टुकुचा सफा पार्न दैनिक डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै, निर्माणमा २० प्रतिशत प्रगति
सारांश
- टुकुचा खोला सफा गर्न त्रिपुरेश्वर र कुपण्डोलमा ढल प्रशोधन केन्द्र बनिरहेको छ, जसले दैनिक डेढ करोड लिटर पानी प्रशोधन गर्नेछ।
- प्रशोधन केन्द्रको भौतिक र वित्तीय प्रगति २० प्रतिशत रहेको छ, तर स्थानीय अवरोधका कारण ललितपुरतर्फको काम सुरु हुन सकेको छैन।
- मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन्, र परियोजना मंसिर २०८३ सम्म सम्पन्न हुने लक्ष्य छ।
काठमाडौँ । काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा पारेर बागमती नदीमा मिसाउनका लागि दैनिक डेढ करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणाधीन छ। यो प्रशोधन केन्द्र काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल नजिक बागमती नदी किनारको २.५३ हेक्टर जग्गामा बनिरहेको छ।
टुकुचाको पानीलाई उक्त केन्द्रमा पठाई प्रशोधन गरिनेछ र सफा पानी मात्र बागमती नदीमा खसालिनेछ। यो प्रशोधन केन्द्रको सहउत्पादनको रूपमा ८०० किलोवाट बिजुली समेत उत्पादन गरिनेछ।
हालसम्म निर्माणको समग्र भौतिक र वित्तीय प्रगति २० प्रतिशत रहेको छ। मुख्य ढल प्रशोधन गर्ने संरचनाहरू त्रिपुरेश्वरतर्फ निर्माणाधीन छन् भने ललितपुरतर्फका संरचना (जहाँ बिजुली उत्पादन हुनेछ) स्थानीयको अवरोधका कारण सुरु हुन सकेको छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार निर्माणाधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन्। उनले निर्माण प्रगतिको जानकारी लिनुका साथै आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, समस्याहरू र त्यसको समाधानका लागि आवश्यक नीतिगत निर्णयबारे छलफल गरे।
मन्त्री घिसिङले निर्माणस्थलका सबै ठाउँबाट काम गर्न सक्ने अवस्था रहेकाले सोहीबमोजिम कामलाई अगाडि बढाउन निर्देशन दिएका छन्। उनले निर्माणस्थलमा रहेका रुख हटाउन करिब दुई वर्ष लाग्दा र ललितपुरतर्फ स्थानीयको अवरोध रहँदा केही ढिलाइ भएको स्वीकार गर्दै अब निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन्। उनले बागमती नदीलाई सफा बनाउन सहायक खोला र नदी किनार व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे।
निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। एसियाली विकास बैंक (एडिबी) को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यस केन्द्रको कुल लागत रु. ३ अर्ब १८ करोड रहेको छ। जेठ २०७९ मा ठेक्का सम्झौता भएको यस केन्द्रको निर्माण म्याद थपसहित मंसिर २०८३ सम्म रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण