बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किताबका कुरा

लेखन एउटा अनुशासन हो : रमेश सायन

शनिबार, २० मङ्सिर २०८२, १५ : ३६
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • प्रसिद्ध लेखक रमेश सायनसँगको कुराकानीमा उनले साहित्यले जीवनमा पारेको प्रभावबारे बताए।
  • साहित्यमा कसरी आकर्षित भए र लेखनप्रतिको अनुभवबारे सायनले आफ्नो धारणा राखे।
  • उनले पछिल्लो समय पढेका पुस्तक र आगामी योजनाबारे पनि जानकारी दिए।

कविता, निबन्ध र उपन्यासमा स्थापित नाम हो रमेश सायन । विसं. ०७० मा ‘भागेर भूगोलभरि’ कविता सङ्ग्रहमार्फत पाठकमाझ उदाएका सायनले ०७५ मा संस्मरणहरूको सङ्ग्रह ‘छुटेका अनुहार’ प्रकाशित गरेका थिए । उनको यो सङ्ग्रह विसं ०७५ मा पद्मश्री पुरस्कारबाट सम्मानित भएको थियो । विसं ०८० मा प्रकाशित ‘अन्तर’ ले सायनलाई नेपाली उपन्यासकारको क्षेत्रमा बेग्लै स्थान दिलायो । उनै सायनसँग रातोपाटीकी रमा सुवेदीले किताबका कुरा शृङ्खलाका लागि गरेको कुराकानी ।

  • साहित्यले तपाईंको जीवनलाई कसरी प्रभावित पार्‍यो भन्ने अनुभव सुनौँ न ।  

म कहिलेकाहीँ सोच्छु– मलाई कला साहित्य मनपर्छ भन्ने कुरा मैले थाहा नपाएको भए मेरो जीवन यति सुन्दर हुने थिएन । म यति धेरै खुसी भएर बाँच्ने पनि थिइन । कहिलेकाहीँ त सोच्छु मेरो जीवनै पो हुने थिएन कि ? म कतै हराइरहेको वा जीवन नै पो सकिएको हुन्थ्यो कि ? त्यसैले साहित्यले मलाई जीवन र ऊर्जा दुवै दिएको छ । म भित्र जुन ऊर्जा छ, त्यसलाई बचाई राख्न साहित्यको ठुलो योगदान छ ।

  • तपाईं साहित्यतर्फ कसरी आकर्षित हुनुभयो त ?

आफू नपुगेको, आफू पुग्न नसकेको, आफूले कल्पना गर्न नभ्याएको संसारमा किताबले पुर्‍याउँछ । यही आकर्षणले बिस्तारै साहित्यको दुनियाँमा लहसिँदै बग्दै गएँ ।

  • कतिपयका लागि लेखन सहज कर्म हो भने कतिका लागि अप्ठेरो, तपाईंका लागि के हो त ?

अप्ठ्यारो र सजिलो दुवै होइन । अप्ठ्यारो बाटो भइदिएको भए म हिँड्ने नै थिइन । मलाई अप्ठ्यारो र कठिन बाटाहरू हिँडेर कहीँ पुग्नु छैन । त्यस कारण लेखन मेरा लागि अप्ठ्यारो कर्म हुँदै होइन । तर सजिलो र सरल पनि होइन किनभने साह्रै सरल बाटोमा हिँड्दा रमाइलो हुँदैन ।

  • सजिलो र अप्ठेरोबिचको बाटोमा हिँड्दै गर्दा तपाईंले पछिल्लो समय कुन पुस्तक पढ्नु भयो त ?

मेरो किताब पढ्ने शैली ‘मुड’ अनुसार फरक हुन्छ । कहिले फिक्सन पढ्छु कहिले ननफिक्सन पढ्छु । मलाई यात्रा सम्बन्धी लेखिएका किताबहरू अलि धेरै मनपर्छ । आफूलाई यात्रा गर्न मनपर्ने भएर होला । पछिल्लो पल्ट मैले लगातार फिक्सनहरु पढेँ । एक पटकमा एकभन्दा धेरै किताब पढ्छु । बिहान एउटा बेलुका अर्को । फरक–फरक समयमा फरक–फरक पढ्छु । 

अहिले पढिराखेको किताब चाहिँ राजेश्वर देवकोटाका किताबहरू हुन् । त्यो भन्दा अगाडि चाहिँ सीमा आभासको ‘महायुग’ पढेको थिए । स्त्री चेतना र स्त्रीभित्रको जागृति त्यो किताबमा छ । त्यो किताबभित्र स्त्रीको अन्तरमनको यात्रा छ । जसले आफ्नो शक्ति, क्षमता, इच्छा बोकेर आफ्नो युगको यात्रा गर्छिन् र आफूले कल्पना गरेको महायुगभित्र प्रवेश गर्छिन् । यो किताब स्त्रीले पढ्नै पर्छ । त्यो भन्दा धेरै पुरुषहरूले पढ्नु जरुरी छ ।

  • तपाईंको आफ्नै सोचलाई परिवर्तन गरिदिएको कुनै कृति छ ?

पढेका किताब सम्झिनुपर्ने धेरै छन् । त्यस्तो सूचि बनाइयो भने धेरै लामो हुन जान्छ । तथापि ठ्याक्कै कुन किताबले म भित्र परिवर्तन ल्यायो त्यो भने भन्न सक्दिन । मभित्र अहिले जुन चेतना छ, जुन विचार छ, त्यो पुख्र्यौली होइन । बाउबाजे, आमाबाबाट ग्रहण गरेको होइन । स्कुल कलेज र विश्वविद्यालयबाट पनि ग्रहण गरेको होइन । स्वाभाविक रूपमा त्यो मैले कयौँ पुस्तकहरूबाटै ग्रहण गरेको हुँ । त्यसैले कयौँ पुस्तकहरूको ढुकढुकी मेरो चेतना भित्र छ । 

त्यसै कारण ठ्याक्कै यही किताबले मलाई यस्तो बनायो भन्ने त छैन तर समय अनुसार फरक–फरक पुस्तकले मलाई फरक ढङ्गले सोच्ने बनायो । वर्षौँ अघि पढेको पुस्तकबाट मैले जे कुरा ग्रहण गरेँ, आज त्यही पुस्तक पढ्दा त्यसबाट म अर्कै कुरा ग्रहण गरिरहेको हुन्छु । यस्तै छ मेरो हाल ।

  • नेपाली भाषाबाहेक कुन–कुन भाषाका किताबको अध्ययन गरिरहनु भएको छ ?  

अहिले म ‘द हिडेन हिन्दूज’ खोजिरहेको छु ।

  • पाठकहरूका लागि साहित्यकार निकै चाखका व्यक्तिहरू हुने गर्छन्, साहित्यकारको लेखनी दुनियाँ कस्तो हुन्छ बताइदिनु न ।

मेरो लेखनको दुनियाँ एकदमै सामान्य छ । एउटा लामो लेखन गर्नु पर्दा वा किताबै सक्नु पर्दा अलिक अनुशासित भएर बस्छु । उदाहरणका लागि लेख्छु भनेकै समयमा लेखिरहेको हुन्छु तर त्यो समय  हप्ता, १० दिन या महिनौँ लाग्न सक्छ । त्यो समयमा साथीभाइहरू भेट्दिन ।

लेखक भएको बेला लेखकै भएर बाँचिरहेको हुन्छु । लेख्न छाडेपछि फेरि अरू मान्छे हुन्छु । जागिरे हुन्छु । साथीभाइ जस्तै हुन्छु । घरपरिवारको साधारण सदस्य हुन्छु । आफन्तका लागि आफन्त हुन्छु । अरुबेला म लेख्न सक्दिनँ । त्यस कारण मलाई लेख्नका लागि लेखककै रूपमा रहनु पर्छ । लेखक हुने समय बरु थोरै होस् तर त्यो छुट्टै र भिन्नै होस् भन्ने लाग्छ ।

लेखन एउटा अनुशासन हो । आफैले निर्माण गरेको अनुशासन । त्यो अनुशासनमा बसिरहँदा खुब रमाइलो लाग्छ । एउटा छुट्टै र भिन्नै संसार निर्माण गर्ने अनुशासन ।

  • तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ ?

कहिले म कलाका लागि लेख्छु । कहिले विचारका लागि, कहिले आफ्नो खुसीका लागि लेख्छु । म लेख्न बस्दा त्यसको केन्द्रमा न त म आफू हुन्छु न पाठक । विषयवस्तु हुन्छ, विचार हुन्छ, चेतना हुन्छ, कला हुन्छ । भन्नुपर्ने विशेष कुरा हुन्छ । ती कुरा वा ती विचार, चेतनाहरू बोकेर ल्याउने पात्रहरू हुन्छन् । त्यसपछि पाठकहरू हुन्छन् ।

  • साहित्यलाई हल्का वा गह्रुँगो भनेर मूल्याङ्कन गर्न मिल्छ कि मिल्दैन ? तपाईं आफैले आफ्नो लेखनीलाई हल्का वा गह्रुँगो कुन श्रेणीमा राख्नु हुन्छ ?

मैले माथि पनि भनेको छु, १० वर्ष अघि पढेको किताबबाट बनेको धारणा र अहिले त्यसबाट बन्ने धारणा भिन्न पाउने गरेको छु । १० वर्ष अघि त्यो पुस्तक वा धारणा त्यति बेला मलाई गह्रुँगो लाग्यो होला तर अहिले हल्का पनि लाग्न सक्छ । त्यसैले यसको कुनै सीमा छैन ।

रह्यो तपाईंको प्रश्नको दोस्रो भाग– मैले आफैँले आफैँलाई कुनै श्रेणीमा राखेको छैन । पाठकहरूले मेरा लागि जुन श्रेणी तोकी दिनु भएको छ, त्यही नै मेरो स्थायी श्रेणी हो । मलाई के लाग्छ भने सृजनशील कुनै पनि मान्छेले कहिल्यै आफ्नो स्थायी श्रेणी खोज्दैन । म पनि खोज्दिन ।

  • भावी पुस्तकको कुनै योजना छ कि ?

त्यस्तो विशेष योजना केही छैन । लेखिरहेको छु । हिँडिरहेको छु र खुसी छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप