बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘वारपार’मा एमाले नेता जीवन घिमिरे

‘केपी ओलीको विकल्पमा ईश्वर पोखरेल होइन, अरू कोही आउनुपर्थ्यो’

मङ्गलबार, २३ मङ्सिर २०८२, १८ : ४५
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौं । २०७४ सालमा कोशी प्रदेशको सामाजिक विकास मन्त्री भएपछि चर्चामा आएका हुन् एमाले नेता जीवन घिमिरे । प्रदेशको स्वास्थ्य, शिक्षा, खेलकुद, सूचना प्रविधि, भाषा संस्कृति, महिला, बालबालिका, ज्येष्ठ नागरिकको क्षेत्रमा उनले पुर्‍याएको योगदान सम्झनलायक छन् । 

स्वास्थ्य क्षेत्रको संस्थागत विकास, प्राकृतिक चिकित्सा, कोभिड-१९ महामारी व्यवस्थापन, प्रविधिमैत्री शिक्षा, प्रदेशको भाषा संरक्षण, खोज, महिलाको सशक्तीकरण, बालमैत्री प्रदेशको परिकल्पना घिमिरेकै कार्यकालमा प्रदेशका अघि बढेको थियो । उनकै कार्यकालमा कोभिड- १९ को खोज, उपचारमा सातवटै प्रदेशमध्ये कोशी प्रदेश उत्कृष्ट व्यवस्थापनमा परेको थियो । 

२०३५ सालबाट विद्यार्थी राजनीति सुरु गरेका घिमिरे अनेरास्ववियुको जिल्ला, अञ्चल हुँदै केन्द्रीय नेतृत्वमा पुगेका घिमिरे एमालेको तत्कालीन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए । लामो राजनीतिक यात्रा अनि राजकीय जिम्मेवारीमा पुग्दा पनि उनको छविमा कुनै प्रश्न उठेको छैन । इमान्दार छवि बनाएका घिमिरे व्यवहारमा सरल र मिजासिला तर काममा भने आक्रामक छन् । 

एमालेको ११औं महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओली समूहबाट सचिवको दाबी प्रस्तुत गरिरहेका घिमिरेसँग पार्टीको महाधिवेशनमा केन्द्रित रहेर कुराकानीको सम्पादित अंश (विस्तृत अन्तर्वार्ता भिडियोमा हेर्न सकिनेछ) : 

नेकपा एमालेको महाधिवेशन एक वर्ष पहिला गर्न लाग्नुभयो । एक वर्ष अगाडि सार्नुपर्ने के आइलाग्यो ?

भदौ २३ र २४ को आन्दोलनपछि पार्टी नेतृत्वको बारेमा प्रश्नहरू उठे । केन्द्रीय कमिटीको बैठकमा ३३८ जनाले आफ्नो मत जाहेर गर्नुभयो । ३३८ जनामध्ये १५ जनाले पार्टी अध्यक्षले राजीनामा दिनुपर्छ भन्नुभयो । नेतृत्व परिवर्तन हुनुपर्छ भन्नुभयो । १५–२० जनाको कुरा स्पष्ट बुझिएन, यता हो कि उता हो । बाँकी ३०० जनाले राजीनामा होइन, अझै एक कार्यकाल केपी ओलीकै नेतृत्वमा पार्टी अगाडि जानुपर्छ भनेर स्पष्ट मत जाहेर गर्नुभयो । 

Jivan Ghimire

त्यसो भइसकेपछि यी प्रश्नहरूको निरूपण कसरी गर्ने त ? कसले गर्ने त ? यसको आधिकारिक निकाय के हो त ? भन्दा महाधिवेशन हो । महाधिवेशनले नै नेतृत्वको छनोट गर्ने हो । प्रश्न उठिसकेपछि यो प्रश्नको निरूपण म महाधिवेशनबाटै गर्न चाहन्छु र कार्यकर्ताको अभिमतबाटै गर्न चाहन्छु भनेर पार्टी अध्यक्षले प्रस्ताव गरिसकेपछि अर्ली महाधिवेशनको निष्कर्षमा पार्टी केन्द्रीय कमिटी पुग्यो ।

केन्द्रीय समितिमै त्यत्रो बहुमत थियो त किन महाधिवेशनमा जानुपरेको ?
 
अध्यक्षको छनोट भनेको त केन्द्रीय कमिटीले गर्ने होइन । यो त महाधिवेशनले गर्ने हो । आम पार्टी सदस्य चाहिँ के चाहन्छ त भन्ने कुराको निरूपण गर्नका लागि महाधिवेशन हो ।

अर्ली महाधिवेशन गर्नुको अर्थ केही परिवर्तन गर्न होला ? यो महाधिवेशनले के परिवर्तन गर्छ ?
 
नीति र विचारको महाधिवेशन त हाम्रो सम्पन्न भइसक्यो । यो महाधिवेशनमा मूलतः नेतृत्वको निर्वाचन हो र नेतृत्वको छनोट नै हो । नेतृत्व को ल्याउने भन्ने कुरा महाधिवेशनका सार्वभौम प्रतिनिधिहरूको निर्णयबाट निरूपण हुने विषय हो ।

एमालेमा  ‘पार्टी सदस्य’ भन्ने पनि छन् र ? कि ‘दास’हरू मात्रै छन् ?

एमालेका पार्टी सदस्यहरू यति धेरै अधिकार सम्पन्न छन् कि एमालेको जति अधिकार सम्पन्न पार्टी सदस्य अरू पार्टीमा छैनन् । पार्टी सदस्य यति अधिकार सम्पन्न र सार्वभौम छन् कि जति बेलासम्म पार्टी अध्यक्ष केपी ओलीले भनेको मान्छन् । नमान्दा त सकिहाल्यो होइन ?

यो त आरोपका लागि आरोप मात्रै हो । अधिकांश जिल्लामा निर्वाचन भएको छ । कतिपय ठाउँमा त प्यानलवाइज निर्वाचन भएको छ । यो पक्ष कि त्यो पक्ष भनेर निर्वाचन भएको छ । त्यस्तो स्थितिमा कसरी दासताको आधारमा पार्टी चलिरहेको छ भनेर भन्न सकिन्छ ?

कुनै चमात्कार भएन भने महाधिवेशनमा दुईवटा प्यानल हुने स्पष्ट देखिँदैछ । एकातिर बा अर्कोतिर सानो बा । तपाई कुन बातिर ?

कुनै लुकिछिपी कुरै छैन । प्रतिनिधि नै साना बालाई हाल्ने कि बालाई हाल्ने भनेर चुनाव भएर आएका छन् । यहाँ त लुक्ने कुरै छैन । यस्तो अवस्थामा एकतिर मैले उभिनैपर्छ । मैले साना बा होइन, बातर्फ उभिएँ ।

केपी ओलीलाई नै फेरि अध्यक्ष बनाउने हो भने फेरि किन यत्रो खर्च गरेको महाधिवेशनमा ? किन प्रतिनिधिहरूलाई यत्रो दुःख दिएको त ?
 
महाधिवेशन हाम्रो एउटा नियमित प्रक्रिया पनि हो । परिवर्तन भनेर मात्र हुँदैन । वैधानिक व्यवस्थालाई पनि हेर्नुपर्‍यो नि । फेरी दोहोरिनु नदोहोरिनु भन्ने कुरा त बाहिर अरूले भनेर भएन नि । 

Jivan Ghimire1

बाकै समूहमा उभिँदा तपाईँको आकांक्षा चाहिँ के हुन्छ ? 

मैले पदाधिकारीकै हैसियतमा जिम्मेवारी पाउनुपर्छ भन्ने चाहना छ । 

भनेको सचिव ?

एकैचोटि छलाङ मार्ने उद्देश्य राख्नु पनि भएन । पदाधिकारीमध्येको पहिलो स्टेप सचिव हो । मैले त्यहीँबाट अगाडि बढ्नुपर्छ, त्यहीँबाट प्रवेश गर्नुपर्छ भन्ने सोच राखेको छु ।

तपाईंको प्रदेश, कोशी प्रदेशबाट सचिवका दाबेदार हेर्ने हो भने दर्जनौं अकांक्षी देखिन्छन् । त्यसमाथि निकट  र विकटका कुराहरू आउलान् । बाको नजरमा तपाईं पर्नुहोला त ?

कोशी प्रदेशभित्र पदाधिकारीका आकांक्षीहरू धेरै हुनुहुन्छ । अब स्वाभाविक पनि हो । नेताहरूको ठुलो संख्या त्यहाँ छ । त्यसो हुँदा दाबी देखिनु, सबैले आ–आफ्नो इच्छा, आकांक्षा व्यक्त गर्नु स्वभाविक कुरा हो ।

सचिवमा तपाईंलाई नै प्रतिनिधिले भोट किन किन दिने ?

लामो समयदेखि कोशी प्रदेशभित्र निरन्तर क्रियाशील छु । म अनेरास्ववियुको झापा शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएँ । झापाको अनेरास्ववियु जिल्ला कमिटीको सचिव, मेची अञ्चलको सचिव, कोशीको अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय कमिटी र अनेरास्ववियु केन्द्रीय सङ्गठन विभागको प्रमुख भएर पञ्चायतकालमा काम गरेँ । पार्टीको काम पनि सबैभन्दा तल्लो शाखा कमिटी, इलाका कमिटी हुँदै केन्द्रीय तहमा बसेर पनि काम गरेँ । 

कोशी प्रदेशको सचिव, इन्चार्ज, प्रदेशको संरचना आइसकेपछि दुई कार्यकाल प्रदेशको सहइन्चार्जको जिम्मेवारीमा पनि पूरा गरेँ । युवा संघको केन्द्रीय उपाध्यक्ष भएर पनि मैले युवा आन्दोलनको नेतृत्व पनि गरेँ । अहिले कोशी प्रदेशबाट जो–जो कमरेडहरूको पदाधिकारीमा दाबी छ, अब मैले आफूले पनि यसो आत्मासमीक्षा गरेर हेर्दा त्यो दाबी त्यहाँभित्र तुलना गर्दा मेरो पनि दाबी गर्ने हक छ भन्ने ठान्छु ।

अहिले देखिएका अधिकांश दाबेदारलाई तपाईंले नै सदस्यता दिनुभएको रहेछ कि क्या हो ?

सबै कुरा त मैले बाहिर भन्न मिल्दैन । मेरो दाबी न्यायिक छ भन्ने लाग्छ ।

ईश्वर पोखेलको समूहमा लाग्नुभएको भए पद सजिलै पाइन्थ्यो होला । किन सजिलो बाटो छाडेर अप्ठेरो बाटोतिर लाग्नुभयो ? 

केपी ओलीको विकल्प एमालेभित्र अर्को छँदैछैन आजको मितिमा । अझ एमालेभित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमै केपी ओलीको विकल्प छैन । राष्ट्रिय राजनीतिको मियो नै हो केपी ओली हो । 

एकातिर केपी ओली, अर्कोतिर ईश्वर पोखरेल । नेतृत्व परिवर्तन, हस्तान्तरण, पुस्तान्तरणको कुरा यस्तो जबर्जस्त उठिरहेको छ । युवा नेताहरू अघि सरेका भए हुन्थेन ? 

तपाईंको कुरामा मेरो पनि सहमति छ । तर केपी ओलीको विकल्प ईश्वर पोखरेल चाहिँ भएन क्या । यदि अर्को कोही थियो भने सोच्न सकिन्थ्यो । 

Jivan Ghimire3

अध्यक्षमा त ईश्वर पोखरेलले जित्दैछन् रे त ? 

मलाई त्यस्तो लाग्दैन । म पनि देशभरिकै साथीहरूको सम्पर्कमा छु ।

केपी ओली पनि नलड्ने, ईश्वर पोखरेल पनि नलड्ने । अन्तिममा निर्वाचन नै नहुने । त्यस्तो चमत्कार हुने कुनै सम्भावना देख्नुभएको छ ?

दुई जना नै नलड्ने चाहिँ सम्भावना शून्य । ईश्वर कमरेडले नै केपी कमरेडको प्रस्ताव गर्ने सम्भावना चाहिँ हुन सक्छ । 

अनि केपी ओलीले ईश्वर पोखरेललाई समर्थन गर्ने कुरा हुन्छ कि ?

निर्वाचन शक्ति र सामर्थ्यमा भर पर्ने कुरा हो । प्रतिनिधिको लगभग हिसाब निस्किसक्यो । त्यो हिसाब त दुइटै पक्षले आ–आफ्नो हिसाब त गरिसके नि । कति भोट कहाँ–कहाँ, कुन–कुन जिल्लाबाट कति भन्ने कुरा त निस्किसक्यो । अब खाली त्यो ब्यालेटमा लगेर रूपान्तरण गर्न मात्रै बाँकी हो ।

केपी ओलीको टिमबाट महासचिव को त ?

अहिले नै तय भइसकेको छैन । 

ओलीको समूहमा तपाईं अटाउनुभएन भने ईश्वर पोखरेलको टिममा जानुहुन्छ कि ? 

होइन जान्नँ ।
 
त्यहाँ सचिव पद पाउनुभयो भने नि ?

महासचिव नै पाए पनि जान्नँ ।

विस्तृत भिडियो अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप