बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शेखरको एकल नाम प्रस्ताव, मीनेन्द्र र महेश आचार्य पनि सिफारिस

मङ्गलबार, २३ मङ्सिर २०८२, १९ : ०१
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसले मोरङका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ।
  • डा. शेखर कोइराला र डा. सुनिल शर्मा एकल उम्मेदवारका रूपमा प्रस्ताव गरिएका छन्।
  • विभिन्न क्षेत्रबाट पूर्वमन्त्री र नेताहरू पनि सिफारिसमा परेका छन्।

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समितिले आफ्ना उम्मेदवार जिल्ला समितिलाई सिफारिस गरेको छ ।

मोरङका छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ६ मा डाक्टर शेखर कोइराला र क्षेत्र नम्बर ३ मा डाक्टर सुनिल शर्माको नाम एकल उम्मेदवारका रूपमा प्रस्ताव गरिएको छ । 

यस्तै क्षेत्र नम्बर १ मा कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू, उर्लाबारीका पूर्वप्रमुख तथा कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र नेतृ दिव्या बस्नेत सिफारिस भएका छन् । विघटित संसदमा लिम्बू नै निर्वाचित भएका थिए । 

यस्तै क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीसमेत रहेका डा. मीनेन्द्र रिजाल, प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र नेतृ नारायणी पण्डित सिफारिस भएका छन् । रिजाल २०७४ सालको निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए, तर २०७९ सालको निर्वाचनमा उनले टिकट पाएनन् । उनको ठाउँमा सुजाता कोइरालाले टिकट पाएकी थिइन् । कांग्रेस–माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेकी कोइरालालाई एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरेका थिए । 

यस्तै कांग्रेसले मोरङको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलीप गच्छदार, नेता गुरुराज घिमिरे र विनोद बस्नेतलाई सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा आचार्यलाई वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीले पराजित गरेका थिए । गच्छदार २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए भने नेता घिमिरेलाई २०७९ सालको निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट एमालेका जयप्रकाश चौधरीले पराजित गरेका थिए ।

२०७९ सालमा कांग्रेस र माओवादीबीच गठबन्धन थियो । सिफारिस भएका नेता विनोद बस्नेत विराटनगर ३ नम्बर वडाका पूर्व वडाध्यक्ष हुन् । 

यस्तै कांग्रेसले मोरङको क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीलाई सिफारिस गरेको छ । उनीहरूमध्ये सर्वसम्मतिको प्रयास भइरहेको जिल्ला सभापति डिकबहादुर लिम्बूले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप