शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : बालुवाटारमा आ-आफ्नै गुनासो, मधेसमा कृष्णको इन्ट्री

शुक्रबार, १९ मङ्सिर २०८२, २२ : ००
शुक्रबार, १९ मङ्सिर २०८२

आज २०८२ मंसिर १९ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • मुख्यमन्त्रीमा यादव 

मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

  • बालुवाटार बैठक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन बोलाइएको सर्वपक्षीय बैठकमा दलहरूले आ–आफ्नै समस्या र गुनासा राखेका छन् । करिब चार घण्टा भएको छलफलमा दलका नेताहरूले निर्वाचन कसरी सम्पन्न गराउने बारेमा भन्दा पनि आआफ्नै कुरा राखेर समय बिताएका हुन् । 

  • एमाले महाधिवेशन

नेकपा एमालेका १८ पदाधिकारीमध्ये १२ जना केपी शर्मा ओली पक्षमा खुल्दा ६ जना मात्र ईश्वर पोखरेलको समूहमा देखिएका छन् । एमालेका एक सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निलम्बनमा छन् ।

  • नीति नियम

 बुधबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी साधनमा इन्धन प्रणाली फेरबदल गर्न पाउने व्यवस्था सहितको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्‍यो । हाल सञ्चालनमा रहेका जैविक इन्धनयुक्त सवारीलाई इलेक्ट्रिक भेहिकल (ईभी) मा रूपान्तरण गर्न पाउने उक्त व्यवस्था गर्न मन्त्रालयले सूचना प्रकाशन गरेको हो ।

  • एनपीएल

लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । योसँगै साविक विजेता जनकपुर, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।  

  • प्रहरीको मनोबल

जेनजी प्रदर्शनमा आन्दोलनकारीले देशभरका प्रहरी कार्यालयमा आगजनी गरे । प्रहरीको आन्तरिक प्रतिवेदन अनुसार आगजनीमा प्रहरीका ७४ वटा भवन पूर्ण रूपमा जले भने २ सय २ वटा भवन आंशिक रूपमा जलेका छन् । 

  • इन्ट्रान्स

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक को बन्छ भन्ने चर्चाबिच कनिष्ठलाई जिम्मेवारी दिने चलखेल सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा वरिष्ठतम् कर्मचारीलाई छाडेर वैकल्पिक नामबारे छलफल भएको हो । 

  • निर्वाचन

 निर्वाचन आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले शुक्रबार दलहरूका नाममा यस्तो निर्देशन जारी गरेको हो ।

  • नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिएसँगै पार्टी पङ्क्तिमा चुनावी सरगर्मी बढेको छ । लामो समयको अन्योल चिर्दै कांग्रेस केन्द्रीय कार्यालयले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका सार्वजनिक गरेसँगै केन्द्रदेखि गाउँ–गाउँसम्मका कार्यकर्ताहरू अधिवेशनको तयारीमा जुटेका छन् । 

  • अनियमितता 

उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा व्यापक आर्थिक अनियमितता र बेथिति भएको घटना सार्वजनिक भएपछि प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई तत्कालै सरुवा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप