एयरबस ए–३२० अन्तर्गतका विमानमा सफ्टवेयर समस्या : विश्वभर उडान अवरुद्ध
काठमाडौँ । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब ६ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले शनिबार थप उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन् ।
अक्टोबरमा जेटब्लूको एक उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो ।
एयरबसका अनुसार ‘तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका महत्त्वपूर्ण डेटा बिगार्ने जोखिम’ देखिएको छ, जसले अहिले सेवामा रहेका ए–३२० परिवारका धेरै विमान प्रभावित हुनसक्ने बताइएको छ । सफ्टवेयर परिवर्तन अधिकांश विमानमा केही घण्टामै सकिने भए पनि लगभग एक हजार विमानमा यो प्रक्रिया हप्तौँ लाग्नसक्ने एक स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
एयर फ्रान्सले शनिबार अतिरिक्त कति उडान रद्द हुनेछन् भन्ने गणना भइरहेको बताउँदै प्रभावित यात्रुहरूलाई एसएमएस तथा इमेलमार्फत व्यक्तिगत रूपमा सूचित गरिँदैछ भनेर जनाएको छ । यसले शुक्रबार मात्र ३५ उडान रद्द गरेको थियो । कोलम्बियाली एयरलाइन्स एभियाङ्काले आफ्नो करिब ७० प्रतिशत फ्लीट सफ्टवेयर समस्याबाट प्रभावित रहेको जनाएको छ ।
युरोपियन युनियन एभियसन सेफ्टी एजेन्सी (इएएसए) ले एयरबसले समस्या सूचित गरेपछि आवश्यक सुरक्षा उपायहरू लागू गर्ने जानकारी दिएको छ । “यी कदमहरूले उडान तालिकामा केही समय अवरोध ल्याउन सक्छन्, तर यात्रु सुरक्षा नै पहिलो प्राथमिकता हो”, इएएसएले भनेको छ ।
उडान नियन्त्रण कम्प्युटर निर्माण गर्ने थेल्स कम्पनीले उपकरणहरू एयरबसका प्राविधिक विशिष्टताअनुसार पूर्ण रूपमा मिल्दो रहेको र इएएसए र एफएएबाट प्रमाणित भएको स्पष्ट पार्दै समस्या परेको सफ्टवेयर आफूअन्तर्गत नपर्ने बताएको छ । एयरबसले सिफारिसका कारण यात्रु तथा ग्राहकलाई परेको असुविधाबापत क्षमायाचना गर्दै व्यावहारिक अवरोध स्वीकार गरेको छ ।
अक्टोबर ३० मा जेटब्लूद्वारा सञ्चालित ए–३२० विमानमा कम्प्युटर त्रुटि देखिएपछि नियन्त्रण कठिन बनेको र क्यानकुन–नेवार्क मार्गमा उडान गरिरहेकै अवस्थामा विमान अचानक तल झरेको थियो । पाइलटहरूले आपतकालीन रूपमा फ्लोरिडाको टाम्पामा अवतरण गराउनुपरेको थियो । केही यात्रु घाइते भएको स्थानीय अधिकारीहरूको उद्धरण गर्दै अमेरिकी मिडियाले जनाएको छ ।
जेटब्लूले घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि ए–३२० तथा ए–३२१ मोडेलमा आवश्यक परिवर्तन सुरु गरिसकेको जनाएको छ । अमेरिकन एयरलाइन्सले पनि चेतावनीपछि सफ्टवेयर अद्यावधिक प्रक्रिया अघि बढाएर करिब ३४० प्रभावित विमानमध्ये ‘धेरैजसो’ शनिबारसम्ममा नियमित सेवामा फर्कने अपेक्षासहित ‘धेरै ढिलाइ’ हुने चेतावनी दिएको छ ।
युनाइटेड एयरलाइन्सले समेत सुरुमा आफू प्रभावित नभएको बताएको भए पनि पछि छवटा विमानमा समस्या देखिएको र केही उडान प्रभावित हुने जानकारी दिएको छ । डेल्टा एयर लाइन्सले आवश्यक अद्यावधिक शनिबार बिहानसम्म पूरा गर्ने जनाएको छ ।
एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले समेत उडान ढिलाइ, रद्द र पुनःबुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन् । फिलिपिन्समा मात्र शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो ।
सन् १९८८ देखि उत्पादन हुँदै आएको ए–३२० एयरबसको सबैभन्दा बढी बिक्री हुने विमान हो । सेप्टेम्बरसम्म एयरबसले करिब १२ हजार २५७ विमान बिक्री गरेको छ । यो सङ्ख्या बोइङ ७३७ सँग उस्तै स्तरमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण