छन्।
- प्रधानमन्त्रीले आन्दोलनका क्रममा लुटिएका हातहतियार खोजी गर्न र फरार अपराधी पक्रन सेनालाई आग्रह गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्की जंगी अड्डा पुग्दा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।
साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।
‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु’, प्रधानमन्त्री कार्कीले नेपाली सेनालाई निर्देशन दिँदै भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन ।’
यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न नेपाली सेनालाई आग्रह गरिन् ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण