नागरिकताको घाउ
सारांश
- पोखरामा एक कार्यक्रमको तयारी भइरहेको बेला एक दिन अघि स्थगित गरियो।
- डा. चटर्जीका छोराको निधन भएपछि स्थानीय र आफन्तजन शोकमा परे, र अन्तिम संस्कार गरियो।
- खिममाया र डा. चटर्जीको प्रेम कहानी, र डाक्टरको जीवनका विभिन्न पक्षलाई उजागर गरिएको छ।
सधैं जस्तै पूर्वबाट घाम रातो भएर उदाउँदै थियो । चराहरुको बिहानी हल्लाखल्ला उस्तै थियो । माछापुच्छ्रे हिमालको काल्पनिक बाघ अन्नपूर्ण तर्फ उफ्रन लागे जस्तो देखिन्थ्यो । भरखरै पुछेको ऐना जस्तै कञ्चन देखिएको आकास क्षितिज पारीसम्म एकनासले निलो थियो ।
‘हैन आकाशले बादल कता लुकाउँछ कहिले काहीँ ?’ सफा गगनतर्फ हेर्दा मनमा उठ्ने प्रश्न हो यो । लालुपातेले फूलेर पोखरा सिंगार्ने काममा सक्रिय सहभागिता जनाएको थियो । दुई दिन अगाडीको झरीले सडकको धुलो समेत पखालेको थियो । त्यसैले धोबीले पिटीपिटी धोएर सुकाएका बस्त्र जस्तै थिए बाटाहरु । निर्मल थियो फेवाको जल । लाग्थो निकै प्रफुल्ल छ पोखरा ।
तर, करिव दुई महिना अघिदेखि तयारी थालिएको पोखरेलीले गौरव गर्न लायक कार्यक्रम एक दिन अघि अकस्मात स्थगित गरिएको थियो । देशको अन्य शहरबाट धेरै कलाकारहरु आइसकेका थिए । पोखरा इभेन्ट सेन्टर झकिझकाउ हुन थालिसकेको थियो । सामाजिक सञ्जालमा त सूचना सम्प्रेषण भइसकेको थियो । आधिकारिक सूचना सञ्चार माध्यममा पठाउने तयारी हुँदै थियो ।
आफ्ना कार्यक्रमलाई थाती राखेर विदेशबाट आउँदै गरेका कलाकारहरुलाई सम्झाउन कठिन भइरहेको थियो । होटलको बुकिङ्ग रद्ध गर्नु पर्दा आयोजकले झर्को मान्न थालेका थिए । भारी मनले आयोजक र स्थानीय कलाकारहरु असहज परिस्थितिको सामना गरिरहेका थिए । उनीहरुको मन भारी थियो । आँखामा भित्रै दबाईएका आँसु थिए ।
‘सोचेको न सम्झेको के हो यस्तो, कहिले हो ?’ कसैले सोधेको सुनियो ।
‘मध्यरातमै हो नि । अकस्मात आउने हृदयघातले नराम्रोसँग झुक्याउने रहेछ । आफ्नै छोरालाई झुक्याएर लैजाँदा पनि केही गर्न सकेनन्, वरा । यौटा सुपारीको कुड्का पनि नटोक्नेले समेत अल्पआयूमा जानु पर्ने रहेछ ।’ भन्दै अन्तिम लामो सर्को तानेर चुरोटको ठुटो फुत्त फाल्दै प्रवेश द्वार भित्र पसे गोविन्द प्रसाद ।
डा. चटर्जीको घरको कम्पाउन्ड मान्छेले भरिएको थियो । उनको आँखाबाट आँसु झरीरहेको थियो ।
आँगनको छेउमा उनको छोराको लास सुताइएको थियो । लासको छेउमा सुगन्धित अगरबत्ती बलिरहेको थियो । सिरानीमा एउटा बाँसुरी घुसारिदिएको थियो कसैले । आएका अन्य केहीको आँखाबाट पनि आँसु झरिरहेको थियो । डा. चटर्जीकी श्रीमती अर्धमूर्छित अवस्थामा घर भित्रै थिइन् । ‘स्लाईन पानी पो चढाउने हो कि ! निकै कमजोर हुनुहुन्छ ।’ उनको नजिकै बस्नेले बोलेको सुनिन्थ्यो ।
उपस्थित मानिस अन्तिम संस्कार कसरी पूरा गर्ने भन्ने अलमलमा थिए ।
‘डा. साहेब हजूरको बुबा आमा हुनुहुन्छ ?’ एक जनाले सोधे ।
अबरोध भएको घाँटीबाट सुस्त आवाज आयो ‘दुबै हुनुहुन्न ।’
‘त्यसो भए त केही नलागे बुबा आफैं बसे पनि भो ।’ भुन्टे बाहुनले आफ्नै संस्कार अनुसारको कुरा गरे । आउन त गुठीका मान्छे पनि सबै आएका थिए । के गर्नु आमा नेवार भए पनि छोरा नेवार नहुने रहेछ । जन्मेर र बसेर मात्र जमिनले चिन्दो रहेनछ । सांगीतिक समूहका साथीहरु आएर उसको छातीमा फूल चढाएर एक क्षण बाँसुरी बादन गरे । बाँसुरीको बिरही धुनले सबैको मन झनै भावुक बनायो । फर्किएर जाने बेलामा एक जना निकै भक्कानियो र भन्यो ‘साथी ईच्छा अधुरै रह्यो है ?’
थप स्तब्धताको बिचमा धेरैका आँखा रसाए । आँखामा राख्दा पनि नबिझाउने टोलको भान्जाको अन्तिम संस्कारमा जम्मा भएका थिए उनीहरु । ऊ नेवार, बाहुन क्षेत्रीलगायत सबैको भान्जो थियो । सानैबाट मिजासिलो र अनुशासित ऊ सबैको हाइहाई थियो ।
‘अब कसरी गरौँ ? हाम्रो रिती अनुसार कि हजूरको ?’ भीड भित्रबाट कसैले भनेको सुनियो ।
‘म के भन्छु र मेरा सबै दाजुभाई कोही कलकत्तामा कोही हिन्दुस्थानको अरु ठाउँमा छन् । यहाँको चलन जे छ त्यही गरौँ ।’ मलमलको रुमालले आँसु पुछ्दै डा. चटर्जी बोले ।
छोराको नाममा आफ्नो घरको नाम राखेका उनको आँखा कौसीमाथी लेखिएको निवास शब्दमा पुगे । अगाडि छोराको नाम देखेर पुनः भक्कानिए ।
डा. चटर्जीले आफ्नो घरबनाउने क्रममा छिमेकीसँग भनेका थिए, ‘चोकको नाम चटर्जी चोक रखिदिनु भएछ हजूरले त मकानमा हजूरको भान्जाको नाम राखिदिनु पर्यो नि ।’
आफु सानै छँदा साथीको घरको भित्तामा टाँगिएको पोस्टरले पोखराप्रति आकर्षित डा. चटर्जीलाई परिस्थितिले पोखराको बासिन्दा नै बनाइदियो । ‘पानीर नीचेर पहाडेर ?’ (पानी भित्र पहाड ?) फेवामा पौडिएको माछापुच्छ्रेको प्रतिबिम्ब हेर्दै उनले भनेका थिए ।
कलकत्ताको सरकारी मेडिकल कलेजमा अन्तिम वर्ष ‘ईन्टर्नसिप’ सकिन लाग्दाको दिनको याद आयो डा. चटर्जीलाई । लगातार १८ घण्टाको अस्पतालको ड्युटी सकेर मध्य रातमा आफ्नै स्कूटरमा घर फर्कदा त हो बाटोमा भेटिएकी खिममाया । सडक पेटी, सुनसान रात, च्यात्तिएको कपडा, कुस्ताकुस्ती र भागदौडाबाट थकित शरीर अनि दुई घुँडाको चेपमा टाउको घुसारेकी महिला अत्यन्त बेहाल अबस्थामा थिइन उनी त्यतिबेला ।
सानैमा आमा गुमाएका डा. चटर्जीलाई समाजको नारी पात्रमा दया जाग्दथ्यो । मानसिक अस्पतालबाट भागेको बिरामी होला, खबर गरिदिनु पर्ला भनेर स्कूटर रोकेका थिए । डा. चटर्जीको आफ्नो भाषा बंगाली र खिममायाको आफ्नो भाषा नेवारी बिचमा हिन्दी र नेपाली प्रयोग गर्दा समेत उनीहरूबिचको संवाद पूरा हुन सकेन तर पनि अनुमान लगाउन सकियो खिममाया मानसिक अस्पतालबाट भागेकी बिरामी त होईन ।
संसारमा सबै मान्छे दयालु हुँदैनन् । एउटै मान्छे पनि सधैं दयालु हुन सक्दैनन् तर त्यतीबेला डा.चटर्जीलाई धेरै दया लाग्यो खिममायाको अवस्था देखेर । सुनसान रातमा एक्लै छाड्नु भन्दा आफ्नो घरमा लैजान उचित ठाने उनले । अन्जान ठाउँमा सड्कमा भौतारिनु भन्दा हाउभाउ हेर्दा बदमास होइन जस्तै लागेर बिश्वास गरिन खिममायाले पनि । ‘हाकुचा’ बरु दिलका सफेद हुन्छन् । आफूले पाएको विश्वासघात सम्झदै स्कूटरको पछाडी नौलो मान्छेसँग बसेर सुनसान रातमा कलकत्ताका साँघुरा गल्लीको यात्रा गरिन् ।
घर पुगेर सबै बेलिबिस्तार लगाए पछि डा. चटर्जीकी दिदीको पुरानो कपडा लगाउन दिइयो खिममायालाई । घरको काम गर्ने मान्छे सुत्ने कोठा खाली रहेछ त्यहीँ सुत्न दिइयो ।
घरमा काम गर्ने मान्छे उडिसाको बाढीले उतै रोकिएपछि त्यहाँ खिममायाको बसाई दुईचार हप्ता सहज हुने भयो । सडकमा फेला परेकी बेबारिसे खिममायालाई त्यो घरले दिएको आश्रयको गुण तिर्न नसके पनि उनी घरको काममा सघाउ गर्न थालिन । घरका अरुले पनि माया गर्न थाले । घरमा काम गर्ने मान्छे आएपछि पनि उनले तुरुन्त घर छोड्नु परेन ।
‘राम घाटमा सेतीले भत्काएछ, ज्वाइँसाव तुल्सीघाटमा लैजाउँ कि कसो ?’ नरे दाईको प्रश्नले उनी झसंग हुँदै वर्तमानमा फर्किए ।
घरमा रुवाबासी थप बढ्यो । हरियो बाँसको खटमा डा. चटर्जीको छोराको पार्थिव शरीर सारेर कस्न लागेछ्न् । डा. बसुले हेर्न नसकेर आँखा चिम्ले ।
‘ल लास उठाएको ठाउँमा पुजा गर्नु पर्यो ।’ कसैले भनेको सुनियो ।
पुजा लगायतका काम सकिएपछि अरुसँगै उनी छोराको लासको पछि–पछि घाटतर्फ लागे । कलकत्तामा पच्चिस वर्ष अघि बुबाको लासको पछाडी यसै गरेर हिँडेका थिए । डा. चटर्जीलाई आजको हिँडाई झनै कष्ट्पूर्ण थियो । उबेला अभिभावक गुमाउँदा हुने पीडा त पक्कै थियो । तथापी एक किसिमले त्यसबेला पुराना र पहेँला पात झरेको अबस्था थियो । त्यस्तै सोचेर पनि आफ्नो मन बुझाउन सकिन्थ्यो ।
तर अहिले कलिलो नयाँ पात झर्यो । आफूँ पहेँलो पुरानो पात बाँकी रहनु पर्ने भयो । कसरी मन बुझ्थ्यो र । सानै छँदा आमाको ममताबाट बञ्चित डा. चटर्जीलाई दिदीको बिबाह तथा बुबाको देहावसानपछि कलकत्ता ज्यादै बिरानो लाग्यो । उनका दाईहरु नोकरीको सिलसिलामा अर्कै शहर बसाइँ सरिसकेका थिए । उनको आफ्नो शहर भन्नु नै पोखरा भयो । आफ्नो भन्नु नै बैदामे भए । डा. साहेब पुनः विगतमा फर्कन थाले ।
‘भालु आच्छे, तुमि एले ? आमार प्रान सहजे चोले गेलो’ (राम्रो भयो, तिमी आयौ ? मेरो प्राण सजिलोसँग जाने भयो) । उनलाई देख्ने वित्तिकै खुशीले गदगद हुँदै उनका बुबाले भनेका थिए । बुवालाई सायद छोराको मुख नदेखिकन मर्छु भन्ने पिर थियो । उनी बुबालाई भेट्न पुगेको एक महिनामा बुबाको परलोक प्रस्थान भएको थियो । सायद छोरासँग पेटभरी गफ गर्नकै लागि प्राण खिचेर राखेका थिए उनले ।
बुबाको अन्तिम स्वाससँगै रित्तो र खाली भयो घर । घरका भित्ताहरुले टोक्न आउँछ्न् जस्तो गरे । खाट, टेबल, मेच र कुर्सीले उनैलाई सोधे जस्तो लागेको थियो– ‘तेरो बाबा खोइ ?’
‘ल अब शवको टाउको अगाडी खुट्टा पछाडी बनाउने ठाउँ आयो भेना कता हुनुहुन्छ ?’ भिड्मा उनको खोजी भयो । चौतारामा लास बिसाइयो । उनले एउटा अर्को पिण्ड दिए ।
बिशाल शमीको रुख भएको यही चौतारा त हो उनी पहिलो पटक पोखरा आउँदा बसबाट झरेर बसेको । उनले विगतका दिन सम्झे । देश बेग्लै, भाषा बेग्लै, संस्कृति बेग्लै न त कुनै नाता न सम्बन्ध केवल मानवताको भावनाले जोडिएका दुई प्राणी बस्दा सायद खिममायाको हृदयले कृतज्ञता प्रकट गर्दै थियो होला त्यसबेला ।
आफ्नै प्रेमीले बेचेकी खिममायालाई उद्धार गरेर उनको बुबा आमाको जिम्मा लागाउन पोखरा आएका थिए उनी ।
ठाडापसलको भिमसेन गल्ली भित्रको सानो चोकमा किराना पसल थियो अमृतमानको । अरु त ठिकै हो तर चिउरा निकै स्वादिलो र राम्रो पाइन्थ्यो उनको पसलमा । त्यसैले अरु सामानको व्यापार पनि धानिएको थियो । ‘बजिबज्ये’ भन्थे आफ्नो टोलमा उनलाई धेरैले ।
एक जनासँग भागेकी छोरी घर फर्कदा अर्कोसँग आउँदा हुनसम्म भएको थियो अमृतमानको परिवारलाई । चोकको पसल र घरमा ‘कसरी नाक देखाउन सकेको होला ?’ भन्दै कुरौटे दार्शनिकहरुले छलफल गर्थे ।
‘भीरालो छ राम्रोसँग, होसियारी पूर्वक झरौँ । अगाडी अरु मान्छेले पालो दिउँ त’ हल्ला खल्ला चल्यो ।
दाउरा ओसार्न आधा मलामी खटिए । घाटमा आइपुग्न लागिएछ ।
‘यो सेती पनि मिसिदै मिसिदै गंगामा मिल्छ अनि कलकत्ता पुग्छ छोराको चिताको खरानी लिएर । आफ्नो देशले पहिचान नदिएको उसको छोराको खरानी बुबाको देशले चिन्न सक्ला र ?’ डा. साहेबको मनमा प्रश्न बनेर बस्यो ।
दागबत्ती दिए पछि डा. चटर्जीलाई एउटा ढुङ्गामा बसेर आराम गर्न भनियो ।
‘म जान सकिन । तँ जसरी पनि पुग्नु । हामीलाई धेरै काम लागेका मुन्छे हुन् । उल्टो दुःख पर्यो बरा । जस्तो भए पनि सहनु पर्ने । म पुग्न सकिन । तँ जसै गएस् है भनेर बुबाले हैरान पाल्नु भयो । आउँदै थिएँ ढिलो भएछ ।’ भन्दै राजेन्द्र पाहारी बुद्धिबहादुर काकाको छेउमा उभिन पुग्यो ।
‘बङ्लादीदेखि बाँधको टाउकोसम्म, बुलौँदीदेखि फिर्केसम्म सबैलाई धेरै सहयोग गरेका हुन् । अरुको पिँढीमा पनि उक्लन नपाउने हामीलाई त घर भित्रै लगेर औषधि मुलो गर्थे ।’ डा. चटर्जीको प्रशंसा गर्दै बुद्धिबहादुरले भने ।
‘हो है ? हामीलाई पुराना कुरा के थाहा हुनु । कताबाट आईपुगेछ्न् ?’ उसलाई पनि जिज्ञासा बढ्न थालेछ ।
‘अहिले त अनुहारमा कुनै दाग नदेखिने हाम्री खिममाया दिदी बैंशमा हुनु राम्री थिइन् । पाल्पा तिरको एउटा लर्के ठिटो कसरी आइपुग्यो थाहा पाइएन । चमेलिको तेल लगाएर बुलबुल केस कोर्दा त सिनेमाको हिरो जस्तै देखिन्थ्यो । आँखाको हेराई नै मान्छे तान्ने जस्तो थियो । त्यतिबेला अलि–अलि खैरे आउन सुरु गरेका थिए । तीनिहरुलाई हामी हिप्पी भन्थ्यौँ । त्यसबेला मैसँग डुङ्गा मागेर तीन महिना के चलाएको थियो हिप्पी घुमाउँदा पैसा पनि कमाएछ । खिममाया दिदीलाई फकाउन पनि भ्याएछ ।’ बुद्धिबहादुरले पुराना कुरा बताउन थाले ।
‘ए खिममाया दिदीले उसलाई छोडेर पो डा. सँग आएकी ?’ राजेन्द्रले भन्यो ।
‘अहिलेका अल्लारेसँग गफ गर्नै मन नलाग्ने ।’ राजेन्द्रको अधैर्य पन देखेर उनलाई रिस उठ्यो ।
‘माफ गर्नु न ठूलाबा । चिता नसकिएसम्म ढुक्कले बस्ने त हो । म केही बोल्दिन । भन्नुहोस् न खास कुरा के हो ?’ उसलाई अरु कुरा बुझ्ने उत्सुकता बढेर आयो ।
‘त्यो केटो पापी रहेछ । ललाई फकाई मायाजालमा पारेछ । अनि कलकत्ता पुर्याएर बेचेर भागेछ । हाम्रा डा. साहेबले भेटेर ल्याइदिएछ्न् ।’ बुद्धिबहादुरले भने ।
चितामा डढ्दै गरेको लासको खुट्टा तन्किएर बाहिर निस्कन खोजे । केहि अघि लास बोकेर ल्याएको खटको लामो बाँसले घोची सोझ्याएर कसैले भित्र हुलिदियो । जली रहेको लासको पनि मायाँ लाग्दो रहेछ । कोमल मन हुनेहरु भीरतर्फ फर्के । सेतीको पानी आउने सानो खोँचबाट चिसो हावा पनि चल्यो । चिताको पर बसेका मलामीहरुलाई चिसो अनुभव भयो । आफ्ना–आफ्ना पाखुरा मुसार्न थाले जाडो भएकाहरु । अन्नपूर्ण शृङ्खलाबाट आएको चिसो सेतीको किनारमा चिसो बढी नै हुन्छ कहिले कसो ।
‘भिनाजु नै भन्छौं हामी त डा. साहेबलाई । अनि कसरी भयो त बिबाह उनीसँग हाम्री खिममाया दिदीको ?’ राजेन्द्रले संवादलाई निरन्तरता दिन चाह्यो ।
‘पहिला घर खोज्दै ल्याएर अमृतमान काकालाई छोरीको जिम्मा लगाएर गएछ्न् । पछि चार वर्षपछि आउँदा आमृतमान काकाले उनैलाई छोरी सुम्पे रे ।’, बुद्धिबहादुरले छोट्करीमा भने ।
शारीरिक रुपमा जति सुन्दर भएपनि खिममायालाई हेर्ने दृष्टिकोण परिवर्तन भयो समाजमा । एउटाले लगेको, अर्कोले ल्याइदिएको भन्ने हल्ला अलि परसम्म चल्यो । बिबाह गर्ने आँट आएन कसैलाई । डा. साहेबको हरेक व्यबहार खिममायाको आँखामा नाच्न थाल्यो ।
सुनसान रातमा एक अवलाको उद्धार, कुनै आग्रह बिनाको सहयोग, डा. साहेबकी दिदीको नम्र ब्यबहार अनि नौलो र अपरिचत ठाउँमा आएर अभिभावकको जिम्मा सबै आँखाको वरिपरि घुम्न थल्यो । खिममाया दिदीको सपनामा बिस्तारै डा. साहेबको आगवन हुन थाल्यो । अब भेट होला कि नहोला भन्ने कुरा खेल्न थाल्यो । दिदीको मन बिस्तारै ढल्किन थाल्यो । अब त आफ्नो बिबाह नभए हुन्थ्यो जस्तो लाग्न थालेको खिममायालाई कुनै समय पाल्पाली केटालाई सम्पूर्ण सुम्पदा उसको कपटी, स्वार्थी र पापी अँगालोमा बेरिएको क्षण सम्झेर निकै घृणा लाग्यो ।
दीक्षान्त समारोह पछिको अनिवार्य सेवा सक्न पुग नपुन चार वर्ष लाग्यो डा. चटर्जीलाई ।
दया, माया, प्रेम, स्नेह अथवा अन्य के हो थाहा भएन तर चारवर्ष पछि साथीहरुसँग घुम्न पोखरा आउँदा भेटन मन लागेको रहेछ डा. चटर्जीलाई पनि । अकस्मात आफ्नो पसल अगाडि देख्दा वर्षौं अगाडी छुटिएको प्रियतमलाई भेटे जस्तो भयो खिममायालाई । खिममाया अझ सुन्दर लाग्यो डा. साहेबलाई पनि । उनीहरुको मौनताबिचमा अमृतमान काका पो झम्टेर रोए ।
भगवान भन्दै डा. साहेबलाई बेस्सरी समाते । आँखाबाट आँसुका ढिक्का झारे । अमृतमानका आँखाबाट खसेका प्रत्येक बुँदले डा. साहेबको मन पग्लन थाल्यो । खिममायाले त मनमनै आफूलाई सुम्पिसकेकी थिइन । तर केही समय डा. साहेबको मनको कुरा बुझ्न अलि कठिन भयो । एक अर्कालाई सम्मान, सद्भाव, दया, कृतज्ञता र सहयोगले ढाकिएको पिरतीको बिज बिस्तारै अंकुराउन थाल्यो । अमृतमानकी छोरीको बिबाह बंगाली डाक्टरसँग भयो ।
खिममाया दिदी पुनः पुरुषको आलिङ्गनमा बाँधिइन् । तर यसपटक बिल्कुलै फरक रुपमा । यो मनमा कुनै छल कपट नभएको बिशुद्ध मिलन थियो । जरेवरदेखि अम्मोटसम्मकी सबै भन्दा गोरी खिममायाको पनि कलकत्ते हाकुचासँग लगन गाँठो जुर्दो रहेछ ।
अमृतमानले घरछेउको घडेरी पनि दिए छोरीलाई । सानो सानो घर बनाउन सघाउ पनि गरे । यतै क्लिनिक खोलेर औषधि मुलो गरेर बसे डा. चटर्जी । डाक्टरको मुख हेर्न मन लागे सोल्जर बोर्ड पुग्न पथ्र्यो । नजिकै डाक्टरको सेवा पाइने भए पछि ज्वाइँ र भेनाको नाता लगाउँदै जान थाले सबै । डा.चटर्जी चोक भयो ठाउँको नाम पनि ।
‘कति वर्षका भएका थिए अजय साच्चैं ?’ करिव चिताको आगो निभ्ने बेलामा बल्ल राजेन्द्रले सोध्यो ।
‘हिमाञ्चलमा हामीसँगै पढेका हौँ । म चालीस टेक्न लागेँ, त्यस्तै तस्तै होला ।’ चेतनाथ पनि अघिदेखि उनीहरुको कुरा सुनेर बसेको रहेछ गफ मिलाउँदै भन्यो ।
‘जाने मान्छेसँग आफ्नो उमेर दाँज्नु हुन्न ।’ एक जना भलादमी मलामीले भने ।
ध्रुव थापाले हिमाञ्चल अंग्रेजी विद्यालय खोले पछि गण्डकी र अन्नपूर्णमा भर्ना हुन नपाएका र बेथानीमा पढ्न नचाहेका तालबाराही, जनप्रिय, छोरेपाटन र बाराही स्कूलका थुप्रै विद्याथीलार्ई अभिभावकले हिमाञ्चलमा भर्ना गरिदिएका थिए । त्यहि सेरोफेरोमा छोरा अजयलाई पनि डा. चटर्जीले उक्त विद्यालयमा भर्ना गरिदिएका थिए । सामान्य ज्ञान, निबन्ध लेखन, बादबिबाद प्रतियोगितादेखि आफ्ना पाठ्यक्रममा पुस्तक अध्ययनमा पनि निकै निपूण थियो अजय ।
धेरैले भेना र ज्वाइँको नाता लगाउँदै आएर उपचार गर्ने भएकाले चिकित्सकीय परामर्श शुःल्क लिन नमिले पनि औषधिको पैसा भने सबैले तिर्थे । खोइ कुन माध्यमबाट हो थाहा भएन औषधि झिकाइरन्थे डा. चटर्जी । सामान्य घर ब्यबहार चलेकै थियो उनको ।
खिममाया दिदीको नाममा घरजग्गा थियो । नेपाल मेडिकल काउन्सिलको नभए पनि भारतीय मेडिकल काउन्सिलको इजाजत पत्र फ्रेममा राखेर टाँगिएको थियो । खोजी कसैलाई भएन । डा. साहेबको आफ्नो व्यवहार चलिरहेको थियो ।
‘ए सबै जना बसम है । भेनालाई घरमा पुर्याएर मात्र आफ्नो घरमा जाने हो’ भुजेल दाई चिच्याउँदै थिए ।
त्यसो त आजभोली सागर जानेको संख्या निकै बढी हुने तर फर्कदा क्रियापुत्रीहरु एक्लै पर्ने हुन थालेको छ । भुजेल दाईले भनेर हो वा डा. साहेबलाई सम्मान गरेर हो मलामीहरु अन्तिमसम्मै कुरिरहेका थिए । अमृतमान बितेर गए पनि उनको गूठीका मान्छेले नै अन्तिम दाहसंस्कारको काममा सहयोग गरिरहेका थिए । यहाँको पुरानो बस्ती पनि मिश्रित नै रहेको थियो । आचार्य, पाहारी, अधिकारी, बराल, भट्टराई, कुँवर, भूजेललगायत बिचको ठाडा पसल र भिमसेन गल्लीमा परम्परागत रुपमा नेवारहरु बस्दै आएका थिए ।
‘तल देवीस्थान वरिपरि पनि तपाईँहरुको बस्ती भयो । तर बिचको ठाडापसल क्षेत्रमा नेवारहरुको बस्ती कसरी बसेछ ? ठूलो बस्ती पनि होइन् ।’, राजेन्द्रले सोध्यो ।
‘खोइ थाहा भएन । मैले हाम्रा बालाई पनि यही सोधेँथे उहिले । थोरै भए पनि आफ्ना नाचगान र जात्रा सबै गर्थे पहिलेबाट नै । हाम्रो बिक्रमलाई पनि लाखे नाच्न सिकाए राजकुमार बुढाले । उनीहरु भन्दा राम्रो नाच्दथ्यो । श्रेष्ठ, प्रधान, बुजुक्छे सबै छ्न् क्यार । कोही बन्दिपुरे, कोही भक्तपुरे कोही कतैबाट आएका हुन रे । जे होस् बस्ती त पुरानै हो भैरव र भिमसेनको मन्दिर पनि छ पुरानै ।’ बुद्धिबहादुरले आफूले थाहा पाएको सुनाए ।
अन्तिम अस्तु सेतीमा सेलाएपछि सबै मलामी फर्कने तयारी गर्न थाले ।
बिज्ञान पढेको उसले चाहेर पनि काम पाउन सकेन । बेरोजगार बनेपछि रेस्टुरेन्टमा बाँसुरी बजाएर गुजारा गर्न थाल्यो । विरक्तिएर एकान्तमा बाँसुरी बजाउने गरेको त्यो कला उसको पेशा नै बन्न पुग्यो । बाहिर जान खोज्यो अबरोध भयो । जागिरका लागि अयोग्य भयो । मावली गाउँले सबैको सहानुभूति पाए पनि साथीभाईले जति माया गरे पनि राज्यले पत्याएन उसलाई । बुबाको स्वभिमानले पनि केही हद्सम्म असर परेको हो कि उनी घुस दिने कुराको बिरोध गर्थे सधैं ।
बुबाको पेशा आफ्नै ढंगले चल्यो । आमाको नाममा घरजग्गा थियो । तर छोरा अजयको उमेर पुगेपछी नागरिकताको घाउ प्रत्येक पल बल्झिरह्यो ।
(हालः पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, कास्की,पोखरा )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण