कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्षमा मधेस केन्द्रित दल
काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणको बहस अरू तीव्र बनेको छ । सकभर एकतामा जोड दिएका उनीहरुले विकल्पमा मोर्चाबन्दी र त्यो पनि हुन नसकेन सिटमा तालमेल गर्नेगरी अघि बढेका छन् ।
मधेस केन्द्रित मुख्य दलहरुको संघीय लोकतान्त्रिक मोर्चाले यी विभिन्न विषयमा काम गर्ने निष्कर्ष निकालेको छ ।
जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्मा भन्छन्, ‘जुन दलहरुका बिचमा सहमति हुन्छ, ती दल एकताका लागि अगाडि बढ्छन्, एकता गर्न नसक्ने दलहरुबिच मोर्चाबन्दी हुन्छ । त्यो पनि हुन नसके दलहरुबिच सिटमा तालमेल हुन्छ ।’ यद्यपि उम्मेदवारको सिफारिस भएर आएपछि मात्रै कुन विकल्पमा जाने भन्ने कुराको टुंगो लाग्ने उनको भनाइ छ ।
‘मोर्चामा रहेका दलहरुले तलबाट उम्मेदवार सिफारिस गर्न सर्कुलर गरिसकेका छन्, सबै ठाउँबाट उम्मेदवारको नाम आइसकेपछि कहाँ कुन क्षेत्रमा सिट बाँडफाँड गर्न सकिन्छ, त्यसपछि मात्र मोर्चा निष्कर्षमा पुग्छ,’ शर्मा भन्छन् ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी छन् ।
यीमध्ये राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरिसकेका छन् । जसपा लोकतान्त्रिक मोर्चामा आवद्ध छैन ।
एउटै चुनाव चिन्हबाट चुनाव लड्ने पक्षमा जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल पनि थिए तर हाल उनीहरु चुनाव चिन्हमा सहमति जुटाउन सकेका छैनन् । त्यस्तै सिटमा तालमेल गर्ने पक्षमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत देखिएका छन् ।
जसपा नेपाल र लोसपा नेपालबिच एकताका लागि पनि छलफल भइरहेको जसपा नेपालका महासचिव शर्मा बताउँछन् । उता लोसपा नेपालले आफ्नो पार्टीबाट अलग भएका वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग एकताका लागि संवाद अगाडि बढाएको छ ।
लोकतान्त्रिक मोर्चामा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालसँग बुधबार एकता गरेको छ ।
पहिचानवादी तथा अग्रगमनकारी शक्तिहरु एकसाथ चुनावमा जाने सहमति भएअनुसार यो एकता भएको रामुपाका महासचिव केशव झा बताउँछन् । अन्य पहिचानवादी शक्तिहरुसँग सहकार्य र एकताका लागि छलफल चलिरहेको उनको भनाइ छ ।
विगतमा यसरी नै मोर्चामा चुनावी तालमेल गर्ने सहमति भएपनि कार्यान्वयन हुन सकेको थिएन । मधेस केन्द्रित दलहरु कहिले कांग्रेससँग त कहिले एमाले र कहिले माओवादीसँग तालमेल गरेर चुनावमा गएका थिए । तर यसपटक मोर्चामा आएको प्रतिवद्धता र सहमति अनुसार चुनावमा मधेस केन्द्रित दलहरु एक ढिक्का रहने दाबी मोर्चामा आवद्ध दलका नेताहरुले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण