बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

कांग्रेस महाधिवेशन : कार्यतालिका अनुसार भएन काम, १९ क्षेत्रमा पुगेन क्रियाशील सदस्यता फारम

मङ्गलबार, २३ मङ्सिर २०८२, १५ : ०७
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसको मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा सर्वसम्मत पारित गरेको कार्यतालिका मिचिएको छ । 

बैठकले पुस २६ देखि १८ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका पारित गरेको थियो । त्यो तालिकामा पार्टीको केन्द्रबाट मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने उल्लेख छ । तर मंगलबार मंसिर २३ गतेसम्म १९ प्रतिनिधि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पुर्‍याउन नसकिएको महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
 
‘अझै १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन बाँकी छ । पठाउने प्रयासमा हामी छौँ,’ पार्टी केन्द्रीय सदस्य समेत रहेका चौधरीले रातोपाटीसँग भने । समितिले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांक अनुसार १४ जिल्लाका १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फारम पुगेको छैन ।
 
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, झापाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५, मोरङको क्षेत्र नम्बर ३, खोटाङमा क्रियाशील सदस्यताको फाराम नपुगेको समितिले जनाएको छ ।
 
त्यस्तै सप्तरीको क्षेत्र नम्बर ३, सिरहाको क्षेत्र नम्बर ४, रौतहटको क्षेत्र नम्बर ३, बाराको क्षेत्र नम्बर २ र ४, पर्साको क्षेत्र नम्बर १ मा फाराम पुगेको छैन । रामेछाप, मुस्ताङ, नवलपुरको क्षेत्र नम्बर १ र २, स्याङ्जा क्षेत्र नम्बर १ तथा डोल्पा र जुम्लामा क्रियाशील सदस्यताको फारम पुगेको छैन । पठाउन बाँकी रहेका निर्वाचन क्षेत्रमा पठाउने प्रयास भइरहेको चौधरीले जानकारी दिए । 

त्यस्तै केन्द्रीय समितिले पारित गरेको कार्यतालिकामा मंसिर २४ गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि तोकेको थियो । त्यो काम पनि अहिलेसम्म पूरा हुन नसकेको चौधरीले बताए । त्यो कार्यलाई अन्तिम रूप दिन आफूहरू निरन्तर बैठकमा नै रहेको चौधरीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप