बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
साहित्य

सेतो धरती : पीडित जीवनका मौन प्रतिध्वनि

शनिबार, २० मङ्सिर २०८२, १० : ००
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • आख्यानकार अमर न्यौपानेको उपन्यास 'सेतो धरती' बालविधवाको दर्दनाक जीवनमा आधारित छ।
  • उपन्यासले बालविवाह, सामाजिक अन्याय, र नारीले सहनुपरेको पीडालाई उजागर गर्छ।
  • 'सेतो धरती' समाजका गहिरा घाउ, संरचनात्मक हिंसा, र महिलाको मौन व्यथाको संवेदनशील अभिलेख हो।

आख्यानकार अमर न्यौपानेको ‘सेतो धरती’ (२०६८) पढ्ने अवसर प्राप्त भयो । नेपाली उपन्यास–परम्परामा यो बालविधवाको दर्दनाक जीवनकथा हो । मनले लेखिएको मन छुने कृति हो । सरल भाषा, भावनात्मक प्रस्तुति र मानवीय संवेदनाले समृद्ध यस उपन्यासले हाम्रो समाजमा विद्यमान बालविवाह तथा विधवाले सहनुपरेको कठोर पीडालाई गहिरो रूपमा उजागर गरेको छ । 

कथा पढ्दै जाँदा एक बालविधवाको ‘भोग्नै नपाई त्याग्नुपरेको’ अतृप्त र दुःखान्त जीवन मात्र भेटिँदैन; उनको जीवनसँग गाँसिएका सामाजिक अन्याय, कठोर परम्परा, भेदभाव, पहिचानको खोजी, मातृत्व र यौनिकताजस्ता संवेदनशील पक्षहरूको मौन पीडा पनि प्रकट हुँदै जान्छ । बालविधवाको वेदनाले भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथाहरूले कथालाई थप गहिरो बनाएका छन् ।

साधारण जस्तै देखिने जीवनकथाभित्र उपन्यासकारले समाजका गहिरा घाउ, संरचनात्मक हिंसा र नारीले भोग्नुपरेको अदृश्य व्यथा अत्यन्त सरल ढङ्गले प्रस्तुत गरेका छन् । यो उपन्यास ‘संस्कृति’ नामको कठोर घनले बारम्बार ठोकेर उठ्नै नपाएका पात्रहरूको आँसु, पीडा र मौन चीत्कारको संवेदनशील अभिलेख हो ।

Amar Bro

  • कथाभित्रको समाज र संरचना

सेतो धरती कुनै एक व्यक्तिको दुःखको कथा होइन; यो थुप्रै महिलाहरूको सामूहिक पीडाको प्रतिबिम्ब हो । बालविवाह, अनमेल विवाह, बालविधवा र निसन्तान महिलाले भोग्नुपरेको कठोर यथार्थलाई संवेदनशील तर प्रभावकारी शैलीमा उतारेको यस उपन्यासले पाठकको मन छोइदिन्छ । 

यो समाजले बनाएका अन्यायपूर्ण नियम र कुसंस्कृतिहरूको स्पष्ट दर्पण पनि हो । यथार्थमा यो बालविधवाको साधारण कथामाथि लेखिएको असाधारण उपन्यास हो । 

उपन्यासले बालविधवाको जीवनलाई केन्द्रमा राखे पनि, त्यो पीडा व्यक्तिगत त्रासदी मात्र होइन; समाजले आफ्नै छोरी–चेलीमाथि गरेको अन्यायको परिणाम हो । बाल्यकालमै विवाह गरिदिने चलन र विवाहपछि नारीको सम्पूर्ण अस्तित्वलाई पतिमाथि निर्भर भूमिकामा सीमित पार्ने सोचले कति जीवन उजाडिन्छन् उपन्यासले यस तथ्यलाई मार्मिक ढङ्गले उकेरेको छ ।

तारासँग जोडिएर आएका यमुना, पवित्रा, गोविन्द, युवक साधु र स्वामीजीजस्ता सबै पात्रका आफ्नै–आफ्नै कथात्मक नालीबेली छन् । तर सिङ्गो उपन्यासको केन्द्रीय धुरी तारा नै हुन् । कथा उनकै अनुभव, बाध्यता र सङ्घर्षको वरपर घुमिरहेको छ । सेतो धरतीले ताराको जन्मदेखि सात वर्षमै भएको विवाह, नौ वर्षमै विधवा बन्नुपरेको परिस्थिति, लोग्नेको घरमा बालकै हुँदा सहनुपरेको सौतेनी सासूको कहर, मूकदर्शक बुवा र सौतेनी आमाको वचनका कारण माइती छोडेर देवघाट पुगेको क्षण—सबैलाई मार्मिक ढङ्गले समेट्छ ।

बच्चामा घर बनाइ खेल्दा गोविन्दसँग भएको प्रतीकात्मक विवाह र माटोको सिन्दूर, गाउँमा भेटिएका युवक साधुसँगको निकटता, देवघाटमा स्वामीजीसँगको आध्यात्मिक सम्बन्ध, बालसखा पवित्रा र यमुना, अनि देवघाटमै पुनः गोविन्दसँग भएको मिलन—यी सबै घटनाक्रम तारा अठहत्तर वर्ष पुग्दा उपन्यासकारसँग गरिएको स्थलगत साक्षात्कार र अनुसन्धानका आधारमा लेखिएको यथार्थपरक अभिलेख हुन् ।

उपन्यासमा कतिपय प्रसङ्ग दोहोरिएझैँ लाग्छन्, कतिपय अधूरा पनि देखिन्छन् । तर पनि, यी सबै पात्रहरू एउटै परिवेशबाट छुट्टिँदै–छुट्टिँदै आफ्नै बाटोमा बगेका छन् र अन्त्यमा आएर एउटै मोडमा भेटिन्छन् जहाँ उनका लुकाइएका चोट, अपमान, अपूर्ण चाहना र अधूरा सपना सतहमा उघारिन्छन् । यही पुनर्मिलनका क्षणहरूमा उपन्यासले सबैभन्दा गहिरो भावनात्मक प्रभाव छोड्छ र पाठकलाई समाजका कठोर यथार्थहरूसँग अन्तर्मनदेखि प्रत्यक्षानुभूति गराउँछ ।

508905466_24204245305847176_3470361961306092685_n

  • मातृत्वको सूक्ष्म प्रस्तुति

अमर न्यौपानेले सेतो धरती मा बालविधवाको कथा मात्र सुनाएका छैनन्; यस उपन्यासले ताराको जीवनभरि बोकेर हिँड्नुपरेको यौनकुन्ठालाई पनि गहिरोसँग उद्घाटन गरेको छ । आमा बन्न नपाउँदाको उनको वेदना अत्यन्त मार्मिक रूपमा व्यक्त गरिएको छ । लेखकले यौनिकता र मातृत्वजस्ता संवेदनशील पक्षहरूलाई कोमल तर प्रभावशाली शैलीमा प्रस्तुत गरेका छन् ।

हाम्रो समाजले विधवाको जीवनलाई यौनरहित मान्ने सोचका कारण उनीहरूका स्वाभाविक भावना, चाहना, जैविक आवश्यकता र मातृत्वप्रतिको सहज आकाङ्क्षालाई बेवास्ता गरेको छ । तर उपन्यासले यही मौन पक्ष खोलेर, विधवा पनि पूर्ण मन–भावनासहितका मानव हुन् र उनीहरूका चाहना सम्मानित हुनुपर्छ भन्ने गहिरो सन्देश दिन्छ ।

तारा, यमुना, पवित्रा जस्ता पात्रहरूको मनभित्र लुकेर बसेका अपूर्ण चाहना, आत्मसम्मान, मातृत्वबोध र प्रेम–सम्बन्धी संवेदनाहरू लेखकले अत्यन्त सन्तुलित र संवेदनशील ढङ्गले चित्रित गरेका छन् । उनीहरूको यौनिकता प्रस्तुत गर्दा लेखाइ न त अश्लील बन्छ, न अनावश्यक रूपमा उत्तेजक बरु मानवीय, स्वाभाविक र जीवनसँग नजिक बन्छ ।

सेतो धरतीले नारी जीवनका सबै आयाम—शरीर, भावना, सामाजिक बन्धन र जैविक आवश्यकतालाई समान रूपमा ग्रहण गरी यथार्थपरक ढङ्गले प्रस्तुत गर्छ । यौनिकता र मातृत्वलाई संवेदनशीलता र सन्तुलनसहित चित्रित गर्न सक्नु नै यस उपन्यासको महत्त्वपूर्ण साहित्यिक शक्ति हो ।

  • भाषा, शैली र कथनशक्ति

अमर न्यौपानेको लेखनशैली सरल, सुबोध र मनको गहिराइसम्म प्रवेश गर्ने प्रकारको छ । उनी दैनन्दिन जीवनमा प्रयोग हुने पश्चेमेली लवज सार्थक रूपमा प्रयोग गर्छन्, जसले गर्दा उपन्यास पढ्दा कुनै जटिलता महसुस हुँदैन । पात्रको मनोविज्ञानलाई जोड दिइएको कथामा गहिरा भावना र पीडाका तहहरू भए पनि भाषा भारी छैन; पाठकले कथा केवल पढेर होइन, पात्रसँगै हिँडिरहेझैँ अनुभव गर्छन् ।

कथा सुनाइरहेको जस्तो प्रवाह, संवादहरूमा देखिने स्वाभाविकता र उचित ठाउँमा मिसिएको काव्यमय स्पर्श मिलेर सेतो धरतीलाई विशेष प्रभावशाली बनाउँछ । लेखकले विषयलाई अलङ्कार बिना, वास्तविक भावनासहित प्रस्तुत गरेका छन्, जसले कथा पाठकको हृदयलाई नजिकबाट छुन मद्दत गर्छ ।

उपन्यासमा प्रयोग भएका प्रतीकहरू पनि अर्थपूर्ण छन् । ‘सेतो’ रङले पवित्रता, दुःख, वियोग, निषेध, आश्रम–संस्कार र मृत्युका विभिन्न तहहरू सङ्केत गर्छ; ‘धरती’ शब्दले मातृत्व, पीडा र स्थिरताको बिम्ब बोकेको छ । शीर्षकमै लेखकले कथाको मूल भाव, सङ्घर्ष र वेदनालाई समेटिदिएका छन्, जसले पुस्तकको भावनात्मक गहिराइलाई झनै स्पष्ट बनाउँछ।

509310527_24204245289180511_3345229348064048193_n

  • पात्रहरूको पीडा, सङ्घर्ष र अस्तित्व

सेतो धरतीका तारा, यमुना, पवित्रा, साधु, स्वामीजी, गोविन्दजस्ता पात्रहरू कुनै काल्पनिक आदर्शका प्रतीक होइनन्। उनीहरू हाम्रै समाजमा भेटिने साधारण मानिस हुन्, तर असामान्य परिस्थितिले उनीहरूको जीवन दुःख, सङ्घर्ष र भावनाले भरिएको छ।

उन्मुक्त जीवन चाहने पवित्रा, सौताको पिरलोमा थिचिएकी यमुना र सामाजिक संस्कारले बाँधेर यौनकुण्ठाबाट तड्पाइएकी तारा—यी सबै पात्रहरूको अवस्था पितृसत्तात्मक सोचको कठोर यथार्थ हो । उनीहरूको पीडा व्यक्तिगत जस्तो देखिए पनि यसको जरा समाजका कठोर नियम, परम्परा र लैङ्गिक विभेदमै गाडिएको छ । लेखकले उनीहरूलाई आक्रोशले भरिएका पात्रका रूपमा होइन, भोगाइ र मौन पीडाले जर्जर जीवन्त मान्छेहरूका रूपमा चित्रित गरेका छन् । मौन सङ्घर्ष, अधूरा चाहना र दिनहुँ दोहोरिने घाउहरूले कथा अत्यन्त मानवीय बन्छ ।

कथामा गोविन्द पुरुष भएकै कारण विशेषाधिकार प्राप्त जस्तो देखिए पनि ऊ समाजले बनाइदिएको नियम र संस्कारमा बाँधिएको छ । उसका निर्णय, द्वन्द्व र कमजोरीहरूले नारी पात्रहरूको जीवनमा ठुलो प्रभाव पार्छ, जसले कथालाई एकतर्फी नभई गहिरो मानवीय धरातलमा उभ्याउँछ ।

सेतो धरती का पात्रहरू केवल कथा अघि बढाउने साधन मात्र होइनन्; उनीहरू समाजका वास्तविक घाउ, सङ्घर्ष र अस्तित्वको प्रतिनिधि भएर उपस्थित हुन्छन्।

  • साहित्यिक महत्त्व

२०६८ सालमा मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त सेतो धरती समाजका पीडा, अन्याय र मौन भोगाइलाई साहसपूर्वक उजागर गरेको कृति हो । लेखकले इतिहास, समाज, मनोविज्ञान र यथार्थलाई एउटै कथाभित्र प्रभावकारी ढङ्गले बुनिरहेका छन्, जसले पाठकको मनमा दीर्घकालीन भावनात्मक छाप छोड्छ ।

यो उपन्यासले केवल एक बालविधवाको जीवनकथा सुनाएको होइन; हजारौँ महिलाहरूले भोगेका चोट, अपमान र मौन यात्रालाई साहित्यमा स्थान दिएको छ । इतिहासले दर्जा नदिएका, समाजले बेवास्ता गरेका र कसैले नलेखेका दुःखहरूको जीवन्त प्रस्तुति अमर न्यौपानेले संवेदनशील तर सशक्त ढङ्गले गरेका छन् ।

सेतो धरती आधुनिक नेपाली उपन्यास–परम्परामा एक महत्त्वपूर्ण कृति मानिन्छ । नारीजीवनका अन्तर्निहित पीडा, सामाजिक संरचनाका कठोर यथार्थ र मानवीय संवेदनालाई हृदयस्पर्शी गहिराइमा प्रस्तुत गर्दै यस उपन्यासले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याएको छ।

सेतो धरती केवल उपन्यास मात्र होइन; यो हाम्रो समाजमा भएका अन्यायहरूको मौन साक्षी, पुराना परम्परागत हिंसाको दर्पण र नारी जीवनमा दबिएका भावनाहरूको संवेदनशील आवाज हो । लेखकले यौनिकता र मातृत्वजस्ता सूक्ष्म र जटिल विषयलाई अत्यन्त मानवीय दृष्टिले प्रस्तुत गरेका छन् । सरल तर गहन भाषामा जटिल सामाजिक संरचना उजागर गर्नु, विविध जीवन–अनुभवलाई एउटै कथामा कुशलतापूर्वक समेटिनाले यो कृतिलाई कालजयी बनेको छ ।

उपन्यास पढिसकेपछि पाठकको मनमा गहिरो अनुभूति जाग्छ । ‘सेतो’ केवल शोक, वियोग र पीडाको रंग मात्र होइन; यो परिवर्तन, आत्मपहिचान र नयाँ चेतनाको सुरुआत पनि हो । यसले समाजलाई आफ्ना गल्ती, अवरोध र कमजोरीसँग सामना गर्न प्रेरित गर्छ, र पाठकलाई कथासँग भावनात्मक रूपमा एकाकार हुने विशिष्ट अवसर प्रदान गर्छ ।

(लेखक बराल गण्डकी कलेज अफ इन्जिनयरिङ एण्ड साइन्स, पोखराका पूर्व प्राचार्य हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रविप्रसाद बराल
रविप्रसाद बराल
लेखकबाट थप