बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

ओलीलाई ईश्वरले भने– प्रतिनिधि छनोटमा पक्षपात भयो

बिहीबार, १८ मङ्सिर २०८२, १६ : ०५
बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विभिन्न जिल्लामा भएको प्रतिनिधि छनोटका क्रममा एकलौटी गरेको भन्दै गुनासो गरेका छन् ।

नेता पोखरेलसहित उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायतका नेताहरू बिहीबार ओली निवास गुण्डु पुगेर प्रतिनिधि चयनमा भएको विवादबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएका हुन् ।

ओखलढुङ्गा, धनकुटा र दाङलगायतका केही जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद भएको थियो ।

सोही विषयमा पोखरेलसहितका नेताहरू ओलीलाई भेट्न गुण्डु पुगेका हुन् । ती जिल्लामा छनोट भएका प्रतिनिधिलाई सङ्गठन विभागले अस्वीकार गर्दै पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । 

ओखलढुङ्गामा पोखरेल पक्षकामात्रै प्रतिनिधि छनोट भएका थिए भने धनकुटामा ओली पक्षका र दाङमा शंकर पोखरेल पक्षका मात्र छनोट भएका थिए ।

‘उहाँहरूको कन्सर्न ओखलढुङ्गामा थियो । त्यहाँ छनोट भएका प्रतिनिधि नखोसिउन् भन्ने हो’, ओली निकट एक नेताले भने, ‘खासगरी प्रतिनिधि छनोटमा विवाद देखिएका स्थानमा चासो देखाएर कुरा गर्नुभयो ।’

त्यसक्रममा पोखरेलले दाङ र धनकुटामा आफ्नो पक्षका प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै गुनासो गरेका थिए ।

एमालेको ११ औँ महाधिवेशनमा ओली र पोखरेल समूह नै बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप