शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘थ्री इडियट्स’को सिक्वेल बन्ने, ‘मुन्नाभाइ’को स्क्रिप्टमा पनि भइरहेछ काम

मङ्गलबार, २३ मङ्सिर २०८२, १३ : ३२
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • राजकुमार हिरानी र आमिर खानले दादासाहेब फाल्केको बायोपिक स्थगित गरेका छन्।
  • हिरानीले 'थ्री इडियट्स'को सिक्वेलको स्क्रिप्ट तयार पारेका छन्, जसमा पुरानै कलाकारहरू फर्किनेछन्।
  • हिरानी 'मुन्ना भाइ' फ्रेन्चाइजको तेस्रो भागको स्क्रिप्टमा पनि काम गरिरहेका छन्।

नयाँ दिल्ली । बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी र सुपरस्टार आमिर खानले यसअघि घोषणा गरिएको दादासाहेब फाल्केको बायोपिकको निर्माण कार्यलाई अहिलेका लागि स्थगित गरेका छन् । 

यस वर्षको सुरुमा घोषणा गरिएको र अर्को वर्षको सुरुमा छायांकन सुरु गर्ने योजना बनाइएको उक्त बायोपिकको स्क्रिप्टबाट दुवै सन्तुष्ट नभएको खबर छ ।

हिरानी र अभिजात जोशी बायोपिकको स्क्रिप्ट सह–लेखन गरिरहेका थिए, तर अहिले आमिर र हिरानी दुवैले ‘भारतीय सिनेमाका पिता’ को बायोपिकको स्क्रिप्टलाई मन पराएका छैनन् । त्यसैले उनीहरूले अब आफ्नो ध्यान परिचित परियोजनामा केन्द्रित गरेका छन् ।

‘थ्री इडियट्स’को सिक्वेलको स्क्रिप्ट भयो लक

रिपोर्टअनुसार हिरानीले सन् २००९ को ब्लकबस्टर कमेडी–ड्रामा ‘थ्री इडियट्स’ को सिक्वेलको स्क्रिप्टलाई अन्तिम रूप दिएका छन् । यस फिल्ममा करीना कपुर, आर माधवन र शरमन जोशी पनि मुख्य भूमिकामा थिए ।

पिंकभिल्लाका अनुसार चारै मुख्य कलाकारहरू सिक्वेलमा आ–आफ्नो भूमिकामा फर्किनेछन् । सिक्वेलको कथा पहिलो भागको क्लाइमेक्सको १५ वर्षपछिको सेटिङमा हुनेछ, जहाँ पात्रहरू आ–आफ्नो बाटो लागेका छन् । 

‘थ्री इडियट्स’को अन्त्यमा करीनाको ‘पिया’, माधवनको ‘फरहान’ र शरमनको ‘राजु’ले आमिरको ‘रेन्चो’ अर्थात् फुन्सुक वाङ्डुलाई लद्दाखको एउटा विद्यालयमा भेट्टाउँछन् । करीना र आमिरको त्यहीँ भेट हुन्छ र फिल्म ओमी वैद्यको चतुरमाथि रेन्चोको विजयसँगै सकिएको थियो ।

यद्यपि, फिल्मका अन्य यादगार पात्रहरू, जस्तैः चतुर, बोमन इरानीको ‘वीरू सहस्रबुद्धि’ अर्थात्  ‘भाइरस’, ‘मोना सिंह र जावेद जाफ्रीको ‘रन्छोडदास श्यामदास चान्चड’ले पनि आफ्नो भूमिका दोहो¥याउने हुन् वा होइनन् भन्ने कुरा अझै स्पष्ट छैन । 

पहिलो भाग राजकुमार हिरानी र अभिजात जोशीले सह–लेखन गरेका थिए र विधु विनोद चोपडाको विनोद चोपडा फिल्म्सले निर्माण गरेको थियो ।

‘मुन्ना भाइ’ फ्रेन्चाइजको तेस्रो भागमा पनि काम जारी

राजकुमार हिरानी, अभिजात जोशी र विधु विनोद चोपडाले ब्लकबस्टर ‘मुन्ना भाइ’ फ्रेन्चाइजको तेस्रो भागको स्क्रिप्टमा पनि काम गरिरहेका छन् । यस फिल्ममा सञ्जय दत्तले ग्याङ्स्टर मुन्ना भाइ र अरशद वारसीले उनको वफादार साथी ‘सर्किट’को भूमिका निभाएका छन् ।

यस वर्षको सुरुमा स्क्रिनसँगको एक विशेष अन्तर्वार्तामा अरशदले भनेका थिए, ‘पहिले यसको तेस्रो भाग बन्ने सम्भावना थिएन, तर अहिले राजु (हिरानी) वास्तवमा यसमा काम गरिरहेका छन् । उनी गम्भीरतापूर्वक यसमा काम गरिरहेका छन् र अब यो बन्ने सम्भावना देखिन्छ ।’

गत वर्ष मुम्बईमा स्क्रिनको अनावरण समारोहमा हिरानीले पनि यसैबारे संकेत दिएका थिए । उनले भनेका थिए, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि अर्को भाग अघिल्ला फिल्महरू भन्दा राम्रो हुनुपर्छ । तर अब मसँग एउटा अनौठो विचार छ । पक्कै पनि १०० वर्षको सिनेमामा सबै कुरा भनिसकिएको छ । तर हो, म त्यो विचारमा काम गरिरहेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप