मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
क्रान्तिकारी नेता

पेङ तेहुई माओबाट किन प्रताडित भए ?

शनिबार, १३ मङ्सिर २०८२, १२ : २४
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • चिनियाँ जनरल पेङ तेहुईको ५१औँ पुण्य तिथिको अवसरमा उनको जीवनीबारे चर्चा गरिएको छ।
  • पेङ तेहुईले माओको ‘महान् अग्रगामी छलाङ’को आलोचना गरेपछि उनलाई पदबाट हटाइयो र यातना दिइयो।
  • सन् १९७४ मा ७६ वर्षको उमेरमा जेलमा उनको निधन भयो, तर १९७८ मा उनलाई पुनर्स्थापित गरियो।

आज २९ नोभेम्बर प्रसिद्ध चिनियाँ जनरल पेङ तेहुईको ५१औँ पुण्य तिथि हो । उनी चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता थिए । सन् १९५४ देखि १९५९ सम्म पेङ तेहुई चीनका उपप्रधानमन्त्री र रक्षामन्त्री रहेका थिए । चिनियाँ जनमुक्ति सेनाको गठनदेखि कोमिन्ताङ सेनालाई पराजित गर्न उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

 सन् १९३४–३५ मा माओको नेतृत्वमा सञ्चालन भएको  लङमार्चमा पेङ तेहुई  पी.एल.ए. को अब्बल दर्जाको कमान्डरका रूपमा आफ्ना टुकडीको नेतृत्व गर्दै जापानी आक्रमण विरुद्ध प्रतिरोध युद्ध र सिङ्गो चिनियाँ मुक्ति आन्दोलनमा अग्रमोर्चामा रहेर लडेका थिए । चाहे अमेरिकी आक्रमण विरोधी प्रतिरोध युद्ध होस् वा कोरियाली युद्ध होस्- ती सबैमा उनले कुशल सैन्य कमान्डरको रूपमा क्रान्तिको सैन्य नेतृत्व गरेका थिए ।  सन् १९३५ मा  चुनई सम्मेलनमा  माओ  र तत्कालीन पार्टी नेतृत्वबिच जारी पेचिलो संघर्षका दौरान माओलाई दह्रो समर्थन दिएर  उनलाई  पार्टीको शीर्ष नेतृत्वमा पुराउनसमेत पेङ तेहुईले महत्त्वपूर्ण भूमिका खेलेका थिए  ।

 तर विधिको विडम्बना उनी माओको अन्धभक्त नभएका कारण  माओ र माओ समर्थकहरूको कोपभाजन बन्न पुगे  । माओले अगाडि सारेको ‘महान् अग्रगामी छलाङ’ को मैत्रीपूर्ण आलोचना गरेका कारण १९५९ मा उनलाई पार्टी र सरकारका सबै पदबाट बर्खास्त गरियो । उनीमाथि नेतृत्व हत्याउन खोजेको गम्भीर आरोप लगाइयो । सन् १९६६ मा उनलाई रेड गार्डहरुले गिरफ्तार गरे । उनलाई हतकडी र नेल लगाएर हजारौँ जनमुक्ति सेनाहरूको सामुन्ने उभ्याई आफूले पार्टी विरोधी गतिविधि गरेको कबुल गर्न लगाइयो  ।   

लगभग ६ वर्षसम्म उनलाई   नजरबन्दमा निर्दयतापूर्वक शारीरिक र मानसिक  यातना दिएर राखियो  ।   सन् १९७४ मा  ७६ वर्षको उमेरमा  जेलमै पेङ तेहुईले अत्यन्त कष्टपूर्ण र भयानक मृत्युवरण गर्नपुगे  । पार्टी नेतृत्वको अन्ध समर्थन नगरेका कारण चिनियाँ कम्युनिष्ट पार्टीका  एउटा बहादुर योद्धा र क्रान्तिकारीको दुखद अन्त भयो । 

पेङ तेहुर्ई विरुद्ध माओ र पार्टीभित्रका माओवादीहरुले   ‘पार्टी र सेना कब्जा गर्न खोजेको’, ‘भगोडा र गद्दारहरूलाई भर्ती गरेको’,  ‘स्वार्थ समूह गठन गरेको’ र ‘विदेशीसँग साँठगाँँठ’ गरेको जस्ता झुटा  आरोप लगाएका थिए । उनलाई १९५९ अगस्टमा पार्टी विरोधी गुटको नेता भएको संगीन आरोप लगाएर पोलिटब्युरो र रक्षामन्त्रीको पदबाट हटाइएको थियो । पेङ तेहुईको आत्मकथाका सम्पादक भन्छन्-ः उनलाई विश्वास थियो कि पार्टीले उनका विरुद्ध छानबिन अगाडि बढाए पछि उनका बयानहरूका आधारमा उनी निर्दोष साबित हुनेछन् । तर उनको यो अपेक्षा गलत साबित भयो । उनलाई निर्मम यातना दिइयो । उनलाई केरकार गर्ने छानबिन टिमका मानिसहरू गुन्डाहरू थिए । जसको एकमात्र उद्देश्य थियो उनलाई दोषी साबित गर्नू । त्यसक्रममा उनलाई लात्तैलात्ताले हिर्काइयो । जसका कारण उनका करङहरु र फोक्सोमा चोट पुग्यो । यातनाबाट उनी भुईँमा ढले । तर पनि आखिरीसम्म लडिरहे । उनले टेबल ठोक्दै छानबिन टोलीमाथि चिच्चाउँदा पुरै घर गुन्जिने गर्दथ्यो ।  उनलाई चरम  यातना दिइयो ।  २९ नवम्बर १९७४ मा उनको मृत्यु नहुँदासम्म उनलाई १२९ पटक केरकार गरिएको थियो ।  

अब आउनुस् चिनियाँ जनमुक्ति सेनाका एउटा कालखण्डका नायक पेङमाथि  यस्ता आरोप किन लगाइएको थियो भन्ने बारे चर्चा गरौँ । 

 सन् १९५९ को अगस्ट महिनामा लुसान भन्ने स्थानमा चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनको आयोजना गरिएको थियो जो लुसान सम्मेलनका नामले प्रसिद्ध छ । त्यस सम्मेलनमा पेङले ‘महान् अग्रगामी छलाङ’ को योजनाबारे  आफ्नो लिखित अवधारणापत्र प्रस्तुत गरेका थिए । माओले प्रतिपादन गरेको  ‘महान् अग्रगामी छलाङ’ एउटा अव्यवहारिक उग्रवामपन्थी योजना थियो । जसको उद्देश्य चीनमा कृषि र औद्योगिक उत्पादनको तीव्र वृद्धि गर्नु रहेको थियो । माओले जनवरी १९५८ मा एउटा भाषणमा भनेका थिए कि हामीले हाम्रो स्टिल उत्पादन ५० लाख टनबाट ४ करोड टनमा पुर्‍याएर स्टिल उत्पादनमा  बेलायतलाई उछिन्ने छौँ । माओको नेतृत्वमा तयार पारिएको त्यस प्रकारको योजनाको परिणाम यो भएको थियो कि चीनको कृषिमा संलग्न ठुलो जनसङ्ख्यालाई  खेतीपातीको कामबाट हटाएर   स्टिल उत्पादनमा संलग्न गराइयो । किसानहरूलाई भनियो कि यदि तिमीले  ‘तीन वर्ष त्याग गर्ने हो भने एक हजार वर्षसम्म साम्यवादी सुख भोग गर्न सक्नेछौ’ । जनसमुदायलाई कृषि र उद्योगका क्षेत्रमा कुनै तलब, प्रोत्साहन वा सुविधा नदिईकन साम्यवादी ‘आदर्श’का लागि जीवन समर्पण गर्न भनियो । 

परिणामत: गाउँका गाउँ, बस्तीका बस्तीमा जता हेर्‍यो त्यतै फलाम गाल्ने भट्टीहरू देखा पर्न थाले । स्टिल उत्पादनका नाममा कैयौँ परिवारहरूलाई  आफ्ना पकाउने भाँडाकुँडादेखि कृषि औजारसमेत पार्टीलाई उपलब्ध गराउन उर्दी गरियो  । यो सबैको परिणाम कृषिमा जनशक्तिको चरम अभाव हुन गयो ।  कृषि उत्पादन एकदम तल झर्‍यो । अर्कोतिर राज्यले  किसानहरुबाट  लिने अनाजको कोटा झन् पछि झन् बढाउँदै लग्यो । यी सबै गलत नीतिहरूको कारण किसानहरू अनिकाल र भोकमरीका सिकार भए ।  किसानहरूको पलायन तीव्र भयो । करोडौँ जनसङ्ख्या पार्टीको त्यस अव्यवहारिक योजनाको सिकार बन्यो । लाखौँको मृत्यु भयो । कतिपय क्षेत्रबाट भोकग्रस्त  मानिसहरूले नरभक्षण गरेका समाचारहरू पनि प्रकाशित भए ।

माओको यसप्रकारको अव्यवहारिक नीतिका विरुद्ध भित्रिरुपमा  राष्ट्रपति, लिउ शाओ चि, प्रधानमन्त्री चाउ एनलाई, वरिष्ठ नेता देङ शियाओ पिङ आदि  क्रियाशील थिए तर खुलेर बोल्ने कसैमा पनि साहस थिएन । पेङ तेहुईले त्यो साहसको प्रदर्शन गरेका थिए, जो माओकालीन चीनमा दुर्लभ थियो ।  

एकातिर किसानहरूको यस्तो भयावह अवस्था थियो भने अर्कोतिर आफूमाथि दक्षिणपन्थी आरोप लाग्ने डरका कारण बैठकहरूमा किसानहरूको वास्तविक अवस्थाबारे रिपोर्ट गर्नबाट पार्टीका पदाधिकारीहरू डराउँथे । यसको परिणाम काउण्टीदेखि प्रान्तीय कमिटीका सेक्रेटरीहरुले धमाधम पार्टीका बैठकहरूमा किसानहरूको जीवनस्तर माथि उठेको, अन्न र स्टिल उत्पादन राम्रो भएको रिपोर्टहरू दिन थाले । माओका नीतिहरूको विरोध गर्नेहरूलाई ‘दक्षिणपन्थी’ र ‘बुर्जुवा’को आरोप लाग्ने गर्दथ्यो जसको अर्थ हुन्थ्यो उनीहरूको बर्खास्ती, गिरफ्तारी र यातना । 

  माओ र माओवादीहरुको भयंकर भय र त्रासका बिचमा पनि पेङ तेहुईले लुसान सम्मेलनमा सत्य बोल्ने साहस गरेका थिए । उनले सम्मेलन सुरु हुनुभन्दा एक दिन पहिले  माओलाई सम्बोधन गरेर एउटा पत्र लेखेका थिए । पत्र व्यक्तिगत थियो तर  माओले त्यो पत्रलाई  छपाएर सम्मेलनका सबै प्रतिनिधिहरुलाई  वितरण गराएका थिए । सो   पत्रमा पेङ ते हुईले  ‘महान् अग्रगामी छलाङ’ अन्तर्गत  कृषिको सामूहिकीकरणबारे  आफ्ना धारणा राखेका थिए ।  उनले समग्रमा ‘महान् अग्रगामी छलाङ’ राम्रो हुँदाहुँदै पनि केही क्षेत्रहरूमा किसानहरू भोकमरीका सिकार भएको बताएका थिए । पेङले पत्रमा  प्रान्तका पार्टी सचिवहरूले  आफ्नो रिपोर्ट बढाइचढाइ प्रस्तुत गर्ने गरेको र  कृषि  र  स्टिलको उत्पादन धेरै देखाउने गरेको विषयलाई उजागर गरेका थिए । लुसान सम्मेलनमा पेङबाहेक पार्टीका कुनै पनि  वरिष्ठ नेताहरूले  त्यसरी   बोल्ने साहस गरेका  थिएनन् । 

कठोर यातनाका बिच  महान् जनरल र एक सच्चा क्रान्तिकारी पेङ तेहुईको २९ नोभेम्बर १९७४ मा दुखद  निधन भयो ।  सन् १९७६ मा माओको निधनपछि देङ शियाओ पिङ सत्ताको केन्द्रमा पुगे । पेङ तेहुईलाई  १९७८ मा बसेको  पार्टीको केन्द्रीय समितिको बैठकले महान् क्रान्तिकारी घोषित गर्दै माओकालमा लगाइएका सबै आरोपबाट मुक्त गरेर पुनर्स्थापित गरेको थियो । 

माओको उग्रवाम नीतिका सिकार बनेका सत्यका  पुजारी पेङ तेहुईलाई सलाम । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप