शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी शुल्क वृद्धिका बाबजुद ब्राजिलमा बेरोजगारीको सङ्ख्यामा गिरावट

शुक्रबार, १२ मङ्सिर २०८२, २२ : १९
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • अमेरिकी शुल्कवृद्धिका बाबजुद ब्राजिलमा बेरोजगारी दर घट्यो।
  • अगस्टदेखि अक्टोबरसम्मको त्रैमासिक अवधिमा बेरोजगारी दर ५.४ प्रतिशतमा झर्यो।
  • वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका लागि यो सकारात्मक खबर हो।

ब्रासिलिया, ब्राजिल। संयुक्त राज्य अमेरिकाले यसको सामानमा लगाएको भन्सार शुल्कको बाबजुद ब्राजिलको बेरोजगारी दरमा ऐतिहासिक रूपमा गिरावट जारी रहेको शुक्रबारको सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

यो तथ्याङ्क अगस्टदेखि अक्टोबरसम्मको त्रैमासिक अवधिको हो । 

काम खोज्ने श्रमशक्तिको हिस्सा यस अवधिमा ५.४ प्रतिशतमा झरेको छ, जुन ब्राजिलको तथ्याङ्क सङ्कलन र लेखाजोखा राख्ने निकाय (आइबिजिई) स्थापना भएको सन् २०१२ पछिको हालको गणना विधि लागू भए यताकै सबैभन्दा कम हो ।

सन् २०२४ को सोही अवधिमा बेरोजगारी दर ६.२ प्रतिशत थियो।

यद्यपि अनौपचारिक क्षेत्रमा रोजगारी गर्ने कार्यबलको हिस्सा ३७.८ प्रतिशतसहित उच्च अवस्थामा कायम रहेको छ।

बेरोजगारीमा आएको यो निरन्तर गिरावट वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका लागि राम्रो खबर हो।

उनको सरकारले संयुक्त राज्य अमेरिकामा निर्यात गरिने धेरै ब्राजिलियाली उत्पादनहरूमा लगाइएको ४० प्रतिशत भन्सार शुल्कले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा पार्ने प्रभावलाई कम गर्ने प्रयास गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि अगस्टमा दण्डात्मक भन्सार शुल्क लगाएका थिए । यो शुल्क उनको अति–दक्षिणपन्थी सहयोगी जैर बोल्सोनारोको मुद्दालाई लिएर लगाइएको आरोप अमेरिकामाथि ब्राजिलले लगाउँदै आएको छ । बोल्सोनारोले सन् २०२२ को चुनावपछि लुलालाई सत्ता सम्हाल्नबाट रोक्ने प्रयास गरेकोमा २७ वर्षको जेल सजाय भोगिरहेका छन् । 

यसै महिनाको सुरुमा, देशहरूबिचको कूटनीतिक तनावमा कमी आएपछि वासिङ्टनले गाईको मासु र कफीलाईजस्ता केही कृषि वस्तुहरूलाई भन्सार शुल्कबाट मुक्त गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप