प्राविधिक ‘बुलिस’ र आधारभूत पक्ष ‘साइडवेज’ गरी सेयर बजारको दोहोरो संकेत
सारांश
- यस साता सेयर बजार परिसूचक ४४.८४ अंकले घटेको छ, र बजारमा ७५ अर्ब रुपैयाँको सम्पत्ति घटेको छ।
- अघिल्लो साता बजार बढेको थियो, तर यस साता कारोबार घट्यो, दैनिक औसत कारोबार २१% ले घटेको देखिन्छ।
- बजार विश्लेषकका अनुसार, मौद्रिक नीति सेयर बजारका लागि सकारात्मक छ, तर तत्कालै ठूलो वृद्धिको सम्भावना छैन।
काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४४.८४ अङ्कले घटेको छ । सातामा चार दिनमा भएको कारोबारमा चारैदिन घट्दै सेयर बजारले उक्त क्षति व्यहोरेको हो । यो अवधिमा बजारमा ७५ अर्ब रुपैयाँको सम्पत्ति घटेको छ ।
यसको विपरीत अघिल्लो साता भरी सेयर बजार बढ्यो । कारोबार भएका पाँच वटै दिनमा बजार बढ्दा ११५.७१ अङ्कले बढेको थियो । यो अवधिमा १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मूल्य बढेको थियो ।
कारोबारका आधारमा पनि यो हप्ताको कारोबार सुखद रहेन । गत साता पाँच दिनमा सेयर बजारमा ३२ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो ।
यो साता चार दिनमा जम्मा २१ अर्ब २६ करोडको कारोबार भयो । यस अनुसार अघिल्लो हप्ता ६ अर्ब ४३ करोडको दैनिक औसत कारोबार यो साता घटेर ५ अर्ब ३१ करोड रुपैयाँमा झरेको देखिन्छ, जुन २१ प्रतिशत कम हो ।
यो साता सेयर बजारका तीन समूहको मूल्य समग्रमा बढेको छ भने बाँकी १० समूहको मूल्य घटेको छ ।
फाइनान्स समूहले १.९५ प्रतिशत, म्यानुफ्याक्चरिङले १.८२ प्रतिशत र म्युचुअल फण्डले ०.६० प्रतिशतको मूल्य कमाउँदा जीवन बीमाले ३.४४ प्रतिशत, बैंकिङले ३.०४ प्रतिशत र इन्भेष्टमेन्ट समूहले २.७६ प्रतिशत मूल्य गुमाएका छन् । होटल, हाइड्रो र ट्रेडिङ क्षेत्रले झण्डै एक प्रतिशत भन्दा कम मूल्य गुमाउँदा बाँकी समूहको गिरावट एक प्रतिशत भन्दा माथि देखिन्छ ।
यो साता सबैभन्दा धेरै आम्दानी सागर डिस्टिलरीका लगानीकर्ताले गरे । उक्त कम्पनीका लगानीकर्ताले कुल ४६.४० अङ्कको वृद्धि हासिल गरेको नेप्सेको तथ्याङ्क छ ।
त्यस्तै, झापा इनर्जीले ४६.३९ प्रतिशत, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले ४६.३८ प्रतिशत कमाएका छन् । त्यसबाहेक हिमस्टार इनर्जीको १७.९२ प्रतिशत र बुंगल हाइड्रोपावरले १६.४६ प्रतिशत मूल्य हासिल गरेको छ ।
यो साता सर्वाधिक गुमाउने कम्पनीको सूचीमा माउन्टेन इनर्जी नेपाल १७.२५ प्रतिशत सहित माथिल्लो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट बैंकको डिवेञ्चरको मूल्य १०.७१ प्रतिशते घट्दा बाँकी कम्पनीहरुको गिरावट एकल अंकमा कायम रहेको छ ।
कारोबार रकमका यो साता हिमालन रिइन्स्योरेन्स १ अर्ब ३९ करोडसहित शीर्ष स्थानमा रहँदा युनाइटेड मोदी हाइड्रोपावरको १ अर्ब १४ करोड, बुंगल हाइड्रोपावरको ९९ करोड, माउन्टेन इनर्जी नेपालको ९८ करोड, बन्दीपुर केवलकारको ९६ करोड र युनियन हाइड्रोपावरको ९३ करोडको कारोबार भएको छ ।
खुकुलो मौद्रिक व्यवस्थाबीच घटेको सेयर बजार
सामान्य रूपमा हेर्दा यो साताको बजारको गिरावटलाई अघिल्लो साताको करेक्सनको रूपमा हेर्न सकिन्छ । लामो समयदेखि साइडवेज अर्थात् बुलिस र वियरिस दुवै ट्रेन्ड नसमातेको बजारमा गत साता ११५ अङ्कको सुधारसँगै बजारमा प्रोफिट बुकिङको लहर चल्नु स्वाभाविक नै थियो ।
किनकि साइडवेज बजारमा पूर्णकालीन लगानीकर्ता, संस्थागत लगानीकर्ता तथा म्युचुअल फण्डहरूले कमाउने भनेकै सामान्य उचारचढावमा कारोबार गरेर हो ।
तर, यो साता ठुलो नीतिगत परिवर्तन भयो । नेपाल राष्ट्र बैंकले गत सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै अल्पकालीन ब्याजदरको औजार मानिने ब्याजदर करिडोरको सीमादेखि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको लागि केही महत्त्वपूर्ण व्यवस्था गर्यो । खासगरी उपभोग्य कर्जा बढाउनेगरी गरिएको खुकुलो व्यवस्था गरिएको थियो । यो अवस्थाले बजारमा बिना प्रयोजनको कर्जा विस्तार हुने भएकोले यसले बजारलाई विस्तार गर्नसक्ने अनुमान गर्न सकिन्थ्यो ।
बजार विश्लेषक देव गुरागाइँ मौद्रिक नीतिले सेयर बजारको लागि मौद्रिक नीति सकारात्मक नै भएको बताउँछन् । यसपटक मौद्रिक नीतिसँग सेयर बजारको कुनै माग नभएकोले राष्ट्र बैंकले कुनै सम्बोधन नगरे पनि ओभरड्राफ्ट कर्जाका गरिएको खुकुलो व्यवस्थाले बजारलाई सकारात्मक नै प्रभाव पारेको उनको विश्लेषण छ । यो साता बजारमा धेरै करेक्सन नहुनु यसैको कारण भएको गुरागाइँको बुझाइ छ ।
अबको बजार कता जाला ?
सेयर बजारको गन्तव्यबारे विश्लेषण गर्दा आधारभूत र प्राविधिक विश्लेषणका टुल्सहरू प्रयोग गरिन्छ । आधारभूत रूपमा तत्कालै बजार बढ्ने सम्भावना सरोकारवालाहरू देख्दैनन् ।
विश्लेषक गुरागाइँ राजनीतिक स्थिरताको प्रस्ट सङ्केत नभएको, लाभांशको सिजन सकिँदै गएको र वित्तीय क्षेत्रको अवस्था समेत तत्कालै सुधार हुने निश्चित नभएको अवस्थामा तत्कालै ठुलो गतिमा बजार बढ्ने सम्भावना नरहेको बताउँछन् । तर बजार धेरै घट्ने अवस्था समेत नभएकोले केही समय साइडवेजमै रहने उनको विश्लेषण छ ।
तर योबिचमा पनि अघिल्लो साताजस्तै एक/डेढ सय अङ्कसम्मको उतारचढाव देखिने अवस्थालाई भने नकार्न नसकिने उनको विश्लेषण छ । अहिलेको अवस्थामा प्राथमिक बजारमा आउने सेयरले भने दोस्रो बजारलाई प्रभाव पार्नसक्ने उनी बताउँछन् ।
अहिले धितोपत्र बोर्डका ६ दर्जनभन्दा धेरै कम्पनीका ५५ अर्ब हाराहारीको आईपीओ पाइपलाइनमा रहेका छन् । लामो समयदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ समेत जारी गर्न बोर्डले निर्देशन दिइसकेको छ ।
प्रतिकित्ता ८२०.८० रुपैयाँका दरमा आउने उक्त कम्पनीको आईपीओमा मात्रै ९४ करोड रुपैयाँ खर्च हुने देखिन्छ । अन्य कम्पनीको समेत आईपीओ आउँदा दोस्रो बजारलाई नकारात्मक प्रभाव पार्नसक्ने अवस्था रहनसक्ने सरोकारवालाहरू बताउँछन् ।
प्राविधिक रूपमा हेर्दा बजारले सुधारको सङ्केत गरेको छ । यो साताको कारोबारले दैनिक आरएसआई ५४ र साप्ताहिक आरएसआई ४९ रहेको देखाउँछ । यो ओभरबट र ओभरसोल्ड दुवैको अवस्था होइन । तर, साप्ताहिक आरएसआई कम हुनुले बजारमा सामान्य बुलिस ट्रेन्ड रहेको मान्न सकिन्छ ।
त्यस्तै, एमएसीडी शून्यभन्दा माथि र यसको सिग्नल लाइन सकारात्मक देखिन्छ । यसले बजारमा बुलिस मुमेन्टम सक्रिय रहेको देखाउँछ जुन बजार माथि जाने सङ्केत हो ।
उता बजार परिसूचक एक्पोनेन्सियल मुभिङ एभरेजको २० दिने रेखा माथि र ५ दिने रेखाभन्दा तल छ । यसले छोटो समयको लागि बजार करेक्सनमा भए पनि दीर्घकालीन रूपमा बुलिस ट्रेन्डकै सङ्केत गर्छ । अहिले बजारको सपोर्ट २५४० र अवरोध २८२० को वरपर रहेको प्राविधिक रूपमा देखिन्छ ।
यसरी हेर्दा बजारको आधारभूत र प्राविधिक विश्लेषणले बजारको गतिलाई फरक फरक अवस्था देखाएका छन् । यसले बजारको अबको गतिबारे यसै भन्नसक्ने अवस्था नरहेको सरोकारवालाहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण