एमाले प्रतिनिधि छनोटमा युवालाई उपेक्षा, पुरानै नेताहरूको रजगज
सारांश
- नेकपा एमाले कर्णाली प्रदेशमा महाधिवेशन प्रतिनिधि छनोटमा पुरानै अनुहारको बाहुल्यता देखियो।
- ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिने भनिए पनि पुराना नेता हावी भएको र कतिपयमा पार्टी निर्णय विपरितका व्यक्ति छानिएको गुनासो छ।
- प्रतिनिधि छनोटको विधि र पद्धतिमाथि प्रश्न उठ्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ।
सुर्खेत । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि छानिँदा कर्णाली प्रदेशमा पुरानै अनुहारको हालीमुहाली देखिएको छ । यसअघि नै परीक्षण भइसकेका, लामो समयदेखि पार्टीकै विभिन्न तहमा बसेका र नेताहरूकै आसेपासेहरूलाई मात्रै प्रतिनिधिमा स्थान दिइएको युवा पुस्ताका नेताहरू बताउँछन् ।
एमालेको राष्ट्रिय महाधिवेशनका लागि कर्णालीबाट ११३ जना प्रतिनिधि छनोट भएका छन् । यहाँ १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रहरू छन् । ४० वर्षमुनिको नवयुवा प्रतिनिधि छनोट गर्ने भनिए पनि त्यसमा अधिकांश विगतदेखि नै पार्टीमा लागेका युवाहरूको सहभागिता रहेको हो ।
उदाहरणका लागि दैलेख क्षेत्र नम्बर २ मा ४० वर्ष मुनिको युवा क्लस्टरमा १७ जनाको दाबी थियो । तर, अन्तिममा खुलातर्फ फर्म भरेका सुशील कुमार थापालाई ४० वर्ष मुनिको युवा प्रतिनिधि बनाइयो । नेताहरूकै सरसल्लाहमा भागबन्डाका आधारमा थापालाई ४० वर्ष मुनिको प्रतिनिधि बनाइएको एक नेताले बताए । थापा २०७४ मै एमालेबाट कर्णाली प्रदेश सभाका सांसद भइसकेका व्यक्ति हुन् । उनी पार्टीकै प्रदेश कमिटीमा छन् । जबकि त्यहाँ भर्खरै विद्यार्थी राजनीतिमा उदाइरहेका आशालाग्दा युवाहरूको दाबी खेर गयो ।
एमालेले नवयुवाहरूलाई पार्टीमा प्रवेश गराउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधि छनोटमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चितता गरेको छ । तर, त्यसको व्यापक दुरुपयोग भएको युवासंघ कर्णाली प्रदेशका अध्यक्ष जीवन शाहीले बताए ।
‘उमेर समूह ४० वर्ष मुनि भए तापनि पार्टीमा र संसदीय फाँटमा स्तर बनाइसकेका, वडा अध्यक्ष भइसकेका व्यक्तिहरूकै हालीमुहाली भयो,’ उनले रातोपाटीसँग भने, ‘डोल्पाको सन्दर्भमा डोल्पाका पार्टी जिल्ला अध्यक्ष नै ४० मुनिबाट प्रतिनिधि हुनुभएको छ ।’
उनका अनुसार, रुकुम पश्चिममा निर्वाचित प्रकाश खड्का भन्ने एक जना युवा चुनावबाटै निर्वाचित भए । उनी विद्यार्थी नेता नै हुन् । त्यो बाहेक अन्तको सन्दर्भमा नेताहरूले राजनीतिक सन्तुलन मिलाउनका लागि ४० मुनिका युवाहरूलाई जुन स्थान दिनुपर्ने थियो त्यो हुन नसकेको उनको भनाइ छ । उनका अनुसार, प्रतिनिधि छनोटका क्रममा हलमा ५० प्रतिशत युवाहरूकै उपस्थिति थियो । तर, पुरानैले स्थान पाए ।
सल्यानमा पार्टी जिल्ला पदाधिकारी, जुम्लामा पूर्व वडाध्यक्ष नै युवातर्फ प्रतिनिधि बनेको उनको भनाइ छ । उनका अनुसार, अधिकांश जिल्ला र प्रदेश तहका नेताहरू युवा क्लस्टरमा प्रतिनिधि बनेका छन् । उनले सामाजिक सञ्जालमा पनि यो विषयमा कडा टिप्पणी लेखेका छन् ।
‘भूगोलमा क्रियाशील युवा विद्यार्थीहरू नवयुवाकै कोटामा पर्न नसक्नुले पार्टी भित्रको आन्तरिक असन्तुष्टिलाई अझ बढवा दिएको छ,’ उनले भनेका छन्, ‘कमरेडहरूले नवयुवाको सहभागितामाथि हाइज्याक गर्नु साँच्चिकै दुःखदायी र पार्टी हितमा नभएको कुरा तमाम युवा कमरेडहरूको साथै मेरो बुझाइ हो ।’
युवाको भावनालाई आत्मसात गर्न नसक्ने हो भने अझ ठूलो दुर्घटना हुने उनको चेतावनी छ । अझ भनौँ जेनजी समूहका त कुनै पनि युवाहरू प्रतिनिधि छनोटमा पर्न सकेनन् ।
पूर्व अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सह–इन्चार्ज हुन्, नवीन योगी । उनले पनि युवातर्फ दैलेख–२ मा दाबी गरेका थिए । तर, उनी परेनन् ।
पुराना पार्टीहरूमा फेरि पनि केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म उही पहिलाकै पुरानो पुस्ता नै प्रमुख नेतृत्वमा भएका कारणले उनीहरूको पुरानै राजनीति गर्ने तरिकाले काम गरेको योगी बताउँछन् । ‘उहाँहरूको पुरानो त्यो शैलीमा कुनै पनि परिवर्तन आएको देखिँदैन,’ उनले रातोपाटीसँग भने, ‘बाहिर हेर्दा उहाँहरूमा जेनजी आन्दोलनपछिको अलिकति डर, त्रासले गर्दा थोरै कुरा मिलाउन खोजेको जस्तो गरे पनि भित्री मनदेखि र मनस्थितिबाट अझै पनि पहिलाको जस्तै अवस्था छ । उहाँहरू चेन्ज हुन चाहनुहुन्न ।’
उनले अगाडि भने, ‘यसले एमालेले लिएको जुन उद्देश्य हो, त्यो पूरा हुन्छ जस्तो मलाई लाग्दैन । हाम्रो पार्टीले बाहिर हेर्दा मिडियाको लागि अथवा अहिलेको यो हल्लाको लागि ‘अन्डर फोर्टी’ भने तापनि व्यवहारमा त्यो छैन ।’
उनका अनुसार, एमालेमा निर्वाचन प्रतिस्पर्धाको लागि नेतृत्वको लागि देखिएको दुई वटा धारमा एक पक्षले अर्को पक्षलाई कसरी सिध्याउने, एक पक्षले अर्को पक्षलाई कसरी ‘क्लिन स्विप’ गर्ने भनेर अगाडि बढेको देखिन्छ । ‘यो तलदेखि माथिसम्मै छ,’ उनले भने, ‘त्यसैले जुन लक्ष्य र उद्देश्य हासिलका लागि हामी अगाडि बढ्न खोजेका थियौँ, त्यो चाहिँ हुन सकेको जस्तो मलाई लाग्दैन ।’
उनले आफ्नै उदाहरण दिए । भने, ‘म विभिन्न ठाउँमा भाग लिएको, ठुला फोरममा पनि गएको मान्छे, पार्टीमै लागेको वर्षौँ भइसक्यो, म गाउँबस्तीहरूमा, भूगोलमा आफूलाई खटाइएको ठाउँमा काम गरिरहेको छु । र पनि म आज प्रतिनिधि बनेर जान सक्ने अवस्था भएन । यो देशभरिको अवस्था हो ।’
४० वर्ष मुनिको मात्र होइन, अन्य क्लस्टरमा समेत युवाहरूलाई उपेक्षा गरिएको भन्दै कर्णालीमा विरोध भएको छ । कालिकोटमा युवा नेतृ पार्वती सिंह प्रतिनिधि बन्न खोजेकी थिइन् । तर, जिल्ला इन्चार्जले निषेधको राजनीति गरे पनि आफू वञ्चित भएको उनले बताइन् ।
पार्टीको निर्णय विपरीत जाने नेतालाई सम्मानसहित प्रतिनिधि बनाइएको तर लामो समय योगदान गरेका युवा नेतालाई पाखा लगाइएको भन्दै कार्यकर्ता पङ्क्तिमा असन्तुष्टि देखिएको उनको भनाइ छ । कालिकोटमा सिंह जस्ता भर्खरका युवा नेताहरूलाई पाखा लगाइँदा एमालेकै निर्णयविरुद्ध विगतमा ‘फ्लोर क्रस’ गरेका कुर्मराज शाही प्रतिनिधि बन्न सफल भए ।
उनले तत्कालीन नेकपाकालमा पार्टी ह्विप उल्लङ्घन गर्दै माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन ‘फ्लोर क्रस’ गरेका थिए । एमाले विभाजनपछि उनी केही समय समाजवादी पार्टीमा लागेका थिए । उनीमाथि अन्य थुप्रै आरोप तथा विवाद छन् । तर, उनै पहिलो प्राथमिकतामा प्रतिनिधि बने ।
हुम्लामा युवा नेता नवराज महतरा प्रतिनिधि बन्न पाएनन् । पत्रकारिता क्षेत्रबाट एमालेका विभिन्न सङ्गठनमा रहेर काम गरेका उनले आफू प्रतिनिधि बन्न नपाएको गुनासो सामाजिक सञ्जालमै पोखेका छन् ।
उनले प्रश्न गरे, ‘प्रतिनिधि को जाने, छनोट भएर को गए भन्ने विषय गौण हो, तर छनोटको विधि र पद्धति कस्तो अपनाइयो ? सिद्धान्तको हवालाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू भित्र जनवादी केन्द्रीयताका नाममा मौलाउँदै गएको ‘अनुयायी भर्ती’ गर्ने प्रवृत्ति कसरी ‘काउछो’ का रूपमा सल्किँदै गएको छ ।’ समावेशी लोकतन्त्रका पक्षपाती दल/नेताको वितरण प्रणालीले जनभावना समेट्न नसकेको उनको भनाइ छ ।
यस्तै डोल्पामा विगतमा बेला पार्टीकै निर्णय विरुद्ध ‘फ्लोर क्रस’ गरेका र भ्रष्टाचारको मुद्दा समेत लागिसकेका नन्दसिंह बुढा प्रतिनिधि बनेका छन् । यस्तै, दैलेख—१, मा पार्टीकै योगदान गरेका बौद्धिक नेताहरू प्रतिनिधि बन्न छुट्दा निजी विद्यालय सञ्चालन गर्दै आएका नैनसिंह खत्री पहिलो प्राथमिकतामा परेर प्रतिनिधि बनेको एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण